धनगढी । प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालयमा १ वर्षसम्म ताल्चा लाग्यो ।
भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डल गर्न कठिनाइ भएका बिरामी पनि भर्याङ उक्लिएर माथिल्लो तलामा पुग्न बाध्य भए । पुँजीगत खर्च मात्र ५ लाख भएको चिकित्सालयले न समयमै शौचालय मर्मत गर्न सक्यो, न त जडान भइसकेको लिफ्ट सञ्चालनमा ल्याएर बिरामीलाई सेवा दिन । आफ्ना अन्य चिकित्सा सेवामा खर्च कटौती गरेर १ वर्षपछि अस्पताल व्यवस्थापनले आन्तरिक स्रोतबाट शौचालयको समस्या त समाधान गर्यो तर लिफ्ट अझै सञ्चालनमा आउन सकेको छैन ।
“यसरी अस्पतालमा बिरामीको सहजताका लागि बनाइएका पूर्वाधार छन् तर तिनको उपयोग गर्न आर्थिक अभाव छ । प्रदेश सरकारले छुटाएको ५ लाख पुँजीगत रकमले केही महिनाको सामान्य मर्मत खर्च पनि पुग्दैन । एउटा शौचालय मर्मतलगायतका कामका लागि २० लाख जोहो गर्न १ वर्ष कुर्नुपर्यो ,” व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर बलायरले भने ।
यो समस्या प्रादेशिक आयुर्वेद चिकित्सालयको एउटा शौचालय वा लिफ्टको मात्र होइन । करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएको ५० शैयाको अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्नु अर्को समस्या छ । त्यसका लागि न स्थायी दरबन्दी छ, न त सेवा सुधारका लागि अस्थायी विशेषज्ञ चिकित्सक ।
धनगढी–१३ राजपुरमा रहेको चिकित्सालय हालसम्म तत्कालीन सेती अञ्चल आयुर्वेद चिकित्सालय मर्ज भएर प्राप्त स्थायी दरबन्दीको भरमा सञ्चालन भइरहेको छ । कुल ५० शैयाको अस्पतालका लागि आवश्यक नयाँ सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण स्वीकृत नहुँदा आवश्यक जनशक्ति थपिन सकेको छैन । एमडी तहका विशेषज्ञ चिकित्सक एक जना मात्रै छन् ।
“भौतिक संरचना ५० शैयाको भए पनि हाल बढीमा ३० शैया सम्म सेवा दिन सकिने अवस्था छ । पर्याप्त जनशक्ति र स्रोतसाधन नहुँदा अस्पतालले आफ्नो संरचनाको पूर्ण क्षमता उपयोग गर्न सकेको छैन,” निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओमप्रकाश कलौनीले भने, “अस्पतालको समस्या यतिमै सीमित छैन । सामान्य मर्मतसम्भारका लागि समेत पर्याप्त बजेट नहुँदा सेवा प्रभावित हुने गरेको छ ।”
विसं २०७६ मा यो चिकित्सालय प्रदेश मातहतमा आएको थियो । ५० शैयामा सञ्चालन गर्ने गरी केन्द्रीय सरकारले धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बनाइदिएको संरचना २०७८ चैतमा व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो ।
तीनतले भवनमा हाल करिब ३० शैया सञ्चालन गर्न सकिन्छ, तर स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नहुँदा पर्याप्त जनशक्ति छैनन् । तत्कालीन सेती अञ्चल आयुर्वेद चिकित्सालय ‘मर्ज’ हुँदा आएका छ जना स्थायी र करारका २७ जना जनशक्तिले सेवा दिनुपरेको छ । त्यसमा पनि उच्च तहका विशेषज्ञ चिकित्सक एक जना मात्र छन् ।
अस्पतालमा लिफ्ट जडान हुनु अशक्त, ज्येष्ठ नागरिक तथा हिँड्डुल गर्न कठिनाइ भएका बिरामीका लागि महत्त्वपूर्ण सुविधा हो तर निर्माण सम्पन्न भएर पनि ठेकेदारले हस्तान्तरण नगर्दा सञ्चालनमा आउन सकेको छैन । भवन हस्तान्तरण भएको करिब ५ वर्षसम्म पनि लिफ्ट सञ्चालन हुन सकेको छैन । व्यवस्थापन समिति अध्यक्ष बलायर हाल अन्तिम समयसीमा तोकेर ठेकेदारलाई भुक्तानी समस्या समाधान गर्न भनिएको र अबको एक/डेढ हप्तामा त्यसको सुनुवाइ नभए कानुनी प्रक्रियामा जाने निष्कर्षमा पुगिएको बताए ।
स्वास्थ्य संस्थाका लागि शौचालय, लिफ्ट र मर्मत सम्भार विलासिताका पूर्वाधार होइनन् । बिरामीको उपचारमा सहज पहुँचका आधारभूत पूर्वाधार हुन् तर यिनै सामान्य आवश्यकताका लागि अस्पतालले बजेट अभाव झेलिरहँदा सेवा प्रवाहमा पनि समस्या भइरहेको निमित्त मेसु डा. कलौनीले बताए ।




































