काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने तयारीमा आन्तरिक विवादले असर पुर्याएको छ ।
कांग्रेसले भदौ २४ गतेदेखि सुरु गर्ने भनिएको महाधिवेशनअन्तर्गतका वडा अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेसँगै निर्धारित कार्यतालिका प्रभावित भएको हो । आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडा अधिवेशनको मिति सार्ने निर्णय गरेको हो । नयाँ मिति तोक्ने सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन समितिलाई दिइएको छ । यससँगै कांग्रेसको महाधिवेशन प्रक्रिया केही दिन पछाडि धकेलिने निश्चित भएको छ ।
बैठकपछि सहमहामन्त्री योगेन्द्र चौधरीले वडा अधिवेशनको नयाँ मिति निर्वाचन समितिले तय गर्ने जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिले नयाँ मिति तोक्ने अधिकार निर्वाचन समितिलाई दिएको छ । ‘अब नयाँ मिति आउने भयो । जसको सम्पूर्ण अधिकार हामीले निर्वाचन समितिलाई दिने निर्णय गरेका छौँ,’ चौधरीले भने । यद्यपि उनले केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन नहुने स्पष्ट पारे । उनका अनुसार वडा तहको अधिवेशन केही दिन पर सारिए पनि केन्द्रीय महाधिवेशनको निर्धारित मितिमा असर नपर्ने गरी निर्वाचन प्रक्रिया अघि बढाइनेछ । कांग्रेसले नयाँ कार्यतालिका सार्वजनिक नगरे पनि असोज २ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेललगायत नेताहरू असोज २ बाट अधिवेशन प्रक्रिया अघि बढाउने पक्षमा रहेको स्रोतको भनाइ छ ।
महाधिवेशनको कार्यतालिका परिवर्तन गर्नुको प्रमुख कारण पार्टीभित्र देखिएको विवाद समाधानका लागि थप समय लिनु रहेको कांग्रेस नेताहरू बताउँछन् । पछिल्लो समय पार्टीभित्र असन्तुष्ट समूह र संस्थापन पक्षबीच बढेको दूरीका कारण महाधिवेशनको वातावरण प्रभावित हुँदै आएको थियो । यही अवस्थामा पार्टी सभापति गगन थापाले असन्तुष्ट नेताहरूसँग संवादलाई तीव्रता दिएका छन् । थापाले शनिबार नेता पूर्णबहादुर खड्कासँग र आइतबार नेता डा. शेखर कोइरालासँग छलफल गरेका थिए । यी भेटवार्तापछि पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशनको प्रक्रिया केही समय पछाडि सारेर भए पनि सहमतिको प्रयास गर्नुपर्ने धारणा बलियो बनेको हो । शेखर कोइरालानिकट एक नेताका अनुसार कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । त्यस क्रममा महाधिवेशनको मिति केही पर सारेर भए पनि सहमतिको वातावरण बनाउनुपर्ने सुझाव उनले दिएका थिए । सभापति थापाले पनि पार्टीभित्र सहमति कायम गरेर महाधिवेशनमा जाने प्रतिबद्धता व्यक्त गरेको ती नेताको भनाइ छ ।
पार्टीभित्रको विवाद समाधानका लागि संवादको वातावरण बनाउनकै लागि वडा अधिवेशन केही समय पर सार्ने निर्णय भएको कांग्रेस नेताहरूको बुझाइ छ । महाधिवेशनको प्रक्रिया केही दिन पछाडि सार्दा असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई समेत मूलधारमा फर्काउन सकिने संस्थापन पक्षको अपेक्षा छ । यसबीच संस्थापनइतर समूहका नेता रमेश लेखकले पनि पार्टी एकता जोगाउन अझै प्रयास गर्न सकिने बताएका छन् । आइतबार कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरू लामो समयदेखि प्रयासरत रहेको बताए । लेखकले करिब ११ महिनादेखि पार्टी एकताका लागि निरन्तर प्रयास भइरहेको दाबी गर्दै अहिले पनि पार्टीलाई विभाजनबाट जोगाउने सम्भावना रहेको बताए । उनले महाधिवेशनको विषयमा पनि सहमति खोज्नुपर्ने धारणा राखेका थिए ।
उनका अनुसार पार्टीभित्रको विवाद समाधान नभई महाधिवेशन अघि बढाउँदा त्यसले झन् ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले आवश्यक परे महाधिवेशनको प्रक्रिया रोकिएर भए पनि पार्टी एकता कायम गर्नुपर्ने उनको धारणा थियो । यसैबीच कांग्रेसको कार्यसम्पादन समितिले क्रियाशील सदस्यताको विषयमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले गत पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका तर डिजिटल प्रणालीमा आफ्नो विवरण अद्यावधिक गर्न नसकेका सदस्यलाई पनि आसन्न महाधिवेशनमा सहभागी हुने बाटो खुला गरेको छ । पार्टीका अनुसार पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिले पार्टी छाडिसकेको, मृत्यु भएको वा अन्य प्राविधिक तथा संगठनात्मक कारणले सदस्यता कायम नरहेको अवस्थामा बाहेक महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
यसअघि डिजिटल रूपमा सदस्यता अद्यावधिक नगरेका कतिपय सदस्यलाई महाधिवेशन प्रक्रियाबाट बाहिर पार्न सकिने अवस्था देखिएको थियो । त्यसले पार्टीभित्र थप असन्तुष्टि बढाउने सम्भावना थियो । पछिल्लो निर्णयले त्यस्ता सदस्यलाई समेटेर महाधिवेशनलाई बढी स्वीकार्य बनाउने प्रयास गरिएको कांग्रेस नेताहरूको भनाइ छ । सहमहामन्त्री चौधरीले डिजिटल अद्यावधिकलाई लिएर देखिएको विवाद समाधान गर्न पार्टी लचिलो बनेको बताए । उनका अनुसार पुससम्म सदस्यता नवीकरण गरेका व्यक्तिलाई केवल डिजिटल प्रणालीमा अद्यावधिक नभएको कारणले महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरिने निर्णय भएको हो । कांग्रेसको विशेष महाधिवेशनबाट संशोधित विधानमा गरिएको व्यवस्थाका कारण पालिका सभापतिहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । यसले महाधिवेशन प्रतिनिधिको संख्या र व्यवस्थापनमा थप जटिलता उत्पन्न हुन सक्ने भन्दै केही नेताले प्रश्न उठाएका थिए ।
बैठकमा पालिका सभापतिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था भए प्रदेशसभा क्षेत्रीय सभापतिहरूलाई पनि समान हैसियत दिनुपर्ने विषय उठेको थियो । त्यस क्रममा सभापति थापाले विधान निर्माणका क्रममा प्रदेशसभा क्षेत्रीय सभापतिहरूको विषय छुटेको भन्दै उनीहरूलाई पनि पालिका सभापतिहरूजस्तै स्वतः महाधिवेशन प्रतिनिधि बनाउने जानकारी गराएका थिए । बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको विवाद तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका थिए । सभापति थापाले आफू पार्टीभित्रको विवाद समाधानका लागि गम्भीर र जिम्मेवार भएर सबै पक्षसँग संवादमा रहेको बताएका थिए । यद्यपि उनले पूर्णबहादुर खड्का र शेखर कोइरालासँग भएका पछिल्ला भेटवार्ताबारे विस्तृत जानकारी बैठकमा नगराएको एक पदाधिकारीले बताए ।
बैठकको सुरुवातमै रसुवामा आएको विनाशकारी बाढीपहिरो र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गरिएको थियो । त्यसपछि पार्टीको आन्तरिक अवस्था, महाधिवेशनको तयारी, क्रियाशील सदस्यता तथा प्रतिनिधि व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । बैठकमा सहमहामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामा तथा नेताहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, मोहन आचार्य, प्राडा गोविन्दराज पोखरेल, भरतकुमार शाह र सुधीरकुमार शिवाकोटीलगायतले धारणा राखेका थिए । प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ र ललितजंग शाहीले पनि बैठकमा आफ्नो धारणा राखेका थिए ।
बैठकमा महाधिवेशनको तयारी र पार्टीभित्रको विवादबारे लामो छलफल भएपछि आइतबारको बैठक निष्कर्षमा नपुगी स्थगित गरिएको छ । बाँकी विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । वडा अधिवेशनको मिति परिवर्तन गर्ने निर्णयसँगै कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रभावित भएको छ । यद्यपि केन्द्रीय महाधिवेशनको मिति भने यथावत् राख्ने पार्टी नेतृत्वको दाबी छ । अब निर्वाचन समितिले नयाँ कार्यतालिका कसरी तय गर्छ र पार्टीभित्रको असन्तुष्टि कति हदसम्म समाधान हुन्छ भन्ने विषयले कांग्रेसको आगामी महाधिवेशनको दिशा निर्धारण गर्ने देखिएको छ ।प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































