मनोनित ५१ जनाको नाम टुंग्याउन रविलाई सकस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सम्पन्न भएसँगै पार्टी सभापति रवि लामिछानेसामु अब नयाँ नेतृत्व संरचनालाई पूर्णता दिने महत्वपूर्ण जिम्मेवारी आएको छ । महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई समेट्दै पार्टीको विधानअनुसार मनोनयन गर्नुपर्ने पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यको टुंगो लगाउने प्रक्रियामा उनी सक्रिय भएका छन् ।

तर, विभिन्न समूह, समायोजनबाट आएका नेता, संस्थापक सदस्य, समावेशिताको सिद्धान्त तथा पार्टीभित्रको शक्ति सन्तुलनलाई मिलाउनुपर्ने भएकाले मनोनयन प्रक्रिया सहज नहुने देखिएको छ । रास्वपाको संशोधित विधानले सभापति लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य र १० जना पदाधिकारी मनोनित गर्ने पूर्ण अधिकार दिएको छ। यही अधिकार प्रयोग गर्दै उनी पार्टीभित्र समावेश भएका विभिन्न राजनीतिक समूह, नयाँ पुस्ताका प्रतिनिधि, विज्ञ, संस्थापक सदस्य तथा समायोजनमार्फत आएका नेताहरूलाई कसरी उचित जिम्मेवारी दिने भन्ने विषयमा निरन्तर छलफलमा जुटेका छन् ।

पार्टी स्रोतका अनुसार लामिछानेले हाल प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, विवेकशील साझाबाट आएका समीक्षा बास्कोटा, रञ्जु दर्शना, थारु समुदायका नेता लक्ष्मण थारु, दलित समुदायका प्रतिनिधि खगेन्द्र सुनार तथा जेन–जी समूहका प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरिरहेका छन् । साथै शीर्ष नेताहरूसँग पनि लगातार संवाद भइरहेको बताइएको छ ।

रास्वपाका नेता गणेश पराजुलीका अनुसार समायोजन भएर आएका नेताहरूलाई महाधिवेशनको प्रत्यक्ष निर्वाचनमा संस्थापक वा स्थापित नेतासँग प्रतिस्पर्धा गराउँदा उनीहरू पराजित हुने सम्भावना भएकाले मनोनित कोटामार्फत अवसर दिने तयारी गरिएको हो । उनका अनुसार पहिलो महाधिवेशनलाई पार्टीले “एकता महाधिवेशन“ का रूपमा व्याख्या गरेकाले त्यसको भावनाअनुसार सबै समूहलाई सम्मानजनक सहभागिता दिलाउने प्रयास भइरहेको छ । पराजुलीले पार्टीभित्र कुनै गुट वा विभाजन नरहेको दाबी गर्दै सबै नेताले सभापति लामिछानेको नेतृत्वमा पार्टीलाई सुदृढ बनाउने उद्देश्य राखेको बताए । उनका अनुसार पार्टीलाई विश्वास गरेर विभिन्न राजनीतिक धारबाट आएका नेताहरूलाई उचित जिम्मेवारी दिनु नेतृत्वको दायित्व पनि हो ।

सभापति लामिछानेको सचिवालयले भने विधानले पूर्ण अधिकार दिए पनि निर्णय गर्दा पार्टीको विधि, नीति र समावेशितालाई केन्द्रमा राखिने जनाएको छ। सचिवालयका अनुसार मनोनयन प्रक्रिया कुनै हतारमा टुंग्याइने छैन । आवश्यकता र राजनीतिक सन्तुलनलाई ध्यानमा राखेर चरणबद्ध रूपमा पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्य मनोनित गरिनेछ ।महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हेर्दा अहिले लामिछाने पार्टीभित्र सबैभन्दा बलियो अवस्थामा रहेको विश्लेषण गरिए पनि नेताहरू भने यसलाई शक्ति संघर्षको रूपमा लिन नहुने बताउँछन् ।

पूर्वमहामन्त्री भूपदेव शाहका अनुसार रास्वपा पुराना राजनीतिक दलजस्तो गुटगत राजनीतिमा विश्वास नगर्ने पार्टी भएकाले को कति शक्तिशाली भन्ने बहस निरर्थक हुन्छ। उनले महाधिवेशनपछि पार्टी एकढिक्का भएको र अब सरकार सञ्चालन गर्ने नेतृत्वले सरकार तथा संगठन सञ्चालन गर्ने नेतृत्वले पार्टीलाई अघि बढाउने बताए । महाधिवेशनबाट हालसम्म पाँच जना पदाधिकारी निर्वाचनमार्फत चयन भएका छन् भने वरिष्ठ नेतामा वालेन्द्र शाह स्वतः रहने व्यवस्था छ। उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् भने महिला उपसभापतिमा सोबिता गौतम चयन भएकी छन् । महामन्त्रीमा विपिनकुमार आचार्य विजयी भएका छन् भने सहमहामन्त्रीमा निशा डाँगी, हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् ।

रास्वपाको विधानअनुसार पार्टीमा १९ जना पदाधिकारी रहने व्यवस्था छ। यसमध्ये १० जना सभापतिले मनोनित गर्न पाउने भएकाले अब बाँकी नेतृत्व चयनमा सबैको चासो केन्द्रित भएको छ। विशेषगरी पार्टी प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी अझै खाली रहेकाले ती पदमा कसलाई ल्याइने भन्ने विषयलाई महत्वका साथ हेरिएको छ । पार्टीभित्रका केही नेताहरूले केन्द्रीय समिति शपथसँगै केही पदाधिकारीको मनोनयन हुन सक्ने संकेत दिएका छन्। यद्यपि अन्तिम निर्णय भने अझै नभएको उनीहरूको भनाइ छ ।

एक निर्वाचित पदाधिकारीका अनुसार पार्टी प्रवक्ता र कोषाध्यक्षजस्ता पद तत्काल आवश्यक भएकाले चाँडै निर्णय लिनुपर्ने सुझाव सभापतिलाई दिइएको छ । हाल कोषाध्यक्षको जिम्मेवारी पूर्वकोषाध्यक्ष लिमा अधिकारीले सम्हालिरहेकी छन्। तर महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारीबाट मनिष झा बाहिरिएपछि नयाँ प्रवक्ताको खोजी सुरु भएको छ । प्रवक्ताका लागि दीपक बोहरा, प्रमोद न्यौपाने तथा गणेश पराजुलीको नाम चर्चामा छ। केही नेताले पूर्वप्रवक्ता मनिष झालाई पुनः जिम्मेवारी दिनुपर्ने धारणा राखे पनि महामन्त्री निर्वाचनमा भएको प्रतिस्पर्धाका कारण त्यो सम्भावना कमजोर देखिएको चर्चा पार्टीभित्र छ ।

यदि तत्काल नयाँ प्रवक्ता मनोनित नभए कुनै सहमहामन्त्रीलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिन सकिने विकल्प पनि छलफलमा रहेको बताइन्छ। पार्टी स्रोतका अनुसार केन्द्रीय समितिको शपथपछि बस्ने बैठकले केही पदाधिकारी मनोनयन गर्ने सम्भावना रहेको छ । मनोनित पदाधिकारीमा बालेन्द्र शाह पक्षबाट भूपदेव शाहलाई महामन्त्री बनाउने चर्चा पनि चलिरहेको छ भने उपसभापतिमा सुनिल लम्साल वा विवेकशील साझाबाट आएका कुनै नेताको सम्भावना रहेको बताइन्छ ।

गणेश पराजुलीको नाम पनि उपसभापतिको सम्भावित सूचीमा रहेको चर्चा छ । कोषाध्यक्षमा लिमा अधिकारीलाई पुनः जिम्मेवारी दिनुपर्ने मत बलियो देखिए पनि विवेकशील साझाकी पूर्वनेत्री रञ्जु दर्शनाको नाम पनि चर्चामा छ। केही नेताहरूले उनलाई प्रवक्ताको भूमिकामा ल्याउनुपर्ने सुझाव दिएका छन् । त्यसैगरी बसुमाया तामाङ, प्रदीपचन्द्र परियार, लक्ष्मण थारु, सुधन गुरुङ, खगेन्द्र सुनार तथा इन्दिरा रानालाई समेत पदाधिकारी तहमा समेट्ने सम्भावना रहेको बताइन्छ। समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न यी नामहरूलाई प्राथमिकतामा राखिएको चर्चा छ ।

सचिवालय सदस्य चयन पनि सभापतिका लागि अर्को चुनौतीपूर्ण विषय बनेको छ। विधानअनुसार ३३ सदस्यीय सचिवालयमा केही सदस्य स्वतः रहने भए पनि ठूलो संख्यामा सदस्य मनोनित गर्ने अधिकार सभापतिसँग छ । पार्टीभित्रका विभिन्न समूह, समायोजनबाट आएका नेता, नयाँ पुस्ता तथा क्षेत्रीय सन्तुलनलाई मिलाएर सचिवालय गठन गर्नुपर्ने भएकाले लामिछानेमाथि थप जिम्मेवारी परेको छ । नेता प्रदीपचन्द्र परियारका अनुसार सचिवालय गठन गर्दा पार्टी एकताको सन्देश जाने गरी निर्णय गरिनेछ।

उनका अनुसार समावेशिता, क्षमता र संगठन निर्माणमा योगदानका आधारमा व्यक्तिहरूलाई जिम्मेवारी दिइने अपेक्षा गरिएको छ । विवेकशील साझाबाट रास्वपामा समाहित भएकी समीक्षा बास्कोटाले पनि सभापतिलाई पूर्ण अधिकार दिइएको स्मरण गराउँदै उनले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरेकी छन् । उनका अनुसार पहिलो महाधिवेशनको मूल उद्देश्य नै पार्टी एकता भएकाले सबै समूहलाई सम्मानजनक प्रतिनिधित्व दिनुपर्ने आवश्यकता छ । उनले सक्षम र कार्यसम्पादन गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनु पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राखेकी छन् ।

केन्द्रीय सदस्य मनोनयनको विषयमा पनि लामिछानेसमक्ष धेरै नाम पुगेको बताइएको छ । समायोजन भएर आएका नेता, जेन–जी समूहका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ तथा नयाँ अनुहारलाई क्रमशः केन्द्रीय समितिमा समेट्ने तयारी भइरहेको स्रोतको भनाइ छ । विधानले आवश्यकता अनुसार ५१ जना केन्द्रीय सदस्य मनोनित गर्न सकिने व्यवस्था गरेकाले यो प्रक्रिया एकैपटक नभई चरणबद्ध रूपमा अघि बढ्ने देखिएको छ । बुधबार बिहान निर्वाचित ९९ जना केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

त्यसपछि शुभकामना आदानप्रदान तथा पहिलो केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको पार्टीले जनाएको छ । सोही बैठक वा त्यसपछिका बैठकमार्फत केही मनोनयन प्रक्रिया अघि बढ्न सक्ने अनुमान गरिए पनि अन्तिम निर्णय भने सभापति लामिछानेको राजनीतिक प्राथमिकता, समावेशिताको सन्तुलन र पार्टीभित्रको सहमतिका आधारमा हुने देखिएको छ। पहिलो महाधिवेशनपछि संगठनलाई पूर्णता दिने यो प्रक्रिया रास्वपाको आगामी राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।