ग्यास अभावको चपेटामा पर्यटन क्षेत्र

नेपालका ग्रामीण तथा उदीयमान पर्यटकीय क्षेत्रहरूमा साना तथा मझौला होटल व्यवसाय नै स्थानीय अर्थतन्त्रका प्रमुख खम्बा हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई खानपिन र बासस्थानको सुविधा दिँदै आएका यी होटलहरूले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै कृषि, पशुपालन र व्यापारिक चक्रलाई जीवन्त राख्न भूमिका खेलेका छन् ।

तेह्रथुमको छथर गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र शुक्रबारे बजारमा देखिएको एलपी ग्यासको चरम अभावले आधारभूत ऊर्जाको आपूर्ति खल्बलिँदा कसरी सिङ्गो आतिथ्य (होटल) तथा पर्यटन क्षेत्र संकटमा पर्छ भन्ने प्रस्ट पारेको छ । खाना पकाउने ग्यासको सहज आपूर्ति नहुँदा होटलहरू एकाएक बन्द हुनु वा सेवा कटौती गर्न बाध्य हुनुले स्थानीय पर्यटन र व्यवसायमाथि धक्का पुर्‍याएको छ ।

शुक्रबारे बजार तेह्रथुम र आसपासका क्षेत्रका वासिन्दा तथा यात्रुहरूका लागि दैनिक किनमेल र खानपानको प्रमुख थलो हो । तर ग्यास अभावका कारण दर्शन होटल जस्ता स्थापित व्यवसायहरू नै ४/४ दिनसम्म बन्द हुनुपरेको दुःखद परिस्थिति सिर्जना भएको छ । हटियाको दिनमा मात्रै एउटै होटलको ५० हजार रुपैयाँसम्मको कारोबार ठप्प हुनु र सामान्य दिनमा पनि हजारौँको घाटा व्यहोर्नुले साना व्यवसायीको ढाड भाँचिदिएको छ । होटल बन्द भए पनि घरभाडा, बैंकको ब्याज, सरकारी कर र अन्य नियमित खर्चहरू रोकिँदैनन् । यसले गर्दा साना र स्थानीय लगानीमा सञ्चालित होटल व्यवसाय नै सदाका लागि पलायन हुने खतरा बढेको छ ।

व्यवसायीका लागि ग्यास भान्साको इन्धनसँगै पर्यटन उद्योग, स्थानीय रोजगारी र आपूर्ति शृंखला चलाउने साधन हो । ग्यास अभावको असर केवल होटलका सञ्चालक वा भान्सासम्म मात्र सीमित छैन । यसले शृंखलाबद्ध असर सिर्जना गरेको छ । होटल बन्द हुँदा त्यहाँ कार्यरत मजदुर तथा श्रमिकहरूले रोजगारी गुमाएका छन् भने होटलहरूमा नियमित रूपमा दूध, तरकारी, मासु, अण्डा जस्ता कृषि उपज बिक्री गर्ने स्थानीय किसान र साना व्यापारीहरूको उत्पादन थन्किएको छ ।

पर्यटन र आतिथ्य क्षेत्रसँग जोडिएको स्थानीय आपूर्ति शृंखला नै भत्किएपछि ग्रामीण अर्थतन्त्र झनै थिलथिलो बन्न पुगेको छ । बजारमा आएका पर्यटक वा ग्राहकले चाहेजस्तो खाना र नास्ता पाउन नसक्दा गन्तव्यप्रतिको विश्वास घट्दै जान्छ, जसको दीर्घकालीन असर स्थानीय पर्यटन विकासमा पर्ने निश्चित छ ।
हाम्रो देशमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका ठूला–ठूला गफ गरिए तापनि इन्धन जस्तो अतिआवश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न नसक्नु प्रशासनिक र नियामकीय कमजोरी हो । बजारमा मागअनुसार ग्यासको पर्याप्त मौज्दात राख्ने, वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने तथा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन प्रभावकारी अनुगमन गर्ने दायित्व सरकार र सम्बन्धित निकायको हो ।

शुक्रबारे बजारमा देखिएको ग्यास संकटले स्थानीय पर्यटकीय केन्द्रहरूको संवेदनशीलतालाई उजागर गरेको छ । व्यवसायीहरूलाई ग्यास उपलब्ध गराउनु भनेको व्यापारिक सामान बेच्नु मात्र नभई स्थानीय अर्थतन्त्र र पर्यटन क्षेत्रलाई धराशायी हुनबाट जोगाउनु हो । त्यसैले तेह्रथुम लगायत मुलुकका सबै ग्रामीण तथा पर्यटकीय क्षेत्रहरूमा एलपी ग्यासको नियमित र सहज आपूर्ति तत्काल सुनिश्चित गरिनुपर्छ । सरकार, स्थानीय निकाय र आपूर्ति निगमले समयमै ध्यान नदिने हो भने ग्यास अभावका कारण चुलो निभ्ने र होटल बन्द हुने नियतिले समग्र पर्यटन उद्योगलाई नै तहसनहस बनाउनेछ ।

मिति २०८३ साउन ३१ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार