काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि निजी क्षेत्रबाट ठूलो व्यावसायिक लगानी भित्रिएको छ ।
एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित लोकप्रिय पेय पदार्थ एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलका आठमध्ये छ वटा फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरका रूपमा तीन वर्षका लागि सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमै उल्लेखनीय साझेदारी गरेको छ।

कम्पनीले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग औपचारिक रूपमा टाइटल स्पोन्सर सम्झौता गरेको हो। यो सम्झौतासँगै आगामी तीन संस्करणसम्म यी टोलीहरूको प्रमुख प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहनेछ।
सोमबार आयोजित विशेष कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणा तथा सम्बन्धित छवटै फ्रेन्चाइज टोलीका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा कम्पनीका पदाधिकारी, टोली व्यवस्थापन तथा खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो । सम्झौताअनुसार सम्बन्धित टोलीका खेलाडीले प्रयोग गर्ने आधिकारिक जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ । साथै प्रतियोगिताका विभिन्न प्रचार–प्रसार गतिविधि, डिजिटल अभियान, खेल मैदान तथा अन्य ब्रान्डिङ कार्यक्रममा पनि कम्पनीको सक्रिय उपस्थिति रहनेछ ।
कम्पनीका अनुसार यो सहकार्य केवल व्यापारिक साझेदारी मात्र नभई नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुर्याउने दीर्घकालीन योजना हो । एनपीएलमार्फत देशभरका क्रिकेट समर्थकमाझ आफ्नो ब्रान्डलाई अझ प्रभावकारी रूपमा स्थापित गर्नुका साथै खेलकुदको विकासमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्य कम्पनीले लिएको जनाएको छ
। एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा प्रतिष्ठित र ठूलो प्रतियोगिता भएकाले एकैपटक छ वटा टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए ।

उनका अनुसार यो सम्झौता केवल उत्पादनको प्रचार–प्रसारका लागि नभई नेपाली क्रिकेटको भविष्य निर्माण गर्ने अभियानको एउटा हिस्सा हो। खेलाडीलाई थप अवसर सिर्जना गर्ने, प्रतियोगिताको व्यावसायिक स्तर उकास्ने र खेल संस्कृतिको विकासमा निजी क्षेत्रको भूमिका बलियो बनाउने उद्देश्यले कम्पनीले लगानी बढाएको उनले बताए ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगत केही वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनी हाल नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक पनि हो। त्यसबाहेक क्रिकेटसँगै फुटबल, भलिबल, म्याराथन तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत कम्पनीले प्रायोजन र सहकार्य गर्दै आएको छ। खेलकुद क्षेत्रमा निजी क्षेत्रको लगानी बढ्दै जाँदा प्रतियोगिताको स्तर सुधार हुनुका साथै खेलाडीहरूले पनि थप अवसर पाउने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन् । विशेषगरी एनपीएल जस्तो व्यावसायिक प्रतियोगितामा ठूला कम्पनीको सहभागिताले नेपाली क्रिकेटलाई आर्थिक रूपमा थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दसैँपछि आयोजना हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअघि भएको यो सम्झौताले प्रतियोगिताको व्यावसायिक आकर्षण अझ बढाएको छ। आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको विस्तारमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।



































