इन्दिरा राना र बादलको अर्मादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रयोग गरेका केही आपत्तिजनक तथा अमर्यादित शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले प्रयोग गरेका तीन तथा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रयोग गरेका चार वटा शब्दलाई सभामुखको निर्देशनमा अभिलेखबाट हटाइएको हो । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुवै सांसदले यसअघि विभिन्न बैठकमा बोल्ने क्रममा प्रयोग गरेका शब्दहरू संसदीय मर्यादा र अभ्यासअनुकूल नभएको भन्दै रेकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख अर्यालले भदौ १ गते बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद राना मगरले आफ्नो धारणा राख्ने क्रममा प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्दलाई अमर्यादित तथा अनावश्यक भएको ठहर गर्दै अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । त्यसैगरी एमाले संसदीय दलका नेता रामबहादुर थापाले भदौ ३ गतेको बैठकमा प्रयोग गरेका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दलाई पनि अभिलेखबाट हटाइएको छ । सभामुखले यी शब्दहरूलाई समेत संसदीय मर्यादा र नेपालको शासकीय अभ्याससँग जोडेर हेर्दा उपयुक्त नहुने भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

सोमबारको बैठकमा सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिँदै भने, “मिति २०८१ भदौ १ गतेको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति २०८३ भदौ ३ गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले प्रयोग गर्नुभएका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।”

सभामुखको निर्देशनपछि ती शब्दहरू प्रतिनिधि सभा बैठकको आधिकारिक अभिलेखमा नरहने भएका छन् । संसदमा सांसदहरूले आफ्नो राजनीतिक धारणा, सरकारको कामकारबाही, नीति तथा निर्णयमाथि आलोचना र प्रश्न उठाउन पाउने भए पनि त्यस्तो अभिव्यक्ति संसदीय मर्यादा र स्थापित अभ्यासअनुकूल हुनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा बैठकमा सांसदहरूले बोल्ने क्रममा प्रयोग गरेका शब्द र अभिव्यक्तिमाथि सभामुखले आवश्यक निगरानी राख्ने तथा संसदीय मर्यादा विपरीत देखिएका शब्द हटाउन निर्देशन दिने अभ्यास रहँदै आएको छ । बैठकमा प्रयोग भएका शब्दले कुनै व्यक्ति, समुदाय, संस्था वा मुलुकप्रति अपमानजनक अर्थ दिने अवस्था सिर्जना गरेमा सभामुखले त्यसलाई अभिलेखबाट हटाउन सक्ने संसदीय अभ्यास छ ।

यसै सन्दर्भमा सभामुख अर्यालले सांसदहरूलाई छिमेकी तथा मित्रराष्ट्रहरूको शासकीय अभ्यासलाई नेपालसँग तुलना गर्दा विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन्। उनले मित्रराष्ट्रका शासन प्रणाली वा अभ्यासका विषयलाई गलत अर्थ लाग्नेगरी नेपालको शासकीय अभ्याससँग जोडेर प्रस्तुत नगर्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् । सभामुखको यो निर्देशन विशेषगरी ‘पाकिस्तानी मोडल’ र ‘नर्थ कोरिया मोडल’ जस्ता शब्द प्रयोगको सन्दर्भमा आएको हो । संसदमा राजनीतिक बहसका क्रममा विभिन्न मुलुकका शासन प्रणाली र राजनीतिक अभ्यासको उदाहरण प्रस्तुत हुने गरे पनि त्यसलाई नेपालको सन्दर्भमा प्रयोग गर्दा संवेदनशीलता अपनाउनुपर्ने सभामुखको भनाइ छ ।

नेपालको संघीय संसदमा सांसदहरूले सरकारका कामकारबाहीमाथि आलोचना गर्न, नीतिगत कमजोरी औंल्याउन तथा वैकल्पिक धारणा प्रस्तुत गर्न पाउने संवैधानिक अधिकार छ । तर त्यस्तो अधिकार प्रयोग गर्दा संसदको गरिमा र मर्यादा कायम राख्नुपर्ने हुन्छ । यही कारण संसदभित्र प्रयोग हुने भाषामाथि सभामुखको भूमिका महत्वपूर्ण मानिन्छ । पछिल्लो समय प्रतिनिधि सभा बैठकमा राजनीतिक दलहरूबीचको तीखो बहससँगै सांसदहरूको अभिव्यक्ति पनि विवादमा पर्ने गरेका छन् । सरकारका निर्णय, विपक्षी दलका गतिविधि, राजनीतिक नेतृत्वको कार्यशैली तथा सार्वजनिक नीतिका विषयमा छलफल गर्दा सांसदहरूले कडा शब्द प्रयोग गर्ने गरेका छन्। कतिपय अवस्थामा त्यस्ता अभिव्यक्तिलाई लिएर संसदभित्रै आपत्ति जनाउने र अभिलेखबाट हटाउन माग गर्ने अवस्था समेत देखिँदै आएको छ ।

संसदमा बोलिएका सबै शब्द स्वतः अभिलेखमा कायम रहने भए पनि संसदीय मर्यादा विपरीतका शब्द हटाउने अधिकार सभामुखसँग रहन्छ । सभामुखले बैठक सञ्चालनका क्रममा सांसदहरूलाई मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिने गरेका छन् । त्यसका बाबजुद प्रयोग भएका आपत्तिजनक शब्दलाई पछि पहिचान गरी अभिलेखबाट हटाउने अभ्यास पनि हुँदै आएको छ । राना मगर र थापाले फरक–फरक बैठकमा प्रयोग गरेका शब्द हटाउने निर्णयले पनि संसदमा अभिव्यक्तिको स्वतन्त्रता र संसदीय मर्यादाबीच सन्तुलन कायम गर्नुपर्ने विषयलाई पुनः चर्चामा ल्याएको छ । सांसदहरूले राजनीतिक विषयमा निर्भीक रूपमा आफ्ना धारणा राख्न पाउने भए पनि व्यक्तिगत अपमान, अशोभनीय सम्बोधन वा कुनै देशको शासन प्रणालीलाई गलत अर्थ लाग्नेगरी प्रस्तुत गर्ने भाषाप्रति भने संसदले संवेदनशीलता अपनाउने गरेको छ ।

सभामुख अर्यालले सोमबार दिएको निर्देशनसँगै आगामी दिनमा प्रतिनिधि सभा बैठकमा सांसदहरूको भाषाशैलीलाई लिएर थप सजगता अपनाउनुपर्ने सन्देश पनि गएको छ । संसद देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएकाले त्यहाँ हुने बहस र अभिव्यक्तिले राजनीतिक संस्कार तथा सार्वजनिक संवादको स्तरलाई समेत प्रभाव पार्ने गर्छ । यसकारण राजनीतिक मतभेद र सरकारका कामकारबाहीमाथिको आलोचनालाई संसदीय प्रक्रियाभित्रै प्रभावकारी रूपमा उठाउँदै गर्दा भाषा र अभिव्यक्तिमा मर्यादा कायम राख्नुपर्नेमा सभामुखले जोड दिएका छन् । मित्रराष्ट्रसँग सम्बन्धित विषयमा पनि संवेदनशील शब्द चयन गर्न र नेपालको शासन व्यवस्थासँग तुलना गर्दा तथ्य तथा सन्दर्भ स्पष्ट राख्न सांसदहरूलाई उनले सचेत गराएका छन् ।

सोमबारको निर्देशनपछि राना मगर र थापाले प्रयोग गरेका उल्लेखित शब्दहरू संसदको आधिकारिक अभिलेखमा नरहने भएका छन् । साथै, आगामी बैठकहरूमा सांसदहरूले बोल्दा संसदीय मर्यादा, कूटनीतिक संवेदनशीलता र अभिव्यक्तिको जिम्मेवारीलाई ध्यान दिनुपर्ने सन्देश सभामुखको निर्देशनले दिएको छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।