राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोनसरमा ‘नेक्सटाइल्स’

काठमाडौं । निर्माण क्षेत्रसँग सम्बन्धित नेपालको ठूलो प्रदर्शनीका रूपमा आयोजना हुँदै आएको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा पशुपति सेरामिक्सको उत्पादन नेक्सटाइल्स जोडिएको छ ।

आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तेस्रो संस्करणको फेस्टका लागि नेक्सटाइल्स र आयोजक घर निर्माण फाउन्डेसनबीच सम्झौता भएको हो । निर्माण क्षेत्रमा नयाँ ब्रान्डका रूपमा प्रवेश गर्न लागेको नेक्सटाइल्सले आधुनिक डिजाइन, प्रिमियम फिनिसिङ तथा गुणस्तरलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । पशुपति सेरामिक्सले नेक्सटाइल्स ब्रान्डअन्तर्गत भिट्रिफाइड टायलको सिरिज नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार उक्त टायल आवासीय तथा व्यावसायिक भवनका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।

घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, सेवा तथा व्यवसायलाई एउटै थलोमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको फेस्टले निर्माण क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै व्यवसायिक गतिविधिलाई थप विस्तार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि विभिन्न ब्रान्ड तथा कम्पनीले आफ्ना उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न र ग्राहकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न चुनौती भोगिरहेको अवस्थामा फेस्ट उपयोगी प्लेटफर्म बन्ने आयोजकको भनाइ छ ।

यसपटक डिजिटल फेस्ट पनि

यस वर्षको फेस्टलाई विगतको भन्दा फरक बनाउने उद्देश्यले ‘डिजिटल फेस्ट’को अवधारणा समेत अघि सारिएको छ । विदेशमा रहेका नेपाली तथा काठमाडौं बाहिरका दर्शकलाई समेत जोड्ने उद्देश्यले भृकुटीमण्डपमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिने भएको छ ।

उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवाका बारेमा जानकारी तथा प्रचार सामग्री प्रस्तुत गर्न सक्नेछन् । त्यस्ता सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

डिजिटल माध्यमको प्रयोगबाट फेस्टलाई भौतिक उपस्थितिमा मात्र सीमित नराखी देश तथा विदेशमा रहेका दर्शकसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

२०० भन्दा बढी स्टल राखिने

गत वर्ष १५० भन्दा बढी स्टल राखिएकोमा यसपटक २०० भन्दा बढी स्टल राख्ने तयारी गरिएको छ । आयोजकका अनुसार हालसम्म करिब ६० प्रतिशत स्टल बुकिङ भइसकेको छ । गत पुस १२ देखि १५ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । त्यसक्रममा १५० भन्दा बढी स्टलमा निर्माण सामग्री, उपकरण, प्रविधि तथा सेवाको प्रदर्शनी गरिएको थियो ।

यसपटक घर निर्माणको योजना बनाइरहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा निर्माण क्षेत्रका अन्य सरोकारवालालाई एउटै प्लेटफर्ममा जोड्ने तयारी गरिएको छ । आयोजकले यसपटक दर्शकको संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरेको छ । फेस्ट अवधिमा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्यसमेत राखिएको छ । घर निर्माणका लागि आवश्यक निर्माण सामग्री तथा त्यससम्बन्धी जानकारी एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले आयोजना हुने फेस्टमा ट्राइनोक्स ग्लोबलले समेत सहकार्य गरेको आयोजकले जनाएको छ ।