बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा क्षेत्रमा दुई दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका कारण बुधबार दिउँसोदेखि सडकखण्डमा यातायात प्रभावित भएको छ । जितपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरी आइतबार बिहान खेल्ने क्रममा बेपत्ता भएकी थिइन् । परिवार तथा स्थानीयले खोजी गरिरहे पछि मंगलबार साँझ घरनजिकै रहेको लामो समयदेखि सुनसान एउटा घरमा उनको शव फेला परेको थियो ।
प्रहरीका अनुसार तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी खोजी गर्ने क्रममा बालिकाको शव फेला परेको हो । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । बालिकाको शव परीक्षण तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले घटनालाई गम्भीर रूपमा लिएर दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरूले दोषीलाई फाँसीको सजाय दिनुपर्ने, घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने तथा इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने मागसमेत राखेका छन् ।स्थानीय रामचन्द्र लामाले बालिका हराएको जानकारी समयमै प्रहरीलाई गराउँदा पनि खोजी कार्यमा अपेक्षित सक्रियता नदेखाइएको आरोप लगाए प्रहरीले भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
बाराका प्रहरी प्रमुख नरेन्द्र कुवँरका अनुसार घटनामा संलग्न रहेको आरोपमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका थापा ना.१ ज ७७५८ नम्बरको म्याजिक गाडीका सहचालक हुन् भने चौधरी उक्त म्याजिकका धनी हुन् । घटनाको प्रकृति र संलग्नताबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ ।
बालिका तीन दिनसम्म बेपत्ता रहेपछि घरबाट करिब ५० देखि २०० मिटरको दूरीमा रहेको सुनसान घरमा शव भेटिएको घटनाले स्थानीयवासीलाई थप आक्रोशित बनाएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने भन्दै स्थानीयले सडकमा प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनका कारण वीरगञ्ज–पथलैया औद्योगिक करिडोर हुँदै आवतजावत गर्ने सवारीसाधनसमेत प्रभावित भएका छन् । स्थानीयले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।




































