काठमाडौँ । बिहीबार बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी बेलुकीसम्म खोज तलास गर्दा फेला पर्न सकेको छैन ।
वर्षाका कारण कर्णाली नदीको पानी पुरै धमिलो बन्नु, जलसतह बढ्नु जस्ता कारणहरूले नदीमा खसेको गाडी पूरै डुबेको अवस्थामा हुनुले दिनभर जसो गोताखेरले खोजी गर्दा पनि फेला पर्न सकेन । घटनास्थलमा खटिएका दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनले सुर्खेतबाट आएका सशस्त्र प्रहरीका ६ जना गोताखोरहरूले दिनभर खोजी गर्दा पनि गाडी फेला पर्न नसकेको बताए ।
दुर्घटना स्थलको भीरमा अचेत अवस्थामा फेला परेका एक जना अन्दाजी ३५ वर्षीय युवालाई जिल्ला अस्पताल दुल्लु पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार विकले बताए । हालसम्म पनि गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।
सुर्खेतमा ३ जना यात्रुले चलानी काटेको खुलेको छ । गाडीका चालक र सहचालक गरी उक्त गाडीमा पाँच जना सवार रहेको हुनुपर्ने अनुमान गरिएको छ । तर, बाटोमा कति जना चढे भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल एकदमै ठाडो भीर रहेको तथा भीरमा यत्रतत्र गाडीका अवषेशहरू देखिएको प्रहरी निरीक्षक गौतम हरिजनले बताए ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा खसेको थियो । गाडी झन्डै ४०० मिटर मुनिको कर्णाली नदीमा खसेको अनुमान गरिएको छ। दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडाबाट ३ किलोमिटर उत्तरतर्फ पर्छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट भने घटनास्थल झन्डै ५० किलोमिटर पश्चिममा पर्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































