पहिरोको त्रास : पानी पर्नासाथ छिमेकीको घरमा आश्रय लिँदै सात परिवार

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीका बासिन्दा पहिरोको निरन्तर जोखिमका कारण त्रासमा बाँचिरहेका छन् ।

गत साउन २६ गतेदेखि गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै बस्तीका सात घर उच्च जोखिममा परेका छन्। पानी पर्न थालेपछि जोखिममा रहेका परिवार घर छाडेर छिमेकीको घरमा आश्रय लिन बाध्य छन् ।

रातापानीकी मीना बोहराका अनुसार पहिरो रोकिएला भन्ने आशा गरे पनि लगातार जमिन चर्किने र पहिरो खस्ने क्रम नरोकिएपछि घरमै बस्नसमेत डर लाग्ने गरेको छ। उनका अनुसार पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै घरसमेत जोखिममा पारेको छ। “पानी पर्न सुरु हुनेबित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ। निरन्तरको पहिरोले त्रसित बनाएको छ,” उनले भनिन् । रातापानीकै भुवन बोहराको भान्सा र शौचालयमा समेत क्षति पुगेको छ। पहिरो कतिबेला घरभित्र पस्ने हो भन्ने त्रासमा दिनरात बिताउनुपरेको उनले बताए । “डराइ–डराइ बस्नुपरेको छ। पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ,” उनले भने ।

गत साउन २६ गतेको पहिरोपछि रातापानी टोलका रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराका घर उच्च जोखिममा परेका छन्। लगातार पहिरो खसिरहेकाले बस्तीका अन्य घरसमेत जोखिममा पर्न सक्ने स्थानीयको भनाइ छ । स्थानीय लालबहादुर बोहराका अनुसार यहाँ विसं २०७८ देखि पहिरो जान थालेको हो। त्यसयता पटकपटक पहिरो खस्दै आएको भए पनि दीर्घकालीन रोकथामका लागि प्रभावकारी काम हुन नसकेको उनको गुनासो छ । “पटकपटक दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छौँ। तर सुनुवाइ भएन,” उनले भने, “अहिले पहिरोको जोखिम झन् बढेको छ। पानी पर्दा घर छोडेर छिमेकीकोमा जानुपर्ने अवस्था छ ।”

स्थानीयले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै दीर्घकालीन रूपमा बस्ती नै सार्नुपर्ने माग गरेका छन् । घरमाथिको जमिन चर्किएको, खानेपानीको समस्या रहेको तथा पहिरोले बाटोसमेत बगाएपछि दैनिक जीवन थप कठिन बनेको स्थानीय कृष्ण बोहराले बताए । “घरमाथिको सबै जमिन चर्किएको छ। खानेपानीको पनि समस्या छ। बालबालिकालाई विद्यालय जानसमेत बाटो छैन,” उनले भने, “दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो ।”

४० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति

पहिरोका कारण रातापानी क्षेत्रमा ४० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको छ। स्थानीय गम्भीर बोहराका अनुसार उनको मात्रै करिब १५ रोपनीभन्दा बढी जमिन पहिरोले बगाएको छ । “मकै लगाएको सबै खेतीयोग्य जमिन पहिरोले बगायो। घर पनि जोखिममा छ। अब जाने कहाँ?” उनले दुःख व्यक्त गर्दै भने।

वडाध्यक्ष भानबहादुर बोहराका अनुसार पहिरोले उक्त क्षेत्रमा ४० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। बाँकी जमिनसमेत चर्किएकाले आगामी दिनमा थप क्षति हुन सक्ने जोखिम रहेको उनले बताए । खेतीयोग्य जमिनमा क्षति पुगेपछि स्थानीयको जीविकोपार्जनसमेत प्रभावित भएको छ । घर जोखिममा पर्नुका साथै खेतबारीसमेत गुम्ने अवस्था आएपछि स्थानीय परिवारलाई अब कहाँ सुरक्षित बस्ने भन्ने चिन्ता थपिएको छ ।

प्रजिअ नेतृत्वको टोलीद्वारा निरीक्षण

पहिरोबाट प्रभावित क्षेत्रको शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्याल नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा प्रजिअ अर्यालले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनका अनुसार प्रभावित परिवारका लागि टेन्ट, त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न सरोकारवाला निकायसँग समन्वय भइरहेको छ । पहिरोका कारण प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भए पनि अहिले सञ्चालनमा आइसकेको र खानेपानीको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताइन् ।

पहिरोले स्थानीय सडकसमेत बगाएपछि विद्यार्थीलाई विद्यालय पुग्न थप कठिन भएको छ । यसअघि करिब आधा घण्टाको दूरीमा रहेको विद्यालय पुग्न अहिले बाटो बिग्रिएका कारण डेढ घण्टासम्म लाग्ने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार तत्काल राहत र सुरक्षित स्थानान्तरणसँगै पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक छ । जोखिममा रहेका घर तथा खेतीयोग्य जमिनको संरक्षण गर्न भू–प्राविधिक अध्ययन, पहिरो नियन्त्रणका संरचना निर्माण तथा सुरक्षित बस्ती व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिएको छ ।