काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै यो सरकार लामो समय टिक्ने अवस्थामा नरहेको बताएका छन्।
पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सरकारको कामकारबाही, राष्ट्रियताको सवाल र जनजीविकासँग सम्बन्धित विषयमा गम्भीर प्रश्न उठाएका हुन् । सोमबार आयोजित बैठकमा करिब ४५ मिनेट सम्बोधन गरेका प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष सुनाएका थिए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले सरकारको कार्यसम्पादनलाई समग्र रूपमा असन्तोषजनक रहेको भन्दै यसले राजनीतिक रूपमा पनि कमजोर अवस्था सिर्जना गरिरहेको बताएका थिए ।
उनले विशेषगरी राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकारको भूमिका प्रभावकारी नभएको टिप्पणी गरेका थिए। साथै आधारभूत वर्ग, श्रमिक, किसान, निम्न आय भएका समुदाय तथा आम जनताको हितमा सरकारले अपेक्षित काम गर्न नसकेको उनको भनाइ थियो। यस्ता कमजोरीका कारण सरकारप्रति जनविश्वास क्रमशः घट्दै गएको उनको विश्लेषण रहेको ती केन्द्रीय सदस्यले बताए ।
प्रचण्डले सरकारका गतिविधिले राजनीतिक असन्तुष्टि बढाउँदै लगेको दाबी गर्दै वामपन्थी शक्तिहरूबीच नयाँ ढंगले सहकार्य आवश्यक रहेको धारणा पनि राखेका थिए। उनले लोकतान्त्रिक शक्तिहरूसँग समेत संवाद र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । ‘राष्ट्रियताका विषयमा, आधारभूत वर्गका विषयमा सरकारले गरेका कामहरू गलत छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले वामपन्थी शक्ति र अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर अघि बढ्नुपर्छ ।’ उनले वर्तमान सरकारको कार्यदिशा र निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै अहिलेको अवस्थामा सरकार लामो समय टिक्न नसक्ने दाबीसमेत गरेका थिए । ‘सरकार ठीक ढंगले गइरहेको छैन, त्यसैले यो सरकार धेरै समय टिक्दैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
प्रचण्डले आफ्नो सम्बोधनमा समसामयिक राष्ट्रिय राजनीति, दलहरूबीचको सम्बन्ध, संसद् र सरकारको भूमिका तथा आगामी राजनीतिक रणनीतिका विषयमा पनि धारणा राखेका थिए । उनले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउँदै संगठन विस्तार र जनसम्पर्कलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । बैठकमा उनले नेकपाको आगामी महाधिवेशनको तयारीबारे पनि विस्तृत रूपमा चर्चा गरेका थिए। महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, सदस्यता व्यवस्थापन, राजनीतिक प्रतिवेदन, प्रतिनिधि छनोट तथा विभिन्न तहका कमिटीलाई सक्रिय बनाउने विषयमा उनले आवश्यक निर्देशन दिएका थिए। पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यका साथ महाधिवेशनको तयारीलाई तीव्र बनाउनुपर्ने उनको भनाइ थियो ।
प्रचण्डअघि नेकपाका सहसंयोजक माधवकुमार नेपालले पनि बैठकलाई सम्बोधन गरेका थिए। करिब आधा घण्टा बोलेका नेपालले समेत सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका थिए। उनले सरकार प्रभावकारी ढंगले अघि बढ्न नसकेको, जनताका अपेक्षाअनुसार परिणाम दिन नसकेको तथा सुशासन, आर्थिक सुधार र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको धारणा राखेका थिए । बैठकमा सहभागी नेताहरूका अनुसार दुवै शीर्ष नेताको सम्बोधनको मुख्य केन्द्र वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, वाम शक्तिहरूबीच सहकार्यको आवश्यकता तथा पार्टीको संगठनात्मक सुदृढीकरण रहेको थियो।
साथै आगामी महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेता–कार्यकर्तालाई जिम्मेवारीका साथ सक्रिय हुन पनि उनीहरूले आह्वान गरेका थिए । नेकपाले पछिल्ला दिनमा संगठन विस्तार, राजनीतिक गतिविधि र महाधिवेशनको तयारीलाई प्राथमिकतामा राख्दै देशभर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यही क्रममा आयोजित केन्द्रीय कमिटीको भर्चुअल बैठकमा शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको आगामी रणनीति र संगठनात्मक कार्ययोजनाबारे धारणा राखेका हुन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































