काठमाडौँ । नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आधिकारिकता र नेतृत्वको विवादले पुनः नयाँ र आक्रामक मोड लिएको छ ।
साढे पाँच महिना लामो सिंगापुर बसाइपछि स्वदेश फर्किएका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट सिधै पार्टीको इतरसमूहले स्थापना गरेको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेपछि पार्टीभित्रको गुटगत धुव्रीकरण थप सतहमा आएको हो । सानेपास्थित केन्द्रीय कार्यालयबाट अकस्मात बाहिरिनु परेको बाध्यात्मक परिस्थितिबीच इतर समूहले चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरी आफ्ना सांगठनिक गतिविधिहरू सञ्चालन गर्दै आएको थियो ।
पार्टीको पछिल्लो विशेष महाधिवेशन र त्यसका निर्णयहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको यो समूहले शेरबहादुर देउवालाई नै नेपाली कांग्रेसको वैधानिक सभापति मान्दै आएको छ । सोही बमोजिम चुनदेवी पुगेका देउवालाई पनि इतर पक्षका नेता तथा कार्यकर्ताहरूले पार्टी सभापतिको साङ्गठनिक हैसियत र उच्च सम्मानका साथ भब्य स्वागत गरेका थिए ।
चुनदेवीस्थित कार्यालयको बार्दलीबाट उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै देउवाले निकै आक्रामक अभिव्यक्ति दिएका छन् । साढे पाँच महिनाको वैदेशिक बसाइ र स्वास्थ्य उपचारपछि फर्किएका देउवाको हाउभाउ र भाषणले कांग्रेसभित्रको शक्ति संघर्ष आगामी दिनमा झनै पेचिलो बन्ने स्पष्ट संकेत गरेको छ । चुनदेवीको कार्यालयमा देउवाका लागि छुट्टै र सुसज्जित कक्ष तयार पारिएको छ, जहाँ ’शेरबहादुर देउवा – सभापति, नेपाली कांग्रेस’ लेखिएको आकर्षक नेमप्लेट टाँगिएको छ ।
यसले इतर समूह सानेपाको नेतृत्वलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र सामानान्तर अभ्यासलाई नै निरन्तरता दिने रणनीतिमा स्पष्टसँग अघि बढेको देखिन्छ । देउवाले चुनदेवीको बार्दलीबाट दिएको कडा मन्तव्यले सानेपामा रहेका नेताहरूलाई सिधा चुनौती दिएको छ भने देशैभरका इतर पक्षीय कार्यकर्ताहरूमा नयाँ तरंग पैदा गरिदिएको छ ।
यता स्वदेश फर्किएका देउवाले चुनदेवी पुगेर सभापतिको हैसियत र सामानान्तर साङ्गठनिक भूमिका लिइरहँदा सानेपास्थित कांग्रेसको आधिकारिक मुख्यालयमा भने अर्कै दृश्य देखिन्छ । सानेपामा केन्द्रीय समितिको बैठक विगत पाँच दिनदेखि निरन्तर बसिरहेको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापाको अध्यक्षतामा उक्त बैठक सञ्चालन भइरहेको छ ।
निर्वाचन आयोगले दिएको कानुनी मान्यता र सर्वोच्च अदालतले दिएको वैधानिकताको बलमा गगन थापा नेतृत्वको सानेपा समूहले आगामी असोज महिनाका लागि १५ औँ महाधिवेशनको मितिसमेत तय गरिसकेको छ । सानेपामा जारी केन्द्रीय समिति बैठक मुख्य गरी असोजमा हुने भनिएको १५ औँ महाधिवेशनको तयारी, कार्यतालिका निर्माण र साङ्गठनिक सुदृढीकरणका एजेन्डामा नै केन्द्रित रहेको छ । निर्वाचन आयोग र अदालतको आदेश आफ्नो पक्षमा रहेकाले सानेपा समूह आफूलाई आधिकारिक कांग्रेसका रूपमा स्थापित गर्दै अघि बढिरहेको छ।
तथापि, सानेपा समूह आफूलाई पूर्ण रूपमा सुरक्षित मानिरहेको अवस्थामा न्यायलयको पछिल्लो कदमले भने राजनीतिमा पुनः नयाँ मोड ल्याइदिएको छ । सर्वोच्च अदालतले पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नेतृत्व र आधिकारिकताका विषयमा दायर गरेको पुनरावलोकन (रिभ्यू) निवेदनलाई स्वीकार गर्दै त्यसमाथि पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
सर्वोच्चको यो निर्णय सार्वजनिक भएसँगै उत्साहित बनेको चुनदेवीस्थित इतर समूह थप आक्रामक र सक्रिय बनेको छ । अदालतको यो कदमले आफ्ना माग र मुद्दाहरू कानुनी रूपमा अझै जीवितै रहेको निष्कर्ष निकाल्दै इतर पक्षले पार्टीभित्र आफ्नो उपस्थिति र दाबीलाई थप बलियो बनाउने रणनीति बुनेको छ । सर्वोच्चको पुनरावलोकन आदेशपछि इतर समूहले आफ्नो शक्ति प्रदर्शन गर्ने तयारीस्वरूप शुक्रबारदेखि आइतबारसम्म तीन दिने राष्ट्रिय भेलाको आयोजनासमेत गरेको छ ।
उक्त राष्ट्रिय भेलालाई मुख्य वक्ताका रूपमा पूर्वसभापति शेरबहादुर देउवाले आफैँ सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ, जसले सानेपा र चुनदेवीबीचको दुरीलाई अझ बढाउने निश्चित छ । पार्टीभित्रको यो गुटगत टकराब केवल सभापतिको पद र सामानान्तर कार्यालय चलाउनुमा मात्र सीमित छैन, यसले शीर्ष नेताहरूबीचको पत्राचार र भाषा शैलीमा समेत गम्भीर मर्यादाहीनता र विवाद सिर्जना गरेको छ । यसै बीच पूर्वमहामन्त्री शशांक कोइरालाले गगनकुमार थापालाई सम्बोधन गर्दै एक पत्र लेखेका थिए ।
तर, उक्त पत्रमा कोइरालाले थापालाई विशेष महाधिवेशनबाट निर्वाचित ’सभापति’ नभई केवल ’महामन्त्री’ को हैसियतमा मात्र सम्बोधन गरेका थिए । विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरिसकेको अवस्थामा शशांक कोइरालाले उनलाई पुरानै पद ’महामन्त्री’ भनेर सम्बोधन गर्नुलाई सानेपा पक्षले नियतवश गरिएको राजनीतिक अपमानका रूपमा लिएको छ ।
शशांक कोइरालाको सो पत्र र सम्बोधनप्रति गगनकुमार थापाले तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । थापा निकट एक प्रभावशाली नेताका अनुसार गगन थापाले यस किसिमको साङ्गठनिक व्यवहारलाई आफू र विशेष महाधिवेशनको जनादेशमाथिको ठाडो अपमान भनेका छन् । “उहाँहरूले जस्तो हर्कत र व्यवहार देखाइरहनुभएको छ, यो राजनीतिक संस्कारविपरीतको अपमानबाहेक केही होइन,“ थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने । विशेष महाधिवेशनको म्यान्डेट, निर्वाचन आयोगको अभिलेख र अदालतको वैधानिकता पाएको नेतृत्वलाई पुरानै पदमा सीमित गरेर सम्बोधन गर्नुले इतर समूह सहमति र संवादको पक्षमा नरहेको सानेपा पक्षको बुझाइ छ ।
यसरी साढे पाँच महिनापछि देउवाको स्वदेश फिर्तीसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक कलह थप जटिल र पेचिलो मोडमा पुगेको छ । एकातिर निर्वाचन आयोग र अदालतको प्रारम्भिक आदेशको वैधानिकता बोकेर असोजको १५ औँ महाधिवेशनको तयारीमा जुटेका गगन थापा र सानेपा पक्ष छ भने अर्कातिर अदालतको पुनरावलोकनको आदेशबाट उत्साहित हुँदै, देउवालाई नै सभापति मानेर देशव्यापी राष्ट्रिय भेलाको तयारीमा जुटेको चुनदेवी पक्ष रहेको छ ।
एउटै पार्टीभित्र दुईवटा सभापति, दुईवटा केन्द्रीय कार्यालय र सामानान्तर भेलाहरू आयोजना हुने स्थितिले तल्लो तहका आम कार्यकर्ताहरूमाझ ठूलो अन्योल र निराशा पैदा गरेको छ । आगामी दिनमा सर्वोच्च अदालतबाट आउने अन्तिम फैसला र इतर पक्षले आयोजना गर्ने राष्ट्रिय भेलाले नेपाली कांग्रेसको एकीकृत भविष्य वा औपचारिक विभाजनको दिशा तय गर्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।




































