बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा थालिँदैछ खोप अभियान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको भन्दै सरकारले विशेष खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

बाढीका कारण खानेपानीका स्रोतमा क्षति, सरसफाइको अभाव, विस्थापन तथा ठूलो संख्यामा मानिसको अस्थायी बसोबासका कारण हैजा, झाडापखाला, टाइफाइडलगायत पानी तथा फोहोरबाट सर्न सक्ने रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको आकलन छ । सरकारले तत्कालका लागि मौज्दात रहेको हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लामा पठाउन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १ सय २३ डोज हैजाविरुद्धको खोप रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पठाइँदैछ । बाढीपछि स्वास्थ्य जोखिम बढेकाले सम्भावित महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

सरकारका अनुसार रसुवामा मुखबाट दिइने २१ हजार ६ सय डोज हैजाविरुद्धको खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ । दुर्गम तथा बाढीबाट सडक र यातायात संरचना प्रभावित भएका कारण खोपलगायत अत्यावश्यक स्वास्थ्य सामग्री स्थलमार्गबाट लैजान कठिन भएपछि सरकारले हेलिकप्टरमार्फत खोप पठाएको हो । रसुवामा भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । त्यस्तै नुवाकोटका बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्न ८० हजार ५ सय २३ डोज खोप स्थलमार्गबाट पठाउने काम भइरहेको सरकारले जनाएको छ । नुवाकोटमा पनि यो साताभित्रै खोप अभियान सुरु गर्ने तयारी छ । बाढी प्रभावित बस्ती तथा समुदायमा रोग फैलिन नदिन लक्षित जनसंख्यालाई समयमै खोप उपलब्ध गराउने सरकारको योजना छ ।

खोप अभियान वडा कार्यालयस्तरबाट सञ्चालन गरिनेछ । स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित क्षेत्रका नागरिकलाई खोप खुवाउने व्यवस्था मिलाइने सरकारको तयारी छ । एक वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिने योजना बनाइएको छ । बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको अवस्था कमजोर रहेकाले बालबालिका, वृद्धवृद्धा तथा अन्य जोखिममा रहेका समूहमा संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यापक रूपमा खोप दिन लागिएको हो । बाढीका कारण धेरै स्थानमा खानेपानीका मुहान, पाइपलाइन, शौचालय तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको छ । कतिपय प्रभावित परिवार सुरक्षित स्थानमा सारिएका छन् भने कतिपयले अस्थायी शिविर तथा सामूहिक स्थानमा बस्नुपरेको छ । यस्तो अवस्थामा सुरक्षित खानेपानीको अभाव र फोहोर व्यवस्थापनमा समस्या हुँदा पानीजन्य रोग फैलिने जोखिम उच्च हुने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । हैजा दूषित पानी वा खानेकुराबाट सर्ने संक्रामक रोग हो । बाढी तथा पहिरोपछि खानेपानीको स्रोत दूषित हुँदा यसको जोखिम झन् बढ्न सक्छ ।

हैजा फैलिएको अवस्थामा छोटो समयमै ठूलो संख्यामा मानिस संक्रमित हुन सक्ने भएकाले रोग देखिएपछि उपचार गर्नुभन्दा जोखिमयुक्त क्षेत्रमा पहिले नै रोकथामका उपाय अपनाउनु प्रभावकारी मानिन्छ । यही अवस्थालाई ध्यानमा राखेर सरकारले खोप अभियान अघि बढाउन लागेको हो । सरकारले हैजाविरुद्धको खोपसँगै अन्य खोप अभियानसमेत सञ्चालन गर्ने तयारी गरेको छ । रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा टिडी अर्थात् टिटानस–डिफ्थेरिया खोप तथा दादुरा–रुबेला खोप अभियान पनि सञ्चालन गर्ने सरकारको योजना छ । उद्धार तथा राहतमा प्रत्यक्ष रूपमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ ।

बाढी तथा पहिरोपछि उद्धारका क्रममा घाउचोट लाग्ने, माटो तथा फोहोरसँग प्रत्यक्ष सम्पर्क हुने र दूषित वातावरणमा काम गर्नुपर्ने भएकाले टिटानस संक्रमणको जोखिम रहने गर्छ । त्यसैले जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा टिडी खोप दिने तयारी गरिएको हो । त्यस्तै दादुरा–रुबेला खोपबाट वञ्चित हुन सक्ने बालबालिकालाई लक्षित गर्दै विशेष अभियान सञ्चालन गरिनेछ । सरकारको योजनाअनुसार ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई आगामी दुई हप्ताभित्र दादुरा–रुबेला खोप दिइसक्ने तयारी छ । बाढीका कारण विद्यालय, स्वास्थ्य संस्था तथा नियमित खोप केन्द्रको सेवा प्रभावित भएका कारण नियमित खोप सेवाबाट छुटेका बालबालिकालाई समेत अभियानमा समेट्ने तयारी गरिएको छ ।

बाढी तथा विपद्का समयमा मानिसहरू अस्थायी रूपमा एउटै स्थानमा ठूलो संख्यामा बस्नुपर्ने अवस्था आउँदा संक्रामक रोग फैलिने सम्भावना बढ्छ । विशेषगरी बालबालिकामा दादुरा छिटो फैलिन सक्ने भएकाले उनीहरूलाई समयमै खोपको पहुँचमा ल्याउनुपर्ने स्वास्थ्य अधिकारीहरूको जोड छ । बाढीका कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध भएका ठाउँमा अभियानमार्फत खोप सेवा पुर्‍याउने सरकारको तयारी छ । यसका लागि खोप तथा स्वास्थ्य सेवासम्बन्धी काममा स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ ।

प्रभावित क्षेत्रको अवस्थाअनुसार खोप केन्द्र निर्धारण गरी नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने तयारी छ । बाढीले सडक, पुल तथा अन्य यातायात संरचनामा क्षति पुर्‍याएका कारण कतिपय बस्तीमा स्वास्थ्य टोली पुग्न कठिन रहेकाले उपलब्ध साधन र स्रोत प्रयोग गरेर सेवा विस्तार गर्ने सरकारको योजना छ । खोप अभियान सञ्चालन गर्ने निर्णय ‘राष्ट्रिय खोप सल्लाहकार समिति’को सिफारिसका आधारमा गरिएको हो । खोप ऐनअन्तर्गत गठित समितिले बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमी, दूषित पानीको सम्भावना र मानिसहरूको विस्थापनका कारण हैजा तथा अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको औंल्याएको थियो । त्यसैलाई आधार बनाएर सम्भावित महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न सिफारिस गरिएको हो ।

सरकारले खोप अभियानसँगै प्रभावित क्षेत्रमा सरसफाइ र सुरक्षित खानेपानीको व्यवस्थालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएको छ । हैजालगायत पानीजन्य रोग रोकथामका लागि खोप मात्र पर्याप्त नहुने भएकाले सफा पानीको उपलब्धता, खानेपानीका स्रोतको शुद्धीकरण, सुरक्षित शौचालयको प्रयोग, हात धुने बानी तथा खाद्य स्वच्छतामा समेत विशेष ध्यान दिनुपर्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी जोखिमलाई मध्यनजर गर्दै सरकारले नागरिकलाई अस्वस्थ खानेपानी तथा खुला रूपमा राखिएका खाद्य पदार्थ सेवन नगर्न, सम्भव भएसम्म उमालेको वा शुद्धीकरण गरिएको पानी प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गर्ने तयारी गरेको छ । कसैमा लगातार पखाला लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कम हुने वा अन्य संक्रमणका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य जोखिम व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने अवस्था आएको छ । प्राकृतिक विपद्पछि तत्काल देखिने चोटपटक र भौतिक क्षतिसँगै केही दिन वा हप्तापछि संक्रामक रोगको जोखिम देखिन सक्ने भएकाले सरकारले पूर्वतयारीमा जोड दिएको हो । समयमै खोप, उपचार, स्वास्थ्य निगरानी र सरसफाइका कार्यक्रम सञ्चालन गर्न सके सम्भावित महामारीको जोखिम कम गर्न सकिने स्वास्थ्य अधिकारीहरूको विश्वास छ । सरकारले प्रभावित नागरिकलाई खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ । स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकमार्फत खोपसम्बन्धी जानकारी तथा सेवा उपलब्ध गराइने भएकाले तोकिएको स्थानमा पुगेर खोप लिन सरकारले अनुरोध गरेको छ ।

नियमित खोप छुटेका बालबालिका तथा जोखिममा रहेका व्यक्तिलाई समेत अभियानमा समेटिने भएकाले सम्बन्धित परिवारलाई स्वास्थ्यकर्मीको सम्पर्कमा रहन आग्रह गरिएको छ । खोप तथा स्वास्थ्य सेवाबारे थप जानकारी आवश्यक परे ‘हेलो स्वास्थ्य’को टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिने सरकारले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढिरहेका बेला खोप अभियान, सुरक्षित पानी, सरसफाइ र तत्काल उपचार सेवाबीच समन्वय गरी अघि बढ्न सके सम्भावित संक्रामक रोगको प्रकोप रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।