वाणिज्य बैंकहरुको कमाई झन्डै ७० अर्ब, घट्यो लाभांश क्षमता

काठमाडौं । अर्थतन्त्रले अपेक्षाअनुसार गति लिन नसकेको चर्चा भइरहँदा वाणिज्य बैंकहरुले केही हदसम्म नाफा कमाउन सफल भएका छन् ।

कठिन परिस्थितिमा कर्जा असुलीमा सक्दो जोड दिएसँगै अधिकांश बैंकको नाफा आर्जनमा सुधार भएको छ ।आर्थिक वर्ष (आव) २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार केही बैंकहरूले राम्रो मुनाफा आर्जन गरेका छन् । खराब कर्जाको व्यवस्थापन र ऋणात्मक वितरणयोग्य नाफाले गर्दा आगामी साधारणसभाबाट सेयरधनीहरूले पाउने लाभांशमा असर पर्ने अनुमान गरिएको छ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०८२/८३को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, सबै बैंकहरूको कुल वितरणयोग्य नाफा हिसाब गर्दा ९५ करोड ६० लाख रुपैयाँ ऋणात्मक देखिन्छ । बैंकहरूले नाफा कमाएको देखिए पनि त्यो रकम नगदमा नभई ’प्रोभिजनिब’र अन्य प्राविधिक कारणले वितरण गर्न नमिल्ने अवस्थामा छ । जसका कारण बैंकहरुको वितरणयोग्य नाफा अपेक्षाअनुसार हुन सकेन ।

यसैक्रममा पूर्व बैंकर परशुराम कुँवर क्षेत्री अर्थतन्त्रको पछिल्लो अवस्थाका कारण बैंकहरुमा कर्जा असुलीको समस्या निकै जटिल बनेको स्विकार्छन् । “कतिपय बैंकको खराब कर्जा (एनपिएल) १५ प्रतिशतसम्म पुगेको छ, जसले गर्दा प्रोभिजनिबको आकार बढ्दा वितरणयोग्य नाफामा समेत ठूलो असर परेको हो,” उनले बाह्रखरीसँग भने । बैंकहरुको फी र कमिसन जस्ता गैर–ब्याज आम्दानी भने बढेको छ, जसले आर्थिक गतिविधिमा केही सुधार भएको बैंक विज्ञ कुँवर औँल्याउँछन् । उनकाअनुसार सरकारले आयकरको सीमा बढाइएका कारण मानिसहरूको खर्च गर्न सक्ने क्षमतामा केही वृद्धि भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको हुनसक्छ ।

सबैभन्दा बढी कमाउनेमा नबिल बैंक अग्रस्थानमा, कुमारी र ग्लोबल आइएमई पछ्याउँदै गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ ।

नबिलले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली नबिल बैंक मुनाफामा आफ्नो निकटतम प्रतिस्पर्धीभन्दा अगाडि रहेको दाबी गर्छन् । यसो हुनुको कारणबारे प्रस्ट्याउँदै उनले भने, “हाम्रो बैंकको सही रणनीतिक दिशा, कर्जा असुलीमा गरिएको सुधार र गुणस्तरीय क्रेडिट पोर्टफोलियोका कारण यो सफलता हासिल भएको हो ।” उनकाअनुसार अझ गत आव नियमनकारी निकाय वा अडिटका क्रममा प्रोभिजन थप्न लगाइयो, जसले बैंकलाई थप सुरक्षित र बलियो बनायो । यसर्थ बैंकको चौथो त्रैमासिक रिपोर्टले बैंकको अवस्था अत्यन्तै बलियो देखाएको उनको तर्क छ । यससँगै, नाफाको सूचीमा दोस्रो स्थानमा कुमारी बैंक रहेको छ, जसले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहन सफल भएको छ ।

यसैगरी, पाँच अर्ब भन्दा बढी नाफा कमाउने बैंकहरूमा एभरेष्ट बैंकले ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरी, सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार र नेपाल बैंकले ४ अर्ब ५० करोड १ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । प्राइम कमर्सियल बैंकले ४ अर्ब ११ करोड २५ लाख ६८ हजार, नेपाल बैंक ४ अर्ब ५० करोड, नएनएमबी बैंकले ४ अर्ब १ करोड ३६ लाख ७१ हजार, सानिमा बैंकले ३ अर्ब ५५ करोड १ लाख ४४ हजार, सिद्धार्थ बैंकले ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार , लक्ष्मी सनराइज बैंकले ३ अर्ब ११ करोड ७१ लाख ३१ हजार र स्ट्याण्डर्ड चार्टर्ड बैंकः २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक र नेपाल एसबिआई बैंकको नाफा २ अर्ब माथि रहेको छ । हिमालयन बैंकले १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ ।

तर गत आव कम नाफा कमाउने एनआइसी एसिया बैंकले १८ करोड १७ लाख २ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्‍यो । सबैभन्दा कमजोर अवस्था प्रभु बैंकको देखिएको छ । किनभने यो बैंकको नाफा गत आर्थिक वर्षमा २४ करोड १२ लाख ४३ हजार रुपैयाँ घाटामा रहेको छ । यता नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले साउन लागेसँगै बैंकहरू रिकभरी (असुली) को चरणबाट अगाडि बढाएकाले बैंकको नाफा केही हदसम्म बढेको बताउँछन् ।

बैंकहरू व्यवसाय विस्तारमा भन्दा पनि पुरानो कर्जा असुली र जोखिम व्यवस्थापनमा बढी केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनकाअनुसार चौथो त्रैमासिक रिपोर्टअनुसार माछापुच्छ्रे बैंकको स्थिति औसत नै रहेको छ । हाल बैंकिङ प्रणालीमा करिब १५ खर्ब रुपैयाँ बराबरको अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको तर कर्जाको माग नहुँदा बैंकको व्यवसाय अपेक्षाअनुसार हुन नसकेको उनको गुनासो छ । वित्तीय स्वास्थ्यको हिसाबले एभरेष्ट बैंक सबैभन्दा बलियो वाणिज्य बैंकहरुको वित्तीय स्वास्थ्यको हिसाबले एभरेष्ट बैंक सबैभन्दा बलियो देखिएको छ । किनभने यस बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ छ, जुन खुद नाफा ५ अर्ब ६ करोड रुपैयाँ भन्दा पनि बढी छ ।

यस्तै अवस्था नबिल बैंक र ग्लोबल आइएमई बैंकको पनि छ, जसले क्रमशः ५ अर्ब १६ करोड र ४ अर्ब ५८ करोड रुपैयाँ लाभांश बाँड्ने क्षमता राख्छन् । तर, केही ठूला बैंकहरूको अवस्था भने निकै कमजोर देखिएको छ । एनआइसी एशिया बैंकः यसले १८ करोड १७ लाख खुद नाफा कमाएको देखिए पनि वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक छ । हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक छ । प्रभु बैंकले २–४ करोड रुपैयाँ खुद घाटा मात्र व्यहोरेको छैन, यसको वितरणयोग्य नाफा पनि ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक छ ।

बैंकहरूको कर्जाको गुणस्तरमा एभरेष्ट बैंक सबैभन्दा उत्कृष्ट देखिएको छ । जसको खराब कर्जा (एनपिएल) जम्मा ०.४९ प्रतिशत मात्र रहेको छ । सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको १५.५५ प्रतिशत पुगेको छ, जुन चिन्ताजनक हो । प्रतिसेयर नेटवर्थको आधारमा नेपाल बैंक २८७.७० रुपैयाँका साथ सबैभन्दा अगाडि छ भने प्रभु बैंकको नेटवर्थ १४०.९२ रुपैयाँमा सीमित छ । बैंकहरूको आधार दरतर्फ एनआइसी एशिया बैंकको सबैभन्दा बढी ५.८३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा कम ४.२२ प्रतिशत रहेको छ । बैंकहरूको ब्याजदर अन्तर (स्प्रेड दर) अधिकतम स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.७७ प्रतिशत देखि हिमालयन बैंकको न्यूनतम २.८३ प्रतिशत सम्म रहेको छ ।

बैंकहरूको लाभांश क्षमता घट्नुको मुख्य कारण खराब कर्जा बापत छुट्ट्याइएको रकम (इम्पेयरमेन्ट चार्ज) हो । बैंकहरूले कुल ३९ अर्ब ४० करोड रुपैयाँ यस्तो जोखिमका लागि छुट्ट्याउनु परेको छ । विशेष गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६ अर्ब १९ करोड र ग्लोबल आइएमई बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जमा खर्चिएका छन् । गत आवको वित्तिय प्रतिवेदनअनुसार एभरेष्ट बैंक ३६.९५ रुपैयाँ प्रतिसेयर आम्दानी (ईपिएस)का साथ अग्रस्थानमा देखिएको छ । यसैगरी, नेपाल बैंक ३०.६३, राष्ट्रिय वाणिज्य बैंक २९.१४, स्ट्याण्डर्ड चार्टर्ड बैंक २८.३८ र नबिल बैंक २८.३६ को आम्दानी पनि आकर्षक रहेको छ । अर्कोतर्फ, प्रभु बैंकको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ ऋणात्मक देखिएको छ ।

लाभांश बाँड्न सक्ने क्षमता अर्थात् वितरणयोग्य मुनाफाको आधारमा पनि एभरेष्ट बैंक ३८.३२ रुपैयाँका साथ सबैभन्दा बलियो देखिएको छ । यद्यपि, एनआइसी एशिया बैंक –९९.६५, हिमालयन बैंक४३.५८, प्रभु बैंक –२६.८१ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक–१४.९१को वितरणयोग्य मुनाफा ऋणात्मक देखिएकाले यी बैंकहरूका लगानीकर्ताले यस वर्ष लाभांश पाउने सम्भावना न्यून रहेको छ । आम्दानीको स्रोतमा ब्याजकै पकड बैंकहरूको मुख्य आम्दानीको स्रोत अझै पनि ब्याज नै देखिएको छ। कुल २ खर्ब ५३ अर्ब सञ्चालन आम्दानी मध्ये १ खर्ब ९२ अर्ब रुपैयाँ अर्थात् ७५ प्रतिशत भन्दा बढी खुद ब्याज आम्दानीबाट मात्र आएको छ । शुल्क तथा कमिसनबाट भने बैंकहरूले ३९ अर्ब ४९ करोड रुपैयाँ मात्र आर्जन गरेका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।