काठमाडौं । माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ ।
सोमबार हाइड्रोमा फसेका आफन्तहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले माथिल्लो ३ बी मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ । रसुवा बाढीपछि त्रिशूली ३ बी जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । बाढीले आयोजनालाई पूर्ण रुपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजी कार्यको लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन । उक्त आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाई छ तर पीडितहरूले भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पन्छिन नमिल्लने बताउँछन् । बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली ३ बी मा कार्यरत कर्मचारी तथा कामदारहरूको खोजीकार्यमा सरकारले अदारुकता नदेखाएको बताइन् । उनको श्रीमान वरिष्ठ भूगर्भविद् सुमेश अमात्य हाल सम्पर्क विहीन छन् ।
गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकषर्ण गराउँदा पनि सरकारले चासो नदिएको उनको भनाई छ । सरकारले हेलिकप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदाले लिएर पठाएको उनको आरोप छ । उनले भनिन्, बाढी गएको ३/४ दिनमा नै हामी गृहमन्त्रालयमा ध्यानाकर्षण गराउन गएका थियौँ तर त्यहाँ हामीलाई भेट्न दिइएन । रेक्स्यू भइरहेको छ, किन आत्तिएको भन्नेकुरा उनीहरूले गरे । सरकारले रेस्क्यु गर्न नै जानेको रहेनछ, कुटो कोदालो बोकेर रेस्क्यू गर्न जाने हो, सरकार कति लाचार छ भन्ने यहीँबाट थाहा भयो नी त ।’
सरकारले हराएकोहरू जीवित भए जीवित र नभएमा शव भएपनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरूको भनाई छ । हेलिकप्टर लगायत अरु उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तिब्रता दिन उनीहरूले माग गरेका छन् । बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरूको भनाई छ । सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुस्याई गरेको उनीहरूको आरोप छ । ११ औँ दिनसम्म पनि जीवितै उद्धार भईरहकोले सरकारले समयमा नै त्रिशूली ३ बी मा पनि खोजी कार्य गरिदिएमा त्यहाँ रहेका मानिसहरूलाई सकुशल उद्धार गर्न सकिने आफन्तहरूको आश छ । सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरूले आग्रह गरेका छन् ।प्रर्दशनमा सहभागीहरूले ‘उद्धार गर्न कठिन छ झन उद्धार गर्न नहुने कुरा हुँदैन’, ‘कति घर बसेर कुरेर, रोएर दिन बिताउने हामी पीडित?’ ‘१३ दिन भईसक्यो र पनि उद्धारको सूचना खै?’, त्रिशूली ३ बी लाई प्राथमिकता दिनुस्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































