नर्वे र इङ्ग्‌ल्यान्ड क्वार्टरफाइनलमा, ब्राजिल र मेक्सिकोको यात्रा समाप्त

काठमाडौँ । स्टार फरवार्ड इर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै इतिहासमै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । उता, १० खेलाडीमा सीमित इङ्ग्‌ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले हराउँदै अन्तिम आठमा नर्वेसँगको भेट पक्का गरेको छ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा सम्पन्न अन्तिम–१६ को खेलमा ब्राजिलले सुरुआतदेखि नै केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। पहिलो हाफमा ब्रुनो गुइमारेसले पाएको पेनाल्टी अवसरलाई नर्वेका गोलरक्षक ओर्जान निल्यान्डले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएका थिए ।

उनले विनिसियस जुनियरका केही महत्वपूर्ण प्रहारसमेत विफल पारे । खेलभरि तुलनात्मक रूपमा शान्त देखिएका हालान्डले निर्णायक समयमा आफ्नो प्रभाव देखाए । उनले ७९औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपको क्रसलाई हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट गरेको उत्कृष्ट लो–ड्राइभ प्रहार गोलमा परिणत गर्दै नर्वेको ऐतिहासिक जित सुनिश्चित गरे ।

इन्जुरी समयको अन्तिम मिनेटमा ब्राजिलले पेनाल्टी पाएको थियो । उक्त अवसरलाई नेइमारले सदुपयोग गर्दै एक गोल फर्काए पनि त्यो केवल सान्त्वनामा सीमित रह्यो । यस हारसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम–१६ चरणबाटै बाहिरिएको छ ।

दुई गोलसँगै हालान्डले जारी विश्वकपमा आफ्नो गोल संख्या सात पुर्‍याएका छन्। उनी गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका खेलाडीमध्ये एक बनेका छन् । यसैबीच, मेक्सिको सिटीको एज्टेका रंगशालामा भएको अर्को अन्तिम–१६ खेलमा इङ्ग्‌ल्यान्डले १० खेलाडीमा सीमित हुँदै पनि सह–आयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो । वर्षाका कारण करिब एक घण्टा ढिलो सुरु भएको खेलमा इङ्ग्‌ल्यान्डका लागि जुड बेलिङ्घमले पहिलो हाफमा दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। उनले ३६औँ मिनेटमा बुकायो साकाको पासमा पहिलो गोल गरे भने त्यसको केहीबेरमै कप्तान ह्यारी केनको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

मेक्सिकोका जुलियन क्विनोनेसले पहिलो हाफको अन्त्यतिर एक गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाए । दोस्रो हाफको ५४औँ मिनेटमा जारेल क्वान्साह रातो कार्ड पाएपछि इङ्ग्‌ल्यान्ड १० खेलाडीमा सीमित भयो । त्यसपछि पनि टोलीले धैर्य गुमाएन । एन्थोनी गोर्डनमाथि भएको फाउलबाट प्राप्त पेनाल्टीलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै इङ्ग्‌ल्यान्डलाई ३–१ को अग्रता दिलाए । मेक्सिकोले पनि पछि पेनाल्टीमार्फत राउल जिमेनेजको गोलबाट अन्तर ३–२ मा झारे पनि त्यसपछि बराबरी गोल गर्न सकेन। अन्तिम समयमा घरेलु टोलीले लगातार दबाब सिर्जना गरे पनि इङ्ग्‌ल्यान्डको रक्षापंक्तिले अग्रता जोगाउन सफल भयो ।

अब सेमिफाइनल प्रवेशका लागि हुने क्वार्टरफाइनलमा नर्वे र इङ्ग्‌ल्यान्ड आमनेसामने हुनेछन्। हालान्डको लय र इङ्ग्‌ल्यान्डको संघर्षपूर्ण प्रदर्शनका कारण यो खेल विश्वकपकै सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ । नेइमारको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

फिफा विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंगिएको बताएका हुन् । मेटलाइफ स्टेडियममा भएको खेलमा उनी ६७औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै उनले ब्राजिलका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय गोल गरे । योसँगै नेइमारले ब्राजिलका लागि ८० अन्तर्राष्ट्रिय गोल गर्दै पेलेको ७७ गोलको कीर्तिमानलाई उछिने पनि विश्वकप उपाधि जित्ने सपना भने पूरा गर्न सकेनन् । ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम १६ चरणबाटै बाहिरिएको हो ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।