चार वर्षपछि कप्तानीमा सन्दीपको पुनरागमन,प्रिमियर कपका लागि १४ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीपले चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको ओडिआई कप्तानीमा पुनरागमन गरेका हुन् ।

क्यानका अनुसार सन्दीपले आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपबाट नेपाली टोलीको नेतृत्व सम्हाल्नेछन् । एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कप एसिया कप छनोटको प्रतियोगितासमेत हो ।

कप्तानी परिवर्तनसँगै क्यानले प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा टोलीमा रहेका छन् ।

टोलीमा देव खनाल, बसिर अहमद र सन्दीप जोरा लगायतका खेलाडीले पुनरागमन गरेका छन् भने शेर मल्लले पनि ओडिआई टोलीमा स्थान बनाएका छन् । नियमित खेलाडी कुशल भुर्तेल, सोमपाल कामी, आरिफ शेख र भीम सार्की भने यसपटक टोलीमा परेका छैनन् । नन्दन यादव चोटका कारण टोलीबाट बाहिरिएका छन् ।

क्यानले पछिल्लो समय आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन कमजोर भएपछि कप्तानी परिवर्तन गरेको हो। नियमित कप्तान रोहित पौडेलको स्थानमा सन्दीपलाई जिम्मेवारी दिइएको हो । रोहित सन् २०२२ मा सन्दीपपछि नेपाली टोलीको कप्तान बनेका थिए ।

सन्दीप यसअघि सन् २०२१ मा पहिलोपटक नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका थिए। पछि उनीमाथि लागेको बलात्कार मुद्दाका कारण निलम्बनमा परेपछि रोहितले कप्तानीको जिम्मेवारी सम्हालेका थिए । उक्त मुद्दामा सफाइ पाएपछि सन्दीप पुनः राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन् ।

नेपालको टी–२० टोलीको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । अब सन्दीपको नेतृत्वमा नेपाली टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ ।

टप एन्ड टी–२० का लागि नेपाल ‘ए’ टोली घोषणा

अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा ओडीआई टोलीमा समावेश नगरिएका ओपनिङ ब्याटर कुशल भुर्तेलसमेत रहेका छन् ।

नेपाल ‘ए’ टोलीमा अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।

अस्ट्रेलियाको नर्दन टेरिटोरी क्रिकेटले आयोजना गर्ने टप एन्ड टी–२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । नेपालले प्रतियोगिताको लिग चरणमा ६ खेल खेल्नेछ ।

नेपालले अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोली, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले गत संस्करणमा पनि टप एन्ड टी–२० प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यस क्रममा नेपालले ६ खेल खेल्दा दुई खेलमा जित हात पारेको थियो भने चार खेलमा पराजित भएको थियो ।

टप एन्ड टी–२० प्रतियोगिता समाप्त भएपछि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै दक्षिण अस्ट्रेलिया र तास्मानियाका टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि न्युजिल्यान्ड ‘ए’ टोलीसँग समेत मैत्रीपूर्ण शृंखला खेल्ने क्यानले जनाएको छ ।

नेपाल ‘ए’ टोलीका लागि यो भ्रमण युवा तथा राष्ट्रिय टोलीमा स्थान बनाउन प्रयासरत खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव दिलाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।