नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका

नेपाल र जापानबिचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्वपूर्ण छ । नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका मित्र राष्ट्रहरूमध्ये जापान अग्रस्थानमा छ ।

सन् १९५६ सेप्टेम्बर १ मा २ देशबिचमा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएपछि ७ दशक लामो दुईपक्षीय मित्रता आपसी हित, नेपालको विकासमा जापानको साझेदारी र २ देशका नागरिकबिचको सम्बन्ध फराकिलो र मजबुत बनाउँदै अगाडि बढिरहेको छ । दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानले आज आफूलाई सक्षम राष्ट्रको रूपमा खडा गरी विश्वका नेपाल जस्ता धेरै मुलुकको विकासमा सहयोग गरिराखेको छ ।

२ देशबिचको मित्रताको इतिहास हेर्दा सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुची तिब्बती बौद्ध धर्म अध्ययनको सिलसिलामा तिब्बत जाने क्रममा नेपाल आउनुभएको र नेपाल जापानको मैत्री सम्बन्ध अनौपचारिक रूपमा जापानी भिक्षु इकाई कावागुचीको नेपाल भ्रमणबाटै सुरुआत भएको देखिन्छ । नेपाल र जापानबीचमा कूटनीतिक सम्बन्ध स्थापनापश्चात् जापानले नेपालको औद्योगिक विकास, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य, मानव संशाधन र पूर्वाधार विकास लगायतका क्षेत्रमा जापानी महत्वपूर्ण सहयोग गर्दै आएको छ ।

नेपाल र जापानबिचको सम्बन्ध स्थिर, दीर्घकालीन र विश्वासिलो छ भने जापानले नेपाललाई गर्दै आएको सहयोग निस्वार्थ र निरन्तर छ । जापानले दोस्रो विश्वयुद्ध पछिको कठिन परिस्थितिलाई अवसरको रुपमा लिँदै अहिले विश्वमै समृद्ध मुलुकहरूमध्ये अग्रस्थानमा रहेको छ । त्यस्तो कठिन परिस्थितिलाई पार गर्दै जापान अहिलेको अवस्थामा कसरी आइपुग्यो भन्ने थाहा पाउँदा हामीले जापानबाट सिक्नसक्ने कुराहरूको बारेमा बुझ्न सजिलो हुन्छ ।

जापानीहरूले आफ्नो देश तथा आफू जापानी हुनुमा अत्यन्त गर्व गर्ने गर्छन् । देश प्रेमको गहिरो भावमा उनीहरूको राष्ट्रिय विकास प्रतिको दृढ प्रतिबद्धता स्पष्ट रूपमा देखिन्छ । उनीहरू राष्ट्रिय प्रगतिलाई सामूहिक दायित्वको रूपमा लिँदै समाजको विकासको लागि एकताबद्ध भएर परिश्रमपूर्वक काम गर्छन् । ‘इमान्दारिता नै सर्वोत्तम नीति हो’ भन्ने मान्यता जापानीहरूको दैनिक जीवनमा व्यावहारिक रूपमा स्पष्ट देखिन्छ । सार्वजनिक तथा निजी दुवै परिवेशमा नियम कानुनको कडाइका साथ पालना गरिन्छ, जसले व्यवस्था कायम राख्न र अराजकता हुन नदिन सहयोग पुर्‍याउँछ । जापानमा समय निष्ठताप्रति उच्च सम्मान गर्दै समय व्यवस्थापनलाई प्राथमिकता दिइन्छ ।

जापानी उखान ‘नाना कोरोवी याओकि’ अर्थात् ‘सात पटक लड, आठ पटक उठ’ हो यसले जापानको लचिलोपन र धैर्यता झल्काउँछ र जति चुनौती आए पनि अगाडि बढिरहने दृढ इच्छाशक्ति विकास गर्न प्रोत्साहन गर्छ । जापानीहरू आफ्नो र अरुको गोपनीयतालाई धेरै सम्मान गर्छन् । जापानमा ज्येष्ठ र वरिष्ठहरूलाई व्यावहारिक रूपमै सम्मान गरिन्छ । त्यहाँ अनुशासनलाई सम्मानको रूपमा लिइन्छ, जसले मानिसलाई आत्म नियन्त्रण गर्न प्रेरित गर्छ । अनुशासन, मिहेनत र जिम्मेवारी जापानी संस्कृति र जीवनका मुख्य आधार हुन् ।

जापानका नीतिहरूले समानतालाई बढावा दिन्छन् । सबै सरकारी कर्मचारीलाई हरेक ३ वर्षमा सरुवा गर्नु र एउटै क्षेत्रमा बस्ने सबै बालबालिकालाई प्राथमिक तहमा एउटै विद्यालयमा जानुपर्ने व्यवस्था समानताको उदाहरण हो । जापानमा हरेक पेसालाई सम्मान गरिन्छ र ‘सम्मान चाहियो भने सम्मान देउ’ भन्ने सोच सानैदेखि सिकाइन्छ । बालबालिकालाई सही गलत छुट्याउन र आफ्नो निर्णय आफैँ गर्न प्रोत्साहन गरिन्छ, जसले आत्मनिर्भरता विकास गर्छ । जापानमा घरदेखि पार्क र विद्यालयजस्ता सार्वजनिक स्थानसम्म सफाइलाई अत्यन्त महत्व दिइन्छ । जापानी समाजले साझा हितका लागि सहकार्यलाई महत्व दिन्छ, जुन कुनै चाडपर्व, सामुदायिक कार्यक्रम र स्वयंसेवा गतिविधिमा देखिन्छ । जापानी संस्कृतिमा शिक्षालाई उच्च मान्यता दिइन्छ र जापानको शिक्षा प्रणाली प्रतिस्पर्धात्मक एवं व्यावहारिक छ ।

जापानीहरूले ताजा र मौसमी उत्पादनमा केन्द्रित सन्तुलित खाना खाने, बेलुकाको खाना चाँडै खाने र खानापछि हल्का व्यायाम गर्ने गर्छन्, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यस्ता खानपान र जीवनशैलीले समग्र स्वास्थ्य सुधार्ने र दीर्घायु बढाउन मद्दत गर्ने भएकै कारणले जापानमा १०० वर्ष नाघेको जनसंख्या झन्डै १ लाख छ । जापानीहरू आफ्नो मेहनत र काममा गर्व गर्छन्, जसले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छ । जापानी शब्द ‘गामान’ (सहनशीलता) भन्ने अवधारणाले काममा निरन्तरता, धैर्यता र कर्तव्यबोधप्रति जापानी प्रतिबद्धता देखाउँछ । जापानीहरूले जीवनमा सबैभन्दा बढी आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राख्दछन् । त्यहाँको तीव्र आर्थिक विकास नेपालजस्ता विकासोन्मुख देशहरूको लागि प्रेरणादायी उदाहरण बनेको छ ।

जापानले गरेको दक्ष जनशक्ति विकास, जापानीहरूको उच्च नागरिक जिम्मेवारी, प्रभावकारी राजनीतिक नेतृत्व, सुशासन लगायतका कुराहरूले अहिलेको जापान बनेको हो । हामीले जापान र जापानी जनताहरूबाट यस्तै कुराहरू सिक्न सक्छौँ । जापान जस्तो विकसित मुलुकले पनि अहिले केही समस्याहरू भोगिरहेको छ । ढिलो विवाह र व्यस्त जीवनको दबाबको कारण घट्दो जन्मदर र बढ्दो वृद्धहरूको संख्या जापानको चुनौती बन्दै गएको छ । त्यस्तै जापानमा पश्चिमी देशको प्रभावले सामाजिक, धार्मिक र सांस्कृतिक परिवर्तन आउन गई जापानको आफ्नोपनमा ह्रास हुने सम्भावना बढ्दै गएको छ । अहिले जापानमा विदेशीहरूको संख्या दिन प्रतिदिन बढ्दैछ र नेपालीहरू मात्रै झन्डै ३ लाख छन् । यसरी बढ्दै गएको विदेशीहरूको संख्या जापानी समुदायको लागि समस्या बन्दैछ ।

जापानीहरूलाई जापानको बारेमा पर्याप्त ज्ञान नभएका विदेशीहरूले जापानको संस्कृति, परम्परा र समुदायमा विकृति ल्याउँछन् कि भन्ने त्रास छ भने जापानी भाषा, संस्कृति, नियम कानुन आदिको ज्ञान नभएका विदेशीहरूले भाषा र संस्कृतिको समस्या, सामाजिक एक्लोपना र जटिल प्रशासनिक प्रक्रिया जस्ता विभिन्न कठिनाइ भोगिरहेका छन् । यस्तो अवस्थामा कतिपय नेपालीहरू आफ्नो जापान बस्ने समय अवधि नसकिँदै नेपाल फर्कने, आत्महत्या गर्ने लगायतका समाचार आउन थालेका छन् । गत १० महिनामा मात्र २५ जना नेपाली युवाहरूले जापानमा आत्महत्या गरेको समाचार छ । यस्ता घटनाहरू नेपाल र जापान दुवैको लागि दुःखद् हुन् र भविष्यमा यस्ता घटनाले नेपाल जापानको मैत्री सम्बन्धमा नै क्षति पुग्न सक्छ । दुवै मुलुकका सरकार, जापानी समुदाय एवं जापान जाने वा त्यहाँ बस्ने नेपालीहरूले यी समस्याहरूलाई समयमै गम्भीरतापूर्वक लिई आपसी समझदारीमा समाधानतर्फ लाग्नुपर्छ ।

यसको लागि सर्वप्रथम जापान जाने नेपालीहरूसँग कम्तीमा मान्यता प्राप्त जापानी संस्थाले लिने परीक्षामा एनफोर (एन–४) लेभलको जापानी भाषाको ज्ञान हुनु आवश्यक छ । जापानी भाषाको साथै, जापान जाने नेपालीहरूसँग जापानको संस्कृति, दैनिक जीवनयापन लगायतका विषयमा ज्ञान हुनु अति आवश्यक छ । जापान जाने नेपालीहरू भिसा प्राप्त भएपछि यी कुराहरूमा ध्यान नदिने र सीपसमेत नसिकी जापान जाने हुँदा अहिले त्यस्ता व्यक्तिहरू समस्यामा परेको देखिन्छ । त्यसको लागि जापान जाने नेपालीहरू खासगरी जो कुनै व्यवसाय वा कामको लागि जान्छन्, उनीहरूको लागि गुणस्तरीय अभिमुखीकरण कार्यक्रमको आवश्यकता छ । औपचारिकताको लागि मात्र दिइने अहिलेको अभिमुखीकरण कार्यक्रम प्रभावकारी छैन।

जापान जानुअघि दिइने अभिमुखीकरण कार्यक्रमको लागि युवा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपालस्थित जापानी राजदूतावास, जापानस्थित नेपाली राजदूतावास, जाइका, वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल जापान मैत्री सम्बन्धमा लामो समयदेखि निरन्तर रूपमा कार्यरत संघसंस्थाहरू बिचमा समन्वय गरी सम्बन्धित सबैको समन्वय र सहमतिमा गुणस्तरीय पाठ्यक्रम तयार गरी त्यसैको आधारमा जापानको विविध विषयमा ज्ञान भएका प्रशिक्षकहरूबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु अतिआवश्यक छ ।

जापानी भाषा अध्ययनको लागि नेपालमा अहिले धेरै भाषा स्कुल छन् । भाषा परीक्षाको लागि समेत जापानकै मान्यता प्राप्त परीक्षा प्रणाली (जेएलपिटी/जेएफटी) भएकाले यो प्रणालीअन्तर्गत कम्तीमा एन–४ लेभलको परीक्षा उत्तीर्ण गरेको र तोकिएको अभिमुखीकरण तालीम लिई प्रमाणपत्र प्राप्त व्यक्तिहरूलाई मात्र जापान पठाउने व्यवस्था गर्दा जापान जाने नेपाली र जापानी समुदाय दुवै लाभान्वित हुन्छन् । यसले जापानी समुदायमा नेपालीप्रतिको धारणा अझै सकारात्मक भई नेपाल जापानबीचको मैत्री सम्बन्ध सुमधुर बनाउन समेत सहयोग पुग्छ । हाल जापानलाई जापानी भाषा, संस्कृति, दैनिक जीवनयापन लगायतका विषयमा ज्ञान भएका दक्ष युवा जनशक्तिको खाँचो छ ।

नेपाली युवाहरूलाई रोजगारी चाहिएको छ । यस सन्दर्भमा हामीले संख्यात्मक मात्र नभई गुणात्मक पक्षमा ध्यान दिई नेपालबाट भाषा, संस्कृति लगायतको ज्ञान भएका र अभिमुखीकरण तालिम लिएका युवाहरू मात्र रोजगारीको लागि जापान पठाउने भरपर्दो र दिगो प्रणालीको विकास गरी त्यही प्रणालीमार्फत नै जापान पठाउनुपर्छ । यसले हालको नेपाल जापानमैत्री सम्बन्ध भोलिका दिनमा थप मजबुत हुँदै जापान जाने नेपाली युवाहरू र जापानी समुदाय दुवैलाई सहयोग पुग्नेछ । यसको लागि समयमै सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।

(लेखक नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) अध्यक्ष एवं नेपाल कृषि प्रवद्र्धन आयोजनाका टोली प्रमुख हुन् ।)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।