मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका एक वर्षमा १४४ युवकको मृत्यु

जनकपुर। गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्येबाट १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ । त्यस वर्ष एक लाख ७९ हजार ३९ जना व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए ।

सुरक्षित आप्रवासन (सामी),ले मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिए । धनुषाबाट ३८ हजार ५५३, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३, सिरहाबाट ३० हजार २११, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट सात हजार ९७७ जना वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा जाने महिलाको सङख्या सर्लाहीबाट एक हजार ३८९, बाराबाट एक हजार ८८, रौतहटबाट ५२५, पर्साबाट ३३८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सप्तरीबाट २६९ र सिरहाबाट ३०४ छन् । यसैगरी, सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रमा सेवा तथा परामर्श लिनेको सङख्या कूल ६३ हजार १४० रहेको छ । जसमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति हुन् ।

श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माले गत आर्थिक वर्ष २०८२/८३ मा ६७५ समस्या समाधान गरिएको बताए । उनले १५९ पीडितलाई पीडकबाट २२ करोड १ लाख ७८ हजार ४०३ फिर्ता गरिएको जानकारी दिए । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, सीप, लागत, बीमा, कानुनी अधिकारलगायतका विषयमा सूचना तथा परामर्श प्रदान गर्दै आएको छ ।

श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । वैदेशिक रोजगारीमा जानुअघि सही सूचना प्राप्त गर्न सके ठगी, बढी लागत, अवैध बाटोबाट हुने प्रस्थान तथा रोजगारसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धन्जयकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।