पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु

टोकियो । पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ । अभूतपूर्व वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन् ।

बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढाउनुका साथै विधुत आपूर्ति अवरुद्ध भएको थियो । मौसमविदहरुले पहिलो पटक चिबा प्रिफेक्चरका लागि उच्च तहको भारी वर्षाको चेतावनी जारी गरेका थिए । चिबाको एक मौसम मापन केन्द्रले २४ घण्टामा ३० सेन्टिमिटर अर्थात् करिब १२ इन्च वर्षा मापन गरेको थियो ।

यो विगत ६० वर्षयताकै अगस्ट महिनाको सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ । भूमि मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म चिबा सहरमा सामान्यतया पूरै अगस्त महिनामा पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी वर्षा भइसकेको थियो । एनएचकेका अनुसार वर्षाका कारण आइतबार बिहानसम्म नौ जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म चिबाको विपद व्यवस्थापन कार्यालयले आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । मृतकमध्ये केही डुबानमा परेका सवारी साधनभित्र फेला परेका थिए भने केही डुबानग्रस्त सडकमा मृत अवस्थामा भेटिएका थिए । चिबा प्रिफेक्चरको पछिल्लो विवरणअनुसार ७० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।

एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये करिब ६०० घरको भुइँको सतहभन्दा माथिसम्म पानी पसेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार करिब एक हजार २०० सवारी साधन सडकमा अलपत्र परेका छन् । अधिकारीहरूले ती सवारी साधन टो तथा ज्याकको प्रयोग गरी हटाउने काम गरिरहेका छन् ।

जापानको मौसम विज्ञान विभागका एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा चिबामा ‘अभूतपूर्व स्तरको भारी वर्षा’ हुने चेतावनी दिएका थिए । वैज्ञानिकका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले चरम मौसमी घटनालाई अझ बारम्बार, लामो समयसम्म र तीव्र बनाउँदै लगेको छ ।