चुचुरो चुम्ने सपना अधुरै, कफिनमा फर्किए युक्त

काठमाडौं । पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव नेपाल ल्याइएको छ ।

साउन १४ मा हिमपहिरोमा परेर मृत्यु भएका उनको शव बिहीबार साँझ कतार एयरवेजमार्फत नेपाल ल्याइएको हो । घटनापछि उद्धार तथा समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान गएका थिए । उनी युक्तको शव लिएर फर्किएका छन् ।

गोरखाको लाप्राक घर भएका युक्तको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिएको छ । आज शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ । उनी नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं मनाङ माउन्टेनियरिङ स्कुल कमिटीका सदस्य थिए । आरोहणको क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो । पुर्जाको परिवार बेलायत भएकाले उनको उतै अन्त्येष्टि गर्ने तयारी छ । बाँकी नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पुर्‍याएपछि ल्याइने छ ।

गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः विश्वका अग्ला हिमालहरूको शिखरसम्म पुगेर टुंगिएको छ । त्यही हिमाल चुम्ने यात्राका क्रममा नेपाली पर्वतारोहण क्षेत्रका एक अनुभवी र साहसी आरोही पुरबहादुर गुरुङ ‘युक्त’ सधैंका लागि अस्ताएका छन् । उनलाई पाकिस्तानी हिमाल ब्रोड पिकले आफूमा समाहित गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार आएको हिमपहिरोमा बेपत्ता गोरखाका पुरबहादुर गुरुङको शव शुक्रबार भेटिएको थियो ।

उनी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ नेतृत्वको टोलीका वरिष्ठ माउन्टेन गाइड तथा मुख्य सहयोगी थिए । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकका स्थायी बासिन्दा गुरुङ पर्वतारोहण क्षेत्रमा ‘युक्त’ नामले परिचित थिए । हिमालप्रतिको उनको समर्पण, अनुभव र नेतृत्व क्षमताका कारण उनी नेपाली पर्वतारोहण क्षेत्रका भरपर्दा गाइडमध्ये एक मानिन्थे । १७ वर्षको उमेरदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय उनले सन् २०११ मा २२ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । समयसँगै उनी हिमाल चढ्ने मात्र होइन, विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकका रूपमा स्थापित भए ।

उनको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक थियो १० पटक सगरमाथाको सफल आरोहण । यो कीर्तिमानसँगै उनी शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने नेपाली आरोही बनेका थिए । उनी गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथा शिखरमा पुग्ने पहिलो व्यक्ति पनि हुन् । सगरमाथामा मात्र सीमित नभई उनले मनास्लु, अन्नपूर्ण, ल्होत्से, मकालु, कञ्चनजंघा, केटु, ब्रोड पिक, ग्यासरब्रुम–१ र ग्यासरब्रुम–२ लगायतका विश्वका आठ हजार मिटरभन्दा अग्ला अधिकांश हिमाल सफलतापूर्वक आरोहण गरिसकेका थिए । धौलागिरि, चो ओयु, नाङ्गा पर्वत र शिशापाङ्मा आरोहण गर्ने योजना अधुरै रह्यो ।

२०८० सालमा उनले केवल १२ दिनको अवधिमा पाकिस्तानका चारवटा आठ हजार मिटरभन्दा अग्ला हिमाल ग्यासरब्रुम–२, ग्यासरब्रुम–१, ब्रोड पिक र विश्वकै दोस्रो अग्लो केटु सफलतापूर्वक आरोहण गरेर नयाँ कीर्तिमान बनाए । केटु आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति बन्नु उनको अर्को ऐतिहासिक उपलब्धि थियो । पछिल्ला वर्षहरूमा पनि उनको हिमाल यात्राको गति रोकिएको थिएन। एकै सिजनमा अन्नपूर्ण, सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघा गरी पाँच वटा आठहजारी हिमाल आरोहण गरेर उनले आफ्नो क्षमता प्रमाणित गरेका थिए । उनले हालसम्म २८ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरिसकेका छन् ।

एलिट एक्स्पेड कम्पनीका सिनियर माउन्टेन गाइडका रूपमा कार्यरत गुरुङ विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाका सबैभन्दा भरपर्दा सहयोगीमध्ये एक थिए । कठिन हिमाली अभियानमा उनको अनुभव, संयमता र नेतृत्वलाई विदेशी आरोहीहरूले समेत सम्मान गर्थे। भविष्यमा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको उच्च मान्यता प्राप्त गर्ने उनको योजना थियो । गुरुङ केवल सफल आरोही मात्र थिएनन्, नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत पनि थिए । दुर्गम गाउँबाट अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै उनले मेहनत, अनुशासन र साहसले असम्भव देखिने लक्ष्य पनि पूरा गर्न सकिन्छ भन्ने उदाहरण दिएका थिए ।

तर, हिमालसँग जीवनभरको सम्बन्ध गाँसेका यिनै अनुभवी आरोहीको यात्रा अन्ततः हिमालमै टुंगिएको छ । ब्रोड पिकको हिमपहिरोले नेपाली पर्वतारोहण क्षेत्रले एक कुशल गाइड, साहसी आरोही र अनुभवी हिमालकर्मी गुमाएको छ । लाप्राकका युक्त गुरुङ नेपाली हिम आरोहणका क्षेत्रका लागि इतिहास बनेका छन् । तर उनले टेकेका शिखर, बनाएका कीर्तिमान र नेपाली पर्वतारोहणलाई दिएको योगदान भावी पुस्ताका लागि प्रेरणाको शिखर बनेर उभिनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।