काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार वीर अस्पतालमा उपचाररत नेपालीको शुक्रबार बिहान करिब साढे ११ बजे निधन भएको हो ।
घटनापछि बिहीबार दिउँसो करिब ३ बजे उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो । थप उपचारका लागि भारत लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेपछि उक्त योजना अन्तिम समयमा स्थगित गरिएको थियो ।
मुगुका स्थायी बासिन्दा गणेश वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा काठमाडौँ आएका थिए । उनका दाजु मदन नेपालीले काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले दिएको अनावश्यक दुःखका कारण घटना भएको दाबी गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार राहदानी विभागअगाडि यात्रु ओराल्ने क्रममा रोकिएको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि गणेश र नगर प्रहरीबीच केहीबेर विवाद भएको थियो । त्यसपछि उनी आवेशमा आएर आफ्नै शरीरमा आगो लगाएको उनीहरूको भनाइ छ । घटनास्थलमा रहेका केही व्यक्तिले महिला नगर प्रहरीसँग पनि उनको भनाभन भएको बताएका छन् ।
घटनापछि सार्वजनिक भएका केही भिडिओमा गणेश नगर प्रहरीसँग विवाद गरिरहेको देखिन्छ । यसअघि पनि उनले असार १३ गते आफ्ना एक आफन्तलाई पठाएको सन्देशमा ट्राफिक प्रहरीले दुःख दिएको गुनासो गर्दै मोटरसाइकलमा ताला लगाइएपछि एक हजार रुपैयाँ जरिवाना तिर्नुपरेको उल्लेख गरेका थिए । उक्त सन्देशको अन्त्यमा उनले दुःख व्यक्त गर्ने इमोजीसमेत प्रयोग गरेका थिए । गणेशका दाजुका अनुसार आर्थिक समस्या, पटक–पटक जरिवाना तिर्नुपरेको अवस्था तथा अन्य व्यक्तिगत तनावका कारण उनी मानसिक दबाबमा रहेको हुन सक्ने आशंका गरिएको छ । घटनाको वास्तविक कारण र त्यससँग सम्बन्धित सबै पक्षबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



































