सार्वभौम संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता खै ?

संसदीय लोकतन्त्रको मूल मर्म भनेकै कार्यपालिका संसद्प्रति उत्तरदायी र जवाफदेही हुनु हो । जनताका प्रतिनिधिहरू उपस्थित हुने सर्वोच्च संस्था संसद् सरकार निर्माण गर्ने थलो मात्र नभई सरकारका काम–कारबाही, निर्णय र अभिव्यक्तिमाथि निरन्तर निगरानी राख्ने र प्रश्न सोध्ने वैधानिक मञ्च पनि हो ।

तर पछिल्लो समय नेपालको प्रतिनिधि सभामा देखिएको निरन्तरको गतिरोध र त्यसमा सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीको उदासिनताले लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय परम्परामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ । सभामुख स्वयम्‌ले प्रधानमन्त्री कार्यालय पुगेर सदनमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन आग्रह गर्दा समेत प्रधानमन्त्रीले विचार गरौँला भन्दै पन्छिन खोज्नु संसदीय सुशासनका दृष्टिले कदापि शोभनीय मान्न सकिँदैन ।

प्रतिनिधिसभा विगत लामो समयदेखि अवरुद्ध हुँदा जनताका असंख्य महत्वपूर्ण विषय ओझेलमा परेका छन् । बर्खे अधिवेशनका महत्वपूर्ण विधायिकी कामहरू प्रभावित भएका छन् भने सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका पीरमर्का र राष्ट्रिय सरोकारका मुद्दा उठाउन पाएका छैनन् । गतिरोध अन्त्यका लागि सभामुख डोलप्रसाद अर्यालले सिंहदरबार पुगेर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग करिब ४५ मिनेट छलफल गर्दै संसद् नियमावलीको व्यवस्था स्मरण गराउनुपर्ने अवस्था सिर्जना भयो ।

नियमावलीमा नै प्रधानमन्त्रीले महिनामा कम्तीमा एकपटक नियमित प्रश्नोत्तरमा सहभागी हुने र समसामयिक विषयमा सदनलाई सम्बोधन गर्नुपर्ने स्पष्ट व्यवस्था छ । सरकार प्रमुखका रूपमा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्छ । तर प्रधानमन्त्रीले तत्कालै सदनमा उपस्थित हुने स्पष्ट प्रतिबद्धता नजनाउनु र प्रतिपक्षीका प्रश्नको सामना गर्नबाट भाग्न खोज्नुले संसदीय प्रक्रियाप्रतिको गैरजिम्मेवारीपन प्रस्ट्याउँछ ।

संसद्मा अहिले देखिएको तनावको मुख्य कारण गत जेठ १७ गते प्रतिनिधि सभामा उपस्थित भएका बेला प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति हो । नेपालको सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन् । लोकतन्त्रमा प्रतिपक्षले प्रश्न उठाउनु स्वाभाविक विषय हो ।

प्रधानमन्त्रीको भनाइलाई लिएर देशको सार्वभौम संसद् अवरुद्ध हुँदा त्यसको निकास दिने पहिलो र प्रमुख दायित्व स्वयं प्रधानमन्त्रीकै हुन्छ । प्रधानमन्त्रीले सदनमा उपस्थित भएर आफ्ना धारणा स्पष्ट रूपमा राखेको भए गतिरोध उहिल्यै अन्त्य भइसक्ने थियो । आफ्ना अभिव्यक्तिको जिम्मेवारी लिनु र त्यसबारे जनप्रतिनिधिलाई स्पष्ट पार्नुको साटो संसद्लाई नै उपेक्षा गर्नुले लोकतान्त्रिक परिपाटीलाई कमजोर बनाउँछ ।

पछिल्लो समय सरकारको कार्यशैली र प्रधानमन्त्रीको भूमिकालाई लिएर सत्तापक्षभित्रै असन्तुष्टि चुलिनु अर्को चिन्ताको विषय हो । संसद्मा आफ्ना समस्या उठाउन नपाएको भन्दै सत्तारुढ दलकै सांसदहरूले प्रश्न गरिरहेका छन् ।

अर्कोतर्फ प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू ‘एक्लिएको’ संकेत गर्ने खालका अभिव्यक्ति दिएर राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेका छन् । प्रधानमन्त्रीले एकातिर संसद्मा आएर जनप्रतिनिधिका प्रश्नको सामना गर्न नसक्ने र अर्कातिर सामाजिक सञ्जालमा असन्तुष्टि पोख्ने कार्यशैली अपनाउनुले उनको राजनीतिक अपरिपक्वता र गैरजवाफदेहितालाई उजागर गर्छ ।

देशको शासन सत्ता सम्हालेको व्यक्तिले आफूलाई परेका अप्ठ्यारा वा असन्तुष्टिको जवाफ सामाजिक सञ्जालमा नभई सार्वभौम संसद्को रोस्ट्रममा उभिएर दिनुपर्छ । संसद्को गतिरोधमा सभामुखको भूमिका र संसदीय परम्परामाथि पनि गम्भीर प्रश्न उठेका छन् । संसदीय परिपाटीमा प्रधानमन्त्री स्वयं सभामुखको कार्यकक्ष वा संसद् सचिवालयमा पुगेर परामर्श गर्ने स्थापित परम्परा छ ।

तर यहाँ सभामुख आफैँ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय पुग्नुपर्ने परिस्थिति बन्नुले संसदीय मर्यादा र सभामुखको पदको गरिमामाथि धक्का पुर्‍याएको छ । प्रतिपक्षीले सभामुखमाथि पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइरहेका बेला सभामुखले अझ दह्रो र निष्पक्ष कदम चाल्न आवश्यक छ । सत्तापक्ष र प्रतिपक्षलाई एउटै टेबलमा राखेर निकास खोज्ने र संसद् सञ्चालनका लागि सरकारलाई बाध्य पार्ने काम सभामुखको हो ।

संसद् अवरुद्ध हुनु भनेको जनताको आवाज थुनिनु हो । लामो समयसम्म संसद् ठप्प हुँदा देशको विधायिकी प्रक्रिया ठप्प हुन्छ र अन्ततः लोकतान्त्रिक व्यवस्था नै कमजोर बन्न पुग्छ । यसर्थ अहिलेको गतिरोध अन्त्य गर्ने सबैभन्दा सजिलो र लोकतान्त्रिक बाटो भनेकै प्रधानमन्त्रीको संसद् प्रवेश हो । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालको पछाडि लुकेर वा विचार गरौँला भन्ने हल्का आश्वासन दिएर जिम्मेवारीबाट पन्छिन मिल्दैन । उनले तत्काल संसद् बैठकमा उपस्थित भएर प्रतिपक्षी दलहरूले उठाएका सीमासम्बन्धी प्रश्न र आफ्नो अभिव्यक्तिको स्पष्ट र चित्तबुझ्दो जवाफ दिनुपर्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।