भक्तपुर । भक्तपुरको परम्परागत गाईजात्रा अर्थात् ‘सापारु’ केवल घिन्ताङघिसी, तहामचा र भैलद्योको प्रदर्शनमा मात्र सीमित छैन ।
यस पर्वसँग जोडिएका थुप्रै मौलिक संस्कार र परम्परा छन्, जसमध्ये गाईजात्राको दिन पूर्व फर्केका नौ वटा ढुंगेधारा खोज्दै हिँड्ने ‘गुपु हिटी सिकेगु’ परम्परा पनि महत्वपूर्ण मानिन्छ । पछिल्लो समय ओझेलमा पर्दै गएको यही सांस्कृतिक परम्परालाई नयाँ पुस्ताले पुनर्जीवन दिने प्रयास थालेको छ ।
भक्तपुर नगरपालिका–८ लिवालीस्थित निओ फ्युजन बाजा समूहले गाईजात्राको अवसर पारेर ‘गुपु हिटी सिकेगु’ कार्यक्रम आयोजना गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको मौलिक परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई यसको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष सविन लेबाले बताए ।
कार्यक्रममा नेवारी मौलिक पोसाकमा सजिएका सयौँ सहभागी धाँ, धिमे र बाँसुरीलगायत परम्परागत बाजा बजाउँदै भक्तपुरका विभिन्न स्थानमा रहेका पूर्व फर्केका नौ वटा ढुंगेधारा खोज्दै पुगेका थिए । बाजागाजासहित ढुंगेधाराको परिक्रमा गर्दै सहभागीले पुस्तौँदेखि चलिआएको परम्परालाई निरन्तरता दिएका थिए ।
परम्पराअनुसार गाईजात्राको दिन नौ वटा ढुंगेधारामा मुख धुने, नौ जोडी लुगा फेर्ने, नौ थरी परिकार खाने र नौ पटक भक्तपुर नगर परिक्रमा गर्ने चलन रहेको अध्यक्ष लेबाले बताए । यही परम्पराको एक महत्वपूर्ण पक्षका रूपमा पूर्व फर्केका नौ वटा ढुंगेधारा चिन्न र त्यहाँ पुगेर मुख धुने चलन रहेको उनको भनाइ छ ।
पाँच वर्षदेखि निरन्तरता
‘गुपु हिटी सिकेगु’ परम्परा पछिल्लो पुस्तामा हराउँदै जान थालेपछि निओ फ्युजन बाजा समूहले करिब पाँच वर्षदेखि हरेक वर्ष गाईजात्राको अवसरमा कार्यक्रम गर्दै आएको छ । यसले युवापुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न सहयोग पुगिरहेको समूहको विश्वास छ ।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार विगतमा भक्तपुरका स्थानीयवासी बिहानै नेवारी मौलिक पोसाकमा सजिएर बाजागाजासहित ‘गुपु हिटी सिकेगु’ भन्दै नौ वटा ढुंगेधारा पुग्ने गर्थे । तर आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण पछिल्ला वर्षमा यो परम्परा क्रमशः हराउँदै गएको उनले बताए ।
“आजभोलि नयाँ पुस्ताले बाजागाजामा रुचि राखेजस्तै नौ वटा पूर्व फर्केका ढुंगेधारा चिन्न जाने परम्परालाई पनि सँगसँगै अघि बढाउने प्रयास गरेकोमा खुसी लागेको छ,” श्रेष्ठले भने । उनका अनुसार भक्तपुरमा सामान्यतः पश्चिम तथा दक्षिणतर्फ फर्किएका ढुंगेधारा पाइने भए पनि पूर्व फर्केको ढुंगेधारा पनि हुनुपर्छ भन्ने मान्यताका आधारमा त्यस्ता धारा निर्माण गरिएको इतिहास छ । गाईजात्राको दिन ती पूर्व फर्केका ढुंगेधारामा पुगेर मुख धुने परम्परा पनि सोही सांस्कृतिक मान्यताको निरन्तरता भएको उनले बताए ।
मल्लकालीन ढुंगेधाराको यात्रा
भक्तपुरमा पूर्व फर्केका ढुंगेधारा खोज्ने परम्परा सूर्यविनायक गणेश मन्दिर नजिक रहेको ढुंगेधाराबाट सुरु भएर भक्तपुरको तचपाल अर्थात् दत्तात्रयस्थित भिंद्यो हिटीमा पुगेर समापन हुने गर्दछ ।
यस क्रममा सूर्यविनायक गणेश मन्दिर नजिकको ढुंगेधारा (इनारे गणेद्य नपाँच्वंगु हिटी), इनारे (सूर्यविनायक) लुखा हिटी, भार्वाचो बजिगांछा हिटी, नासमना दबू हिटी, तःमारी धभारी चुक हिटी, भुलुचुलु हिटी, तिबुक्छें हिटी, भध्वाका हिटी र तचपाल भिंद्यो हिटी गरी नौ वटा ढुंगेधाराको परिक्रमा गरिन्छ ।
संस्कृतिविद् श्रेष्ठका अनुसार यी ढुंगेधारा मल्लकालीन समयमा निर्माण भएका हुन् । ढुंगेधारा भक्तपुरको प्राचीन सहरी सभ्यता, पानी व्यवस्थापन प्रणाली र सांस्कृतिक जीवनसँग जोडिएका महत्वपूर्ण सम्पदा हुन् । त्यसैले धार्मिक तथा सांस्कृतिक परम्परासँगै यिनको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
पानी सुक्दै, सम्पदा मासिँदै
कार्यक्रममा सहभागी बालकृष्ण बनमालाले नौ वटा ढुंगेधारामध्ये केहीमा पानी आउन छाडिसकेको र केही ढुंगेधारा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको बताए । पानी आउने ढुंगेधारा पनि पर्याप्त रूपमा व्यवस्थित नभएको उनको भनाइ छ ।
“पानी नआउने ढुंगेधारा त झन् लोप हुने अवस्थामा छन्,” निओ फ्युजन स्कुल अफ कम्प्युटरका सञ्चालकसमेत रहेका बनमालाले भने, “पूर्व फर्केका ढुंगेधारा खोज्ने वा त्यहाँ मुख धुन जाने परम्परा नै मासियो भने ढुंगेधारा पनि मासिँदै जाने र तिनको अस्तित्व नै समाप्त हुन सक्छ ।”
उनका अनुसार परम्परालाई पुस्तान्तरण गर्न सके ढुंगेधाराको महत्व नयाँ पुस्ताले बुझ्ने र संरक्षणका लागि स्थानीय समुदायमा चासो बढ्नेछ । त्यसैले सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुका साथै ढुंगेधाराको पुनःस्थापना, पानीको स्रोत संरक्षण र पूर्वाधार सुधारमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता छ ।
गाईजात्राका क्रममा आयोजना गरिएको ‘गुपु हिटी सिकेगु’ कार्यक्रमले एकातर्फ भक्तपुरको मौलिक संस्कृतिलाई जीवन्त राख्ने प्रयास गरेको छ भने अर्कोतर्फ ऐतिहासिक ढुंगेधाराको संरक्षणप्रति नयाँ पुस्ताको ध्यान तान्ने कामसमेत गरेको छ । आधुनिकतासँगै हराउँदै गएका यस्ता परम्परालाई पुस्तान्तरण गर्न सके भक्तपुरको सांस्कृतिक पहिचानसँग जोडिएका सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने देखिन्छ ।


































