काठमाडौं । डिल्लीबजारस्थित पिपलबोटमा रहेको कन्काई सुनचाँदी गहना एण्ड ज्वेलरी सप प्रालिमा भारतको रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषद्का अन्तर्राष्ट्रिय कार्यक्रम शाखाका सहायक निर्देशक अजय पुरोहितसँग नेपाल–भारतबीचको आभूषण व्यवसायलाई थप प्रभावकारी, व्यवस्थित र प्रतिस्पर्धी बनाउने विषयमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा दुवै देशबीच सुनचाँदी तथा गरगहनाको आयात–निर्यात, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, प्रदर्शनी आयोजना, सीप तथा प्रविधि आदान–प्रदान र व्यवसायीबीच सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो । सहभागीहरूले नेपाल र भारतबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आभूषण उद्योगको विकासका लागि संयुक्त पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
सहायक निर्देशक अजय पुरोहितले नेपाल र भारतको सुनचाँदी तथा रत्न–आभूषण क्षेत्रबीच सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नियमित संवाद, अनुभव आदान–प्रदान तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा संयुक्त सहभागिताले दुवै देशका व्यवसायीलाई नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कन्काई सुनचाँदी गहना एण्ड ज्वेलरी सप प्रालिका सञ्चालक तथा नेपाल रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीले नेपाली आभूषण उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न भारतको रत्न तथा आभूषण निर्यात प्रवर्द्धन परिषद्सँगको सहकार्य निकै महत्वपूर्ण हुने बताए । उनले सीप विकास, आधुनिक प्रविधिको प्रयोग, नयाँ डिजाइनको आदान–प्रदान तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि संयुक्त प्रयास आवश्यक रहेको धारणा राखे ।
छलफलका क्रममा नेपाल–भारतबीच आभूषण व्यवसाय सञ्चालनमा रहेका नीतिगत जटिलता समाधान, व्यापारिक प्रक्रियालाई थप सहज बनाउने उपाय, संयुक्त प्रदर्शनी आयोजना, व्यवसायिक भ्रमण तथा दुवै देशका उद्यमीबीच नियमित सहकार्यका विषयमा समेत सकारात्मक विचार आदान–प्रदान भएको जानकारी दिइएको छ । कार्यक्रममा सहभागीहरूले नेपाल र भारतका आभूषण व्यवसायीबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै दुवै देशको सुनचाँदी तथा गरगहना उद्योगको दिगो विकास, लगानी विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न यस्ता भेटघाट र सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।



































