काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय सम्मेलनमा धर्मको विषय प्रवेश गराएपछि लफडा भएको छ ।
धर्मको विषयमा प्रयोग गरिएको भाषालाई लिएर नेताहरूबीच मञ्चमै लफडा भएको हो । राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी गर्ने तयारी हुँदा कांग्रेसका सनातन हिन्दु राष्ट्र अभियानको नेतृत्व गरिरहेका नेता शंकर भण्डारीले पूर्वसभापति शेरबहादुर देउवालाई सनातन धर्मको बारेमा धारणा राख्न भनेका थिए । त्यहीअनुसार सनातन हिन्दु राष्ट्रको विषय सम्मेलनको निष्कर्षमा सुनाइएको थियो ।
देउवाले पनि आफू हिन्दु रहेको तर कुनै पनि धर्मको विरोधी नरहेको बताए। आफ्नो धार्मिक कर्म हिन्दु परम्पराअनुसार नै भएकाले कसैले पनि आफू हिन्दु होइन भन्न नपाउने उल्लेख गरे । “मेरो ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा अनुसार भएको हो । म मन्दिर जान्छु । पशुपतिनाथको पूजा गर्छुु,” देउवाले भने, “त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।”
देउवाले नेपाल धर्म निरपेक्ष मुलुक होस् भन्ने आफ्नो चाहना भए पनि जनताले जे भन्यो त्यही हुने बताए । कार्यक्रममा सम्बोधन गरेर सिटमा फर्किएका देउवा फर्की फर्की फेरि धर्मका बारेमा स्पष्ट पारेका थिए । उनले आफू अरू धर्मविरोधी नभएको बताएका थिए ।“म अरू धर्म विरोधी होइन,” उनले भने, “मैले आफूलाई हिन्दु हुँ भन्न पाउनुपर्यो नि ।”
सम्मलेनमा उद्घोषक दीपक कुइँकेलले सम्मेलनको निष्कर्ष बाचन गरिरहेका थिए । तेस्रो बुँदा बाचन गर्दा उनले सनातन धर्म, संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोड्दै हिन्दु, बौद्ध, किरात र प्राकृतिक धर्मको संरक्षण गर्ने प्रतिबद्धता सम्मेलनले जनाएको उल्लेख गरे । त्यसलगत्तै, नेता विमलेन्द्र निधिले यो प्रस्ताव संविधानको बर्खिलाप हुनेभन्दै मञ्चमै आपत्ति जनाए ।
नेपालको संविधानको धारा ४ को उपधारा १ मा नेपाललाई धर्म निरपेक्ष राज्य भनिएको छ । यसको बर्खिलाप हुनेगरी कुनै पनि प्रस्ताव अघि बढ्न नहुने भन्दै निधिले मञ्चमै कुरा राख्न खोजेका थिए । ’’म केही कुरा राख्छु हट्नुस्,’’ भन्दै मञ्चमै नेता निधिले प्रकाशशरण महतसँग आक्रोश व्यक्त गरे । निधिले मञ्चबाटै प्रस्ताव सच्याउने प्रयत्न गरेका थिए । सम्मेलनको निष्कर्षमा सनातन धर्म, संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोड्ने कुरा सच्याउनुपर्ने अड्डी कसेपछि नेता महत, शंकर भण्डारी र दीपक कुइँकेल र वाग्मती प्रदेशका नेता राजु श्रेष्ठले निधिलाई सिटमै पुर्याए ।
निधिले प्रस्ताव सच्याउन प्रयास गरेपछि प्रस्ताव संविधान विपरीत नभएको भन्दै हट्नका लागि महतसँगै नेता शंकर भण्डारी, नेता दीपक कुइँकेल र वाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठले निधिलाई सिटमै पुर्याएका थिए । हिन्दु राष्ट्र अभियानमा लागेका नेता भण्डारीले प्रस्तावमा परेको तेस्रो बुँदालाई ऐतिहासिक भनेका छन् । ’’यसअघि र अहिले पनि यसलाई रोक्ने प्रयत्न सफल हुनेछैन । सम्मेलनको निष्कर्षमा उक्त विषय उठान हुनु सकारात्मक कुरा हो। यसले निरन्तरता पाउँछ ,’’ उनको भनाइ छ ।
सुरुवाती पाँचबुँदे निष्कर्षमा उक्त विषय समावेश भए पनि पछि आएको २० बुँदे निष्कर्षमा भने त्यो बुँदा समावेश छैन । नेता मीन विश्वकर्माले धर्मबारेको प्रस्ताव जबरजस्ती घुसाइएको तर्क गरेका छन् । सम्मेलनको निष्कर्ष अद्यावधिक भएकाले सुरुवातमा बाचन भएको पाँचबुँदे प्रस्तावलाई अन्तिम मान्न नहुने उनले बताएका छन् । ’’ जबरजस्ती उहाँहरूले पाँचबुँदे प्रस्ताव सुनाउनुभएको रहेछ। त्यस्तो त कहाँ पारित हुन्छ । त्यो त्रुटि हो,’’ विश्वकर्माले बाह्रखरीसँग भने,’’अद्यावधिक २० बुँदे नै अन्तिम प्रस्ताव हो ।’’
कांग्रेसको २० बुँदे प्रस्तावमा धर्मबारेको प्रारम्भिक प्रस्ताव सच्याइएको छ । पार्टी एकताको पहल गर्ने, वर्तमान राजनीतिक अवस्थादेखि १५ औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्ने उल्लेख छ ।
२० बुँदे प्रस्तावको १६ बुँदामा भनिएको छ,’’ नेपाल एक बहुजाति, बहुभाषिक, बहुधार्मिक एवं बहुसाँस्कृतिक मुलुक भएकोले संविधानले निर्दिष्ट गरेका सबै धर्म सम्प्रदायलाई आ–आफ्नो धर्म संस्कृतिको पालना तथा संरक्षण गर्न पाउने स्वतन्त्रतालाई संवैधानिकरुपमै थप स्पष्ट र सुदृढ गर्दै मुलुकमा सामाजिक सद्भाव तथा धार्मिक–सांस्कृतिक सहिष्णुता थप मजबुत गरिनेछ ।’’ कांग्रेसले नियमित महाधिवेशन की विशेष महाधिवेशन भन्ने दुई कित्तामा विभाजन गराइएको यथार्थता बोध गर्दै सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेकाले पुनरवलोकन गर्ने निष्कर्षमा पुगेको उल्लेख छ । कांग्रेसको भविष्यबारे अन्योल देखिएकाले पार्टीलाई उचित दिशा दिन राष्ट्रिय भेला आयोजना गरेको उल्लेख गरेको छ ।पार्टीको विधान र नेपालको संविधान बमोजिम पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको निष्कर्षमा भनिएको छ ।
विशेष परिस्थितिमा महाधिवेशनको समयावधि एक वर्ष थप गर्न सकिने प्रावधान र संविधान बमोजिमको थप समय पनि बाँकी नै रहेको अवस्था हुँदाहुँदै पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयविपरीत व्यक्तिको पद प्राप्तिको हतार, महत्वाकांक्षाले राजनीतिक षड्यन्त्रमार्फत विशेष महाधिवेशन आयोजना गरिएको आरोप संस्थापनइतरले लगाएको छ । निष्कर्षमा सर्वोच्चले पुनरवलोकन निर्णय गरेकोप्रति धन्यवाद व्यक्त गरेको छ । पार्टीको आधिकारिकता देउवा नेतृत्वको कार्यसमितिले पाउने र स्थानीय तहको निर्वाचन र प्रदेश निर्वाचनमा युवाको सहभागितालाई प्राथमिकता दिइने उल्लेख छ ।
विधान बमोजिम समयावधि भित्रै १५ औँ महाधिवेशन गर्न कानुनी तथा राजनीतिक समस्या समाधान गर्दै अघि बढ्ने भनिएको छ । १५ औँ महाधिवेशनको तयारीका लागि शशांक कोइरालालाई जिम्मा दिइएको छ । कांग्रेस संस्थापनइतर पक्षले लघुवित्त तथा सहकारी पीडितहरूलाई न्याय दिन र एलपी ग्यासको अभाव महँगी नियन्त्रण लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































