बल्ला घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको बिक्री मूल्य घटाएको छ ।

नयाँ मूल्य २०८३ असार १७ गते बिहान १ः०१ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य समयमै समायोजन हुन नसके पनि भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य पुनःनिर्धारण गरिएको हो । आईओसीबाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १५ पैसा, डिजेलमा २ रुपैयाँ ११ पैसा र हवाई इन्धनमा समेत उल्लेख्य घटेर आएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको साविकको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टितेलको ३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौं, पोखरा र भैरहवाका लागि प्रतिकिलो लिटर अमेरिकी डलर २६ देखि ३८ सेन्टसम्म घटाइएको छ । एलपी ग्यासमा भने प्रति सिलिन्डर १० रुपैयाँ घटेको भए पनि ‘ब्रेक इभेन पोइन्ट’ मा बिक्री मूल्य कायम राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्गका जिल्लामा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ । निगमले डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्म लागू हुने खुद्रा बिक्री मूल्यसमेत सार्वजनिक गरेको छ । मूल्य समायोजनपछि उपभोक्ताले पेट्रोल, डिजेल तथा हवाई इन्धनमा राहत पाउने अपेक्षा गरिएको छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।