विभाजनको संघारमा कांग्रेस, अप्ठ्यारो शेखरलाई

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक ध्रुवीकरण थप गहिरिँदै जाँदा पार्टीका प्रभावशाली नेता डा शेखर कोइरालाको आगामी कदमलाई लिएर व्यापक चासो बढेको छ ।

संस्थापन पक्ष र संस्थापनइतर समूहबीच बढ्दो दूरीका बीच शेखर कुन धारमा उभिन्छन् भन्ने प्रश्न अहिले कांग्रेस राजनीतिमा सबैभन्दा धेरै उठिरहेको विषय बनेको छ । यद्यपि, उनी स्वयं भने सार्वजनिक रूपमा पार्टी विभाजनको पक्षमा नरहेको सन्देश दिँदै आएका छन् र अन्तिम क्षणसम्म कांग्रेसलाई एकताबद्ध राख्ने प्रयासमा रहेको उनको निकटवर्ती नेताहरूको दाबी छ ।

साउन १६ गते संस्थापनइतर समूहले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै साउन २९ गते आयोजना गरिने राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूपमा अघि बढाएको थियो । सोही अवसरमा वरिष्ठ नेता डा शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको घोषणा गरियो । उक्त कदमलाई धेरैले संस्थापन पक्षसँगको सम्बन्ध झन् चिस्याउने संकेतका रूपमा हेरे भने केहीले यसलाई दबाब सिर्जना गर्ने रणनीति मात्र भएको टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा बोल्दै शशांकले डा शेखर कोइरालाको नाम विशेष रूपमा उल्लेख गरेका थिए । उनले शेखर आफ्नो अभियानप्रति सकारात्मक रहेको र व्यक्तिगत रूपमा सहमति जनाइसकेको दाबी गरेका थिए । शशांकका अनुसार उनले पटकपटक शेखरसँग छलफल गरेका थिए र व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसके पनि राष्ट्रिय भेलाको उद्देश्यप्रति समर्थन रहेको जानकारी शेखरले आफूलाई दिएको बताएका थिए ।

तर, शशांकको उक्त अभिव्यक्तिपछि कांग्रेसभित्र अर्को बहस सुरु भयो । किनभने पत्रकार सम्मेलनमा शेखर उपस्थित थिएनन् । उनीनिकट अधिकांश प्रभावशाली नेताहरू पनि कार्यक्रममा देखिएनन् । त्यसैले शशांकले व्यक्त गरेको समर्थनको दाबीलाई धेरैले राजनीतिक सन्देशका रूपमा बुझे भने शेखर पक्षका नेताहरूले त्यसलाई औपचारिक निर्णयको रूपमा लिन नहुने बताएका छन् ।

शेखरले अहिलेसम्म सार्वजनिक रूपमा राष्ट्रिय भेलामा सहभागी हुने वा नहुनेबारे कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । यद्यपि, बीपी कोइरालाको स्मृति दिवसका अवसरमा उनले संस्थापन पक्षको कार्यक्रमभन्दा संस्थापनइतर समूहले आयोजना गरेको कार्यक्रममा उपस्थित भएर आफू त्यस समूहसँग संवादमा रहेको संकेत दिएका थिए । त्यस घटनालाई धेरैले उनको राजनीतिक झुकावको संकेतका रूपमा व्याख्या गरेका थिए ।

यद्यपि, उनीनिकट नेताहरू भने त्यसलाई पार्टी विभाजनको समर्थनका रूपमा व्याख्या गर्न नहुने बताउँछन् । उनीहरूका अनुसार शेखरको मूल उद्देश्य अहिले पनि कांग्रेसलाई विभाजनबाट जोगाउनु नै हो । राष्ट्रिय भेला हुने वा त्यसमा सहभागी हुने निर्णय परिस्थिति हेरेर मात्र गरिने उनीहरूको भनाइ छ । शेखर अहिले विराटनगरमा रहेका छन् । उनी काठमाडौं फर्किएपछि मात्र राष्ट्रिय भेलामा सहभागी हुने वा नहुनेबारे औपचारिक निर्णय लिने तयारी रहेको उनका निकट नेता सञ्जय गौतम बताउँछन् । गौतमका अनुसार अहिलेको प्राथमिकता पार्टी एक बनाउने प्रयास हो । यदि अन्तिमसम्म पनि सहमति सम्भव भएन भने मात्र अर्को विकल्पबारे छलफल हुनेछ ।

उनका अनुसार अहिले आफूहरू न संस्थापन पक्षमा पूर्ण रूपमा उभिएका छन् न संस्थापनइतर समूहको औपचारिक नेतृत्वमा पुगेका छन् । उनीहरू संवाद र सहमतिमार्फत समाधान खोज्ने प्रयासमै केन्द्रित छन् । कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन र मुलुकको वर्तमान राजनीतिक अवस्थालाई हेर्दा पार्टी विभाजन कुनै पनि हालतमा उचित विकल्प नहुने उनीहरूको निष्कर्ष छ । गौतमको विश्लेषणमा अहिले दुवै पक्षले आआफ्नो शक्ति र प्रभावलाई बढी महत्व दिइरहेका छन् । संस्थापन पक्षले आफूहरूसँग औपचारिक नेतृत्व भएकाले नयाँ संरचना निर्माण गर्न कुनै कठिनाइ नहुने ठानेको छ भने संस्थापनइतर समूहले कांग्रेसको वैचारिक विरासत र ऐतिहासिक मूलधार आफूहरूसँग रहेको विश्वास गरिरहेको छ ।

उनका अनुसार यही मनोविज्ञानका कारण दुवै पक्ष लचक देखिन सकेका छैनन् । उनले पार्टी सभापति गगन थापाले अग्रसरता लिएर सबै धारलाई एउटै टेबलमा ल्याउन सके कांग्रेस पुनः एकताबद्ध हुन सक्ने विश्वास व्यक्त गरेका छन् । नेतृ सरिता प्रसाईं पनि अहिले शेखर पक्षको मूल रणनीति पार्टीलाई विभाजन हुन नदिनु रहेको बताउँछिन् । उनका अनुसार शेखर समूह न सानेपाको औपचारिक लाइनमा उभिएको छ न चुनदेवीको अभियानमा पूर्ण रूपमा मिसिएको छ । बरु दुवै पक्षलाई एउटै स्थानमा ल्याएर कांग्रेसलाई एकताबद्ध बनाउने प्रयासमा केन्द्रित छ ।

प्रसाईंको भनाइमा अहिलेको राष्ट्रिय राजनीति अत्यन्त जटिल अवस्थामा छ । यस्तो अवस्थामा कांग्रेस कमजोर हुनु लोकतान्त्रिक व्यवस्थाकै लागि जोखिमपूर्ण हुन सक्छ । त्यसैले व्यक्तिगत महत्वाकांक्षा र गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर सबै नेताले साझा समाधान खोज्नुपर्ने आवश्यकता रहेको उनको धारणा छ । उनले शेखर कोइराला, पूर्णबहादुर खड्का र सभापति गगन थापाबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिएकी छन् । पहिलो चरणमा सहमति नजुटे पनि दोस्रो वा तेस्रो चरणमा संवाद जारी राख्नुपर्ने उनको भनाइ छ । राजनीतिक दलहरूमा संवाद बन्द हुनु नै सबैभन्दा ठूलो संकटको संकेत भएको उनी बताउँछिन् ।

उनका अनुसार स्थानीय तहदेखि संघीय संसदसम्मको आगामी निर्वाचनलाई मध्यनजर गर्दा कांग्रेसको विभाजनले विपक्षी दललाई मात्र लाभ पुग्नेछ । त्यसैले अहिले सबैभन्दा ठूलो आवश्यकता पार्टीको एकता हो । कांग्रेस नेता बद्री पाण्डे पनि यही मत राख्छन् । उनी पार्टीभित्र संवाद जारी रहे पनि अपेक्षित प्रगति हुन नसकेको स्वीकार गर्छन् । उनका अनुसार विभिन्न तहमा छलफल भइरहे पनि ठोस सहमति बनेको छैन । त्यसका बाबजुद पनि पार्टीलाई एकताबद्ध राख्ने प्रयास रोकिएको छैन ।

उनले शेखर विराटनगरमा भए पनि निरन्तर रूपमा विभिन्न नेतासँग सम्पर्कमा रहेको जानकारी दिएका छन् । प्रत्यक्ष भेट नभए पनि फोन र अन्य माध्यमबाट परामर्श तथा छलफल जारी रहेको उनको भनाइ छ । यता संस्थापनइतर समूहले भने शेखरलाई आफ्नो अभियानको अग्रपंक्तिमा ल्याउने प्रयास गरिरहेको स्रोतहरूको दाबी छ । उनीहरू शेखरलाई भावी सभापतिको रूपमा अघि सार्दै राष्ट्रिय भेलाको नेतृत्व लिन आग्रह गरिरहेका छन् । तर, अहिलेसम्म शेखरले त्यस प्रस्तावलाई स्वीकार गरेका छैनन् ।

शेखरनिकट नेताहरूका अनुसार उनलाई राष्ट्रिय भेलाको प्रमुख भूमिका लिन दबाब बढिरहेको छ । तर, उनले अहिलेको अवस्थामा आफूभन्दा पनि पार्टीको भविष्यलाई प्राथमिकतामा राखेको बताएका छन् । उनी एकपक्षीय निर्णय गरेर विभाजनको आरोप लिन इच्छुक छैनन् । पार्टी सभापति गगन थापासँग भएको छलफलमा पनि शेखरले आफू एक्लैले सहमति जनाएर समाधान ननिस्कने बताएका थिए भन्ने जानकारी उनीनिकट नेताहरूले दिएका छन् । उनका अनुसार सबै पक्ष तयार नभएसम्म व्यक्तिगत निर्णयले कुनै अर्थ नराख्ने शेखरको बुझाइ छ । कांग्रेसभित्र अहिले अर्को चर्चा पनि चलिरहेको छ । त्यो भनेको विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेखरलाई नयाँ राजनीतिक समीकरण निर्माणको प्रस्ताव गरेको भन्ने विषय हो । २०७९ सालको निर्वाचनअघि यस्तो प्रस्ताव आएको चर्चा कांग्रेसभित्र व्यापक थियो । तर, त्यसबेला शेखरले आफू कुनै पनि हालतमा बीपी कोइरालाले निर्माण गरेको कांग्रेस फुटाउने पक्षमा नरहेको स्पष्ट जवाफ दिएका थिए ।

त्यस घटनालाई अहिले पनि उनका समर्थकहरूले स्मरण गरिरहेका छन् । उनीहरूको भनाइमा शेखरको राजनीतिक चरित्र पार्टी जोगाउने पक्षमा रहेको छ र त्यसैले उनलाई विभाजनको मुख्य पात्रका रूपमा चित्रण गर्नु उचित हुँदैन । तर, अर्कोतर्फ केही नेताहरू भने राजनीतिक परिस्थितिले मानिसलाई नयाँ निर्णय लिन बाध्य पार्न सक्ने तर्क गर्छन् । उनीहरूका अनुसार यदि अन्तिमसम्म सहमतिको सबै प्रयास असफल भए भने अहिले असम्भव देखिने निर्णय पनि सम्भव हुन सक्छ । शेखरनिकट एक नेताका अनुसार राजनीतिमा कुनै पनि विकल्पलाई पूर्ण रूपमा बन्द गर्न सकिँदैन । परिस्थिति, कार्यकर्ताको दबाब, संगठनको अवस्था र भविष्यको समीकरणले अन्तिम निर्णय प्रभावित गर्न सक्छ । त्यसैले विगतको अभिव्यक्तिका आधारमा भविष्यको निर्णय निश्चित भइसकेको निष्कर्ष निकाल्नु हतार हुने उनी बताउँछन् ।

उनको भनाइमा पार्टी विभाजन भएमा शेखरसँग विकल्पहरू सीमित हुनेछन् । उनले विशेष अधिवेशनको प्रक्रियाप्रति असहमति जनाए पनि सभापति गगन थापालाई वैधानिक नेतृत्वका रूपमा स्वीकार गरिसकेका छन् । त्यसैले अन्तिम निर्णय व्यक्तिगत चाहनाभन्दा पनि राजनीतिक यथार्थले निर्धारण गर्न सक्छ । शेखर अहिले विराटनगरमा बस्नुको कारणबारे पनि कांग्रेसभित्र विभिन्न चर्चा भइरहेका छन् । उनीनिकट नेताहरूका अनुसार काठमाडौंमा बस्दा दैनिक रूपमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको भेटघाट हुने भएकाले अनावश्यक दबाब बढ्ने गरेको थियो । त्यसैले केही समयका लागि विराटनगर बसेर शान्त वातावरणमा परिस्थिति मूल्यांकन गर्ने रणनीति अपनाइएको हो ।

यद्यपि, विराटनगरमा बसे पनि उनी पार्टी गतिविधिबाट टाढा छैनन् । विभिन्न नेतासँग नियमित टेलिफोन संवाद भइरहेको छ । राष्ट्रिय राजनीति र कांग्रेसभित्रको बदलिँदो समीकरणबारे उनी निरन्तर जानकारी लिइरहेका छन् । अहिले कांग्रेसभित्र अर्को महत्वपूर्ण विषय सर्वोच्च अदालतमा पुगेको विशेष महाधिवेशनसम्बन्धी मुद्दाको पुनरावलोकन पनि हो । पूर्वसभापति शेरबहादुर देउवाले त्यस विषयमा कानुनी प्रक्रिया अघि बढाएका छन् । त्यसको परिणामले पनि कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार अदालतको निर्णय, गुटगत वार्ता, राष्ट्रिय भेला र आगामी राजनीतिक समीकरण यी सबै विषय एकअर्कासँग जोडिएका छन् । त्यसैले शेखरले तत्काल कुनै अन्तिम निर्णय नगरी सबै पक्षको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । कांग्रेस अहिले आफ्नो इतिहासकै अर्को संवेदनशील मोडमा उभिएको छ । एउटा पक्ष संगठनात्मक पुनर्संरचना र नयाँ नेतृत्वको आवश्यकता औंल्याइरहेको छ भने अर्को पक्ष संस्थागत निरन्तरता र वैधानिक प्रक्रियालाई प्राथमिकता दिइरहेको छ ।

यी दुई धारबीच पुलको भूमिका निर्वाह गर्न सक्ने नेताका रूपमा शेखरलाई हेरिएको छ । यसैले आगामी केही दिनभित्र उनले लिने निर्णयले राष्ट्रिय भेलाको दिशा मात्र होइन कांग्रेसको भावी राजनीतिक यात्रालाई समेत प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । उनी अन्तिमसम्म एकताको पक्षमा अडिग रहने कि परिस्थितिले उनलाई संस्थापनइतर समूहको औपचारिक नेतृत्वतर्फ धकेल्ने भन्ने प्रश्नको उत्तर भने आगामी राजनीतिक घटनाक्रमले मात्र दिनेछ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।