सुरुङभित्र लेदो, उद्धारमा कठिनाइ

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

सुरुङभित्रको अवस्था अत्यन्त जोखिमपूर्ण र चुनौतीपूर्ण देखिएपछि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोही तथा सिम्रिक हेलिकप्टरको टोलीले सुरुङभित्र प्रवेश गरी अवस्थाको मूल्याङ्कन गर्दै उद्धारको प्रयास गरेको हो ।

उद्धारमा खटिएको टोलीले सुरुङभित्र करिब १२० देखि १३० मिटर सम्म प्रवेश गरेर अवस्थाको निरीक्षण गरेको जनाएको छ । टोलीले डोरीको सहायताले सुरक्षित रूपमा सुरुङभित्र प्रवेश गरेको थियो । तर सुरुङभित्र गहिरो हिलो, माटो र लेदो जमेकाले उद्धारमा ठूलो कठिनाइ भएको टोलीले जनाएको छ ।

टोलीका अनुसार सुरुङभित्र छातीसम्म आउने गरी हिलो र लेदो जमेको छ । जसका कारण उद्धारकर्मीलाई थप अगाडि बढ्न निकै कठिन भएको थियो । सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको स्थानसम्म पुग्न नसकिएपछि तत्कालका लागि प्रत्यक्ष रूपमा फसेका व्यक्तिहरूसम्म पुग्न सम्भव नभएको टोलीले जनाएको छ ।

सुरुङभित्र जमेको हिलो र लेदो हटाउन सके उद्धारको सम्भावना बढ्ने टोलीको निष्कर्ष छ । त्यसका लागि होज पाइप तथा पम्प र मोटर प्रणालीको प्रयोग गरी सुरुङभित्र जम्मा भएको पानी, हिलो तथा लेदो बाहिर निकाल्नुपर्ने सुझाव दिइएको छ । अवरुद्ध भाग सफा गर्दै सुरुङभित्र जाने बाटो खुलाउन सके फसेका व्यक्तिहरूसम्म पुग्न सकिने विश्वास टोलीले व्यक्त गरेको छ ।

उद्धारका क्रममा सुरुङबाहिर एक जना मृत अवस्थामा फेला परेका छन् । खोजीका क्रममा भेटिएको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरी घटनास्थलबाट बाहिर ल्याएको थियो । सुरुङभित्र अझै व्यक्तिहरू फसेको आशंकामा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

सुरुङभित्रको अवस्था जोखिमपूर्ण भएकाले उद्धारमा संलग्न टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै काम गरिरहेको जनाएको छ । गहिरो हिलो र लेदोका कारण सुरुङभित्रको भौतिक अवस्था कमजोर तथा जोखिमपूर्ण हुन सक्ने भएकाले उद्धारमा प्राविधिक उपकरणको प्रयोग आवश्यक देखिएको छ ।

उद्धार टोलीले सुरुङभित्रको अवरोध हटाउन आवश्यक उपकरण तथा प्रविधिको प्रयोग गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ । विशेषगरी पम्प र मोटरको सहायताले हिलो तथा पानी हटाउने काम प्राथमिकतामा राख्नुपर्ने टोलीको भनाइ छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका पर्वतारोहीहरूले कठिन तथा जोखिमपूर्ण भूगोलमा उद्धारको अनुभवका आधारमा सुरुङभित्र प्रवेश गरेर अवस्थाको मूल्याङ्कन गरेका हुन् । टोलीले आफूहरू आवश्यक परेको अवस्थामा थप खोज तथा उद्धारका लागि परिचालन हुन तयार रहेको जनाएको छ ।

सरकारले जहाँ र जुनसुकै समयमा परिचालनका लागि आह्वान गरे पनि आफूहरू खोज तथा उद्धार कार्यमा सहयोग गर्न तयार रहेको टोलीले स्पष्ट पारेको छ । उद्धार कार्यमा पर्वतारोही आशिष गुरुङ, दोर्जी शेर्पा, जेन्जेन लामा, सविन ठकुरी, तुलिसिङ गुरुङ र पासाङ तेण्डी शेर्पा सहभागी थिए ।

सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकेको अवस्थामा उद्धार टोलीले सुरुङको अवरोध हटाएर भित्रसम्म पुग्ने प्रयास गरिरहेको छ । घटनास्थलमा नेपाली सेना लगायतका सुरक्षा निकाय र सम्बन्धित टोलीहरू समेत खोज तथा उद्धारमा परिचालित छन् । अवरुद्ध सुरुङ खुलाउन सकिएमा फसेका व्यक्तिहरूको उद्धार गर्न सहज हुने अपेक्षा गरिएको छ । 

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।