बालिका हत्याप्रति घिसिङको आपत्ति, दोषीलाई कारबाहीको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारामा बालिकाको हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष घिसिङले शनिबार भदौ ६ गते विज्ञप्ति जारी गर्दै घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका हुन् ।

बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१, दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराएकी तीन वर्षीया बालिकाको शव भदौ २ गते सोही क्षेत्रको एउटा घरमा फेला परेको थियो । प्रहरीका अनुसार बालिकाको करणीपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनालाई जघन्य अपराधको संज्ञा दिँदै घिसिङले बालबालिकाको सुरक्षा तथा उनीहरूको संरक्षणमा राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।

उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र प्रभावकारी अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।

उज्यालो नेपाल पार्टीले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्यका निकाय अझ जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिएको छ । साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी सुरक्षा व्यवस्था तथा आवश्यक कानुनी र संस्थागत सुधार गर्नसमेत माग गरिएको छ ।