जनकपुरधाम । जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्वका पोखरी अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत गुठी संस्थानले अतिक्रमित संरचना हटाउन डोजर चलाउन थालेको छ ।
संस्थानले जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट अतिक्रमित संरचना हटाउने काम सुरु गरेको हो ।
गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार पोखरीको जग्गामा निर्माण गरिएका संरचना हटाउन पटकपटक सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई आफैँ संरचना हटाउन आग्रह गरिएको थियो । सूचनाको बेवास्ता भएपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायसँगको समन्वयमा डोजर प्रयोग गरी संरचना हटाउन थालिएको उनले बताए ।
संस्थानले जनकपुरधामका सातवटा पोखरीमा भएको अतिक्रमणको लगत सङ्कलन गरी जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ। लगत सङ्कलनका क्रममा केही पोखरी क्षेत्रमा ठूलो परिमाणमा जग्गा अतिक्रमण भएको पाइएको छ भने कतिपय स्थानमा सामान्य प्रकृतिको अतिक्रमण रहेको संस्थानले जनाएको छ ।
प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी रहेका छन् । ती पोखरीसहित मठमन्दिर तथा अन्य गुठी सम्पत्तिमा भएको अतिक्रमण हटाउन प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले विभिन्न स्थानमा स्थलगत अध्ययन तथा लगत सङ्कलन गरी तयार पारेको विवरणसहितको प्रतिवेदन गुठी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा अतिक्रमित गुठी सम्पत्ति खाली गराउने प्रक्रिया अघि बढाइएको हो ।
संस्थानका अनुसार जनकपुरधाममा करिब २२ देखि २५ बिघा गुठी जग्गा अतिक्रमणमा परेको अनुमान छ । रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा तथा बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमण भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
जनकपुरधामका पोखरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छन् । लामो समयदेखि अतिक्रमणमा परेका पोखरी तथा गुठी जग्गा संरक्षण गर्न अतिक्रमित संरचना हटाउने काम अघि बढाइएको गुठी संस्थानले जनाएको छ । अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरिने बताइएको छ । अतिक्रमित संरचना हटाएपछि पोखरी तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनमा थप काम अघि बढाउने संस्थानको तयारी छ ।


































