काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतका सबै खेल सम्पन्न भएसँगै प्रि–क्वार्टरफाइनल (राउन्ड अफ १६) को समीकरण पूरा भएको छ । शनिबार बिहान अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ टोलीको टुंगो लागेको हो । अब उपाधि दौडमा रहेका १६ टोलीले क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
राउन्ड अफ ३२ मा यस संस्करणका केही बलिया टोलीहरू अप्रत्याशित रूपमा बाहिरिएका छन्। चार पटकको विश्वविजेता जर्मनी, गत विश्वकपमा तेस्रो भएको क्रोएसिया, युरोपेली शक्ति नेदरल्यान्ड्स, एसियाली फुटबलको बलियो टोली जापान तथा अफ्रिकाको दाबेदार सेनेगल नकआउट चरणको पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्। यद्यपि सानो राष्ट्र केप भर्डेले अर्जेन्टिनालाई कडा चुनौती दिएर सबैको प्रशंसा बटुलेको छ ।
राउन्ड अफ ३२ को पहिलो खेलमै सह–आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो । त्यसपछि ब्राजिलले गाब्रिएल मार्टिनेलीको गोलमा जापानलाई हरायो भने पाराग्वेले पेनाल्टी सुटआउटमा जर्मनीलाई स्तब्ध पार्दै प्रतियोगिताको सबैभन्दा ठूलो उलटफेर गर्यो ।
विश्व फुटबलका दुई स्थापित टोलीबीच भएको प्रतिस्पर्धामा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनल यात्रातर्फ अर्को पाइला अघि बढाउने अवसर सुरक्षित गर्यो । नर्वेले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गर्दै आइभरी कोस्टलाई पराजित गर्यो भने उपविजेता फ्रान्सले स्विडेनमाथि ३–० को सहज जित निकाल्दै आफ्नो दाबेदारी बलियो बनायो ।
सह–आयोजक मेक्सिकोले इक्वेडरलाई २–० ले हराएर घरेलु समर्थकमाझ उत्साह थप्यो । इंग्ल्यान्डले ह्यारी केनको अन्तिम समयको दुई गोलको मद्दतमा लोकतान्त्रिक गणतन्त्र कङ्गोलाई २–१ ले पराजित गर्यो । बेल्जियमले २–० ले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै अतिरिक्त समयमा सेनेगललाई ३–२ ले हराएर अन्तिम १६ मा स्थान बनायो ।
दोस्रो हाफभर १० खेलाडीमा सीमित भए पनि अमेरिकाले बोस्निया एन्ड हर्जेगोभिनालाई २–० ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्यो । स्पेनले मिकेल ओयार्जाबालको दुई गोलको मद्दतमा अस्ट्रियालाई ३–० ले हरायो भने क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्यो । स्विट्जरल्यान्डले अल्जेरियामाथि २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो ।
अन्तिम दुई स्थानका लागि भएको प्रतिस्पर्धामा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्यो भने साविक विजेता अर्जेन्टिनाले संघर्षपूर्ण खेलमा केप भर्डेलाई हरायो। अन्तिम खेलमा कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ को अन्तिम स्थान सुरक्षित गर्यो ।
क्यान्सस सिटी स्टेडियममा भएको उक्त खेलमा कोलम्बियाका योन एरियासले १४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । कोलम्बियाले खेलभर ५६ प्रतिशत बल नियन्त्रण राख्दै १६ प्रहार गरेको थियो । घानाका गोलकिपर लरेन्स अटी–जिगीले सात उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यससँगै विश्वकपको अन्तिम १६ मा क्यानडा, मोरक्को, फ्रान्स, पाराग्वे, ब्राजिल, नर्वे, मेक्सिको, इंग्ल्यान्ड, अमेरिका, बेल्जियम, पोर्चुगल, स्पेन, अर्जेन्टिना, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बियाले स्थान बनाएका छन् ।
महाद्वीपगत रूपमा हेर्दा युरोपका सात टोली अन्तिम १६ मा पुगेका छन् भने दक्षिण अमेरिकाका चार तथा उत्तर र मध्य अमेरिकाका तीन टोलीले स्थान सुरक्षित गरेका छन् । यसपटक कुनै पनि एसियाली टोली अन्तिम १६ मा पुग्न सकेन । विशेषगरी सह–आयोजक तीनै राष्ट्र अमेरिका, क्यानडा र मेक्सिको नकआउट चरणमा पुग्न सफल हुनु आयोजक राष्ट्रहरूको प्रभावशाली प्रदर्शनका रूपमा हेरिएको छ ।
अब प्रि–क्वार्टरफाइनलका खेल शनिबार रातिदेखि सुरु हुनेछन् । पहिलो खेलमा नेपाली समयअनुसार राति १०ः४५ बजे क्यानडाले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि आइतबार बिहान २ः४५ बजे फ्रान्स र पाराग्वे आमनेसामने हुनेछन् ।
सोमबार बिहान १ः४५ बजे ब्राजिल र नर्वेबीच रोमाञ्चक भिडन्त हुनेछ भने सोही दिन बिहान मेक्सिकोले इंग्ल्यान्डको सामना गर्नेछ। मंगलबार बिहान १२ः४५ बजे युरोपका दुई महारथी पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् । त्यही दिन बिहान अमेरिका र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ भने राति ९ः४५ बजे साविक विजेता अर्जेन्टिनाले इजिप्टसँग क्वार्टरफाइनल प्रवेशका लागि खेल्नेछ । अन्तिम प्रि–क्वार्टरफाइनल खेल बुधबार बिहान १ः४५ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुनेछ ।
अब हुने आठ खेलबाट विजयी हुने टोलीहरूले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। विशेषगरी पोर्चुगल–स्पेन, ब्राजिल–नर्वे, मेक्सिको–इंग्ल्यान्ड तथा अर्जेन्टिना–इजिप्टबीचका खेललाई यस चरणका सबैभन्दा आकर्षक भिडन्तका रूपमा हेरिएको छ ।
सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका क्रिस्टियानो रोनाल्डो, ब्राजिलविरुद्ध चुनौती प्रस्तुत गर्ने एर्लिङ हालान्ड तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इजिप्टका स्टार मोहम्मद सलाहबीचको प्रतिस्पर्धाले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ । अब नकआउट चरणमा एक हारले प्रतियोगिताबाट बाहिरिनुपर्ने भएकाले हरेक खेल उपाधि यात्राका लागि निर्णायक हुने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































