काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा सोमबार राति र मंगलबार बिहान भएका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएका छन् । पाँच पटकको विश्व विजेता ब्राजिलले जापानमाथि अन्तिम क्षणमा पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदा मोरक्को र पाराग्वेले युरोपेली शक्तिशाली टोलीहरूलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
सबैभन्दा रोमाञ्चक खेल ह्युस्टनमा भएको थियो, जहाँ ब्राजिलले जापानलाई २–१ ले हराउँदै नकआउट यात्रा अगाडि बढायो । खेलको अधिकांश समय जापानले अनुशासित रक्षात्मक प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राखेको थियो । २९औँ मिनेटमा ब्राजिलका ड्यानिलोको कमजोर पासलाई बीचमै खोसेका काइशु सानोले शानदार व्यक्तिगत प्रयासमार्फत गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । पहिलो हाफभर ब्राजिलले बलमाथि नियन्त्रण कायम राखे पनि जापानी रक्षापंक्ति भेद्न सकेन ।
दोस्रो हाफमा प्रशिक्षक कार्लो एन्सेलोटीले रणनीतिमा परिवर्तन गरेपछि ब्राजिलको खेलमा स्पष्ट सुधार देखियो । लगातार आक्रमण गरिरहेको ब्राजिलले ५६औँ मिनेटमा बराबरी गोल फर्कायो। गाब्रिएलको उत्कृष्ट क्रसमा अनुभवी मिडफिल्डर कासेमिरोले शक्तिशाली हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि भिनिसियस जुनियर, रोड्रिगो र ब्रुनो गुइमारेसको संयोजनमा ब्राजिलले जापानमाथि निरन्तर दबाब सिर्जना गरिरह्यो ।
जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए । खेल अतिरिक्त समयतर्फ जाने संकेत देखिइरहेका बेला इन्जुरी समयको पाँचौँ मिनेटमा ब्रुनो गुइमारेसको पासलाई वैकल्पिक खेलाडी ग्याब्रिएल मार्टिनेलीले उत्कृष्ट फिनिसिङ गर्दै गोलमा परिणत गरे । अन्तिम क्षणको उक्त गोलसँगै ब्राजिलले २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। अब ब्राजिलले नर्वे र आइभोरी कोस्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ भने जापानको पहिलो विश्वकप नकआउट जितको सपना फेरि अधुरै रह्यो ।
यता ग्वाडालाजारमा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो ।
नेदरल्यान्ड्सले ७२औँ मिनेटमा कोडी गाक्पोको गोलमार्फत अग्रता बनाएको थियो । खेल जित्ने अवस्थामा पुगेको डच टोलीले इन्जुरी समयको पहिलो मिनेटमा इसा डिओपको गोल बेहोरेपछि खेल बराबरीमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल निस्कन सकेन ।
पेनाल्टी सुटआउटमा भने मोरक्कोका गोलरक्षक यासिन बोनो नायक बने। उनले क्रेसेन्सियो समरभिलको प्रहार बचाउनुका साथै नेदरल्यान्ड्सका अन्य खेलाडीले पनि अवसर गुमाए। मोरक्कोका सौफियान रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरीले गोल गर्दै टोलीलाई ३–२ को ऐतिहासिक जित दिलाए । कप्तान असरफ हाकिमी र नेइल एल आइनाउइले पेनाल्टी गुमाए पनि त्यसले टोलीको यात्रामा असर पारेन। सन् २०२२ मा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले यसपटक पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै अन्तिम १६ मा सहआयोजक क्यानडासँग भेट पक्का गरेको छ ।
विश्वकपको सबैभन्दा ठूलो उलटफेरमध्ये अर्को एक बोस्टनमा देखियो, जहाँ चार पटकको विश्व विजेता जर्मनी पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट भएको थियो ।
पहिलो हाफको ४२औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा काइ हाभट्र्जले बराबरी गोल फर्काएर जर्मनीलाई खेलमा फर्काए । अतिरिक्त समयमा जोनाथन टाहले गोल गरे पनि भिएआरमार्फत फाउल ठहर भएपछि उक्त गोलले मान्यता पाएन।
पेनाल्टी सुटआउटमा जर्मनीका काइ हाभट्र्ज र निक भोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले बचाए भने जोनाथन टाहको निर्णायक प्रहार पोस्टमाथिबाट बाहिरियो । त्यसपछि जोसे क्यानालेले निर्णायक पेनाल्टी गोल गर्दै पाराग्वेलाई ४–३ को ऐतिहासिक जित दिलाए । यो विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको पहिलो अवसर पनि बन्यो ।
फिफा वरीयतामा जर्मनीभन्दा निकै तल रहेको पाराग्वेले अनुशासित रक्षात्मक खेल, उत्कृष्ट गोलरक्षण र सीमित अवसरको प्रभावकारी उपयोग गर्दै प्रतियोगिताकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक निकाल्न सफल भयो । सन् २०१४ पछि पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको जर्मनी फेरि निराश बनेको छ भने पाराग्वेले २४ वर्षअघि जर्मनीसँग बेहोरेको हारको बदला पनि लिएको छ। अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यसरी अन्तिम ३२ चरणका यी तीन खेलले विश्व फुटबलमा पुनः प्रमाणित गरेका छन् कि विश्वकपमा कुनै पनि टोलीलाई कमजोर आँक्न सकिँदैन । ब्राजिलले आफ्नो अनुभव र स्टार खेलाडीहरूको प्रभावमा कठिन जित निकाल्दा मोरक्को र पाराग्वेले अनुशासित प्रदर्शन र अदम्य आत्मविश्वासका बलमा विश्व फुटबलका स्थापित शक्तिहरूलाई स्तब्ध पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































