भोटेकोशी बाढी : ११ दिनमा दुई जनाले पाए नयाँ जीवन

काठमाडौं । भोटेकोसी बाढी आएको एघारौं दिन शनिबार खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीले दुई जनालाई जीवितै उद्धार गरेका छन् । बाढीमा परी सयौंको ज्यान गएको र हजारौं मानिस सम्पर्कविहीन रहेका बेला नुवाकोट र रसुवामा खटिएको उद्धार टोलीले दुई जनालाई नयाँ जीवन दिएको हो ।

शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका–१० स्थित वेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई अचेत अवस्थामा उद्धार गरिएको हो । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीले पुरिएको घरभित्र खोजी गर्ने क्रममा श्रेष्ठलाई फेला पारेको थियो । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा रहेको टोलीले श्रेष्ठलाई घरको चौथो तलामा हिलोमा गाडिएको अवस्थामा फेला पारेको हो । बाढीका कारण घरको अधिकांश भाग पुरिएको थियो । घरभित्र रहेका सामग्री हटाउँदै खोजी गर्ने क्रममा उद्धार टोलीले मानिस कराएको जस्तो आवाज सुनेपछि थप खोजी गर्दा श्रेष्ठ फेला परेकी थिइन् । खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल १९ नम्बर गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र राउतका अनुसार घरभित्रबाट आवाज सुनेपछि टोलीले तत्काल उद्धारको प्रयास थालेको थियो । लामो समयसम्म हिलो र भग्नावशेषभित्र रहेकी श्रेष्ठलाई सुरक्षित रूपमा बाहिर निकालेर थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उद्धारका क्रममा अचेत अवस्थामा रहेकी श्रेष्ठ अहिले होसमा आएकी छन् । एघार दिनसम्म बाढीले पुरिएको घरभित्र रहेर पनि उनी जीवित भेटिनुलाई उद्धार टोलीले असाधारण घटना मानेको छ । त्यसैगरी, नेपाली सेना र कोरियाली उद्धार टोलीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको छ । नेपाली सेनाका अनुसार उनलाई आयोजनाको अडिट–४ सुरुङबाट उद्धार गरिएको हो ।

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकको अवस्था सामान्य रहेको बताइएको छ । उद्धारपछि उनलाई उपचारका लागि नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगिएको छ । भोटेकोसी बाढीपछि आयोजनाका सुरुङमा फसेका कामदारको खोजी तथा उद्धारका लागि नेपाली सेना र विदेशी उद्धार टोली निरन्तर परिचालन हुँदै आएका छन् । यसअघि शुक्रबार पनि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो । आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई उद्धार टोलीले सुरुङबाट बाहिर निकालेको थियो । दुवै जनाको स्वास्थ्य उपचार भइरहेको छ ।

भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । बाढीमा परी ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् भने सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको छ भने चार हजार ८८७ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न उद्धार टोली परिचालन भइरहेका छन् । बाढी आएको लामो समय बितिसक्दा पनि भग्नावशेष, सुरुङ तथा पुरिएका संरचनाभित्र मानिस जीवित भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । शनिबार दुई जनाको जीवितै उद्धार भएपछि उद्धारमा खटिएका टोलीमा मात्रै होइन, आफ्ना आफन्तको खोजीमा रहेका परिवारमा पनि आशा थपिएको छ ।