बागमतीका १३ जिल्लामा पर्यटन प्रवद्र्धन अभियान, होटल तथा पर्यटन मेला आयोजना गरिने

काठमाडौं । होटल संघ नेपाल (हान) बागमती प्रदेशले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने भएको छ ।

स्थानीय पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार तथा बजारीकरणलाई प्राथमिकतामा राख्दै संघले चालु आर्थिक वर्षभित्र होटल तथा पर्यटन मेला आयोजना गर्ने तयारी गरेको हो ।

संघको बुधबार बसेको पहिलो बैठकले प्रदेशको पर्यटन विकास र होटल व्यवसायको विस्तारसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ । बागमतीका सम्भावनायुक्त पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले पर्यटन मेला आयोजना गर्ने निर्णय बैठकले गरेको हो । मेलाका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरिने संघले जनाएको छ । स्थानीय स्तरमा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्दै ती गन्तव्यमा पर्यटकको पहुँच बढाउने संघको योजना छ ।

संघले बागमती प्रदेशका सबै १३ जिल्लामा संगठन विस्तार गर्ने निर्णयसमेत गरेको छ । भदौ महिनाभित्र जिल्ला समिति गठन गर्ने र त्यससँगै प्रत्येक जिल्लामा ‘पर्यटन संवाद’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । संवादमार्फत स्थानीय सरकार, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाबीच प्रत्यक्ष छलफल गरी स्थानीय पर्यटनका समस्या, सम्भावना र आवश्यकताबारे जानकारी लिइनेछ । स्थानीय तहमा पहिचान भएका समस्या तथा सम्भावनालाई नीतिगत तहसम्म पुर्‍याउनुका साथै नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन संवाद कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ ।

होटल क्षेत्रमा नयाँ लगानी तथा पूर्वाधार विस्तारलाई सहज बनाउन २५ कोठासम्मका होटल तथा आवासीय प्रतिष्ठानका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अनिवार्य नहुने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । संघले विद्यमान वातावरणीय प्रक्रिया सरल, व्यावहारिक र लगानीमैत्री बनाउनुपर्नेमा जोड दिएको छ । त्यस्तै, होटल व्यवसायलाई उद्योगसरह मान्यता दिई उद्योगले पाउने सुविधा उपलब्ध गराउनुपर्ने मागलाई पनि संघले प्राथमिकतामा राखेको छ । यस विषयमा सरकारका सम्बन्धित निकायसमक्ष औपचारिक रूपमा माग प्रस्तुत गर्ने निर्णय गरिएको छ ।

संघको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन विभिन्न समिति गठन गरिएको छ । प्रचार विभाग संयोजक विनोद जिरेलको संयोजनमा तीन सदस्यीय प्रचार समिति, कोषाध्यक्षको संयोजनमा तीन सदस्यीय आर्थिक समिति तथा वरिष्ठ सल्लाहकार घनश्याम श्रेष्ठको संयोजनमा कार्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

हान बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले प्रदेशमा पर्यटकीय सम्भावना भएका धेरै गन्तव्य रहे पनि पर्याप्त प्रचार तथा बजारीकरण हुन नसकेको बताए । उनका अनुसार अब त्यस्ता गन्तव्यको पहिचानदेखि प्रचार, बजारीकरण र पर्यटन व्यवसायसँग जोड्ने कामलाई संस्थागत रूपमा अघि बढाइनेछ ।

“सम्भावना भएका गन्तव्य धेरै छन्, तर तिनको व्यवस्थित प्रचार र बजारीकरण हुन सकेको छैन,” बकेले भने, “अब संस्थागत संरचनामार्फत गन्तव्य पहिचानदेखि प्रचार, बजारीकरण र पर्यटन व्यवसायसँग जोड्ने कामलाई प्रभावकारी बनाउनेछौँ ।”

संघले आगामी दिनमा पर्यटन पूर्वाधार विकास, नीतिगत सुधार, होटल व्यवसायीको हकहित तथा नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने जनाएको छ । सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य बलियो बनाउँदै पर्यटन क्षेत्रलाई रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विकास र समग्र आर्थिक गतिविधिसँग जोड्ने संघको लक्ष्य रहेको छ ।