जेनजी आन्दोलनको एक वर्ष : बालेन कहाँ छन्, कहाँ छैनन् ?

काठमाडौं ।  देशको राजनीतिक कोर्स नियमित रूपमा अघि बढेको हुन्थ्यो भने यतिबेला प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा नै भइरहेका हुन्थे ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताको वरिपरि बसेर आफ्नै शैलीका उखानटुक्का सुनाइरहेका हुन्थे । सत्ता बाहिर रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आफूलाई राजनीतिको केन्द्रमा राखिरहन कहिले सत्ताको ‘जादुयी अंक’ त कहिले नयाँ समीकरणको कार्ड फ्याँकिरहेका हुन्थे । उनका भाषण राजनीतिक वृत्त र सञ्चारमाध्यमका लागि नियमित हेडलाइन बनिरहन्थे । तर, नेपालको राजनीति त्यो नियमित बाटोमा हिँडेन । गत वर्ष भदौ २३ र २४ गते आएको जेन–जी विद्रोहले नेपालको राजनीतिक संरचना र शक्ति सन्तुलन नै उल्टाइदियो । त्यसअघि भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले हिमाली चट्टान र पहाडको संरचना भत्काउँदै ठूलो जनधनको क्षति पुर्‍याएजस्तै जेन–जी विद्रोहले पनि नेपालको पुरानो राजनीतिक संरचनालाई हल्लाइदियो ।

रसुवा बाढीको भौतिक र मानवीय क्षतिको प्रभाव वर्षौंसम्म रहनेछ । त्यसैगरी जेन–जी विद्रोहले नेपालको राजनीतिमा पारेको प्रभाव पनि तत्काल सकिने देखिँदैन । यसले केवल सरकार परिवर्तन गरेन, दशकौँदेखि सत्ता र शक्तिको वरिपरि घुमिरहेको राजनीतिक विरासतलाई समेत चुनौती दियो । जेन–जी आन्दोलन कुनै लामो समयदेखिको संगठित राजनीतिक तयारीको प्रतिफल थिएन । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासनको अभाव, भ्रष्टाचारप्रतिको असन्तुष्टि, राजनीतिक नेतृत्वमा बढ्दै गएको अहंकार र नागरिकप्रतिको बेवास्ता जस्ता विषयले युवाको आक्रोशलाई एकैपटक सडकमा ल्याइदियो । माइतीघरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शन बानेश्वर पुग्दा परिस्थिति निकै बदलिइसकेको थियो ।

२३ भदौमा संसद भवन परिसरमा १९ जना युवाले ज्यान गुमाए । त्यसको भोलिपल्ट संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतलनिवाससम्म आगजनी र तोडफोडका घटना भए । नेताहरूका निजी निवास, ठूला व्यापारिक संरचना, सार्वजनिक सम्पत्ति र सरकारी कार्यालयमाथि भएको क्षति तथा लुटपाटले मुलुक केही घण्टामै गम्भीर संकटमा धकेलियो । २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । सेनाको सुरक्षामा उनी रहनुपर्ने अवस्था आयो । संक्रमणकालीन परिस्थितिमा अन्य थुप्रै राजनीतिक नेताहरूलाई समेत सेनाले सुरक्षा दिएर राख्यो । तर, प्रधानमन्त्रीको राजीनामाले मात्र परिस्थिति तत्काल सामान्य भएन । हुँदाछँदाको संसद नै विघटन गरियो । यससँगै नेपालको संवैधानिक र राजनीतिक अभ्यास असाधारण मोडमा पुग्यो ।

त्यसपछि अर्को महत्वपूर्ण पात्रका रूपमा काठमाडौंका तत्कालीन मेयर वालेन्द्र शाह ‘बालेन’ अगाडि आए । उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो । राजनीतिक संक्रमण अन्त्य गर्ने विषयमा सेनाको मुख्यालयमा समेत छलफल भयो । बालेनले आफू प्रधानमन्त्री नबन्ने तर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारको नेतृत्व दिनुपर्ने सुझाव दिए । अन्ततः कार्की प्रधानमन्त्री बनिन् । यो निर्णय नेपालको संविधानको नियमित अभ्यासभन्दा बाहिरको बाध्यात्मक राजनीतिक समाधानका रूपमा आयो । देशले ठूलो मानवीय र भौतिक क्षति बेहोरेपछि तत्कालीन संकट व्यवस्थापनका लागि संविधानबाहिरको अभ्यास स्वीकार गर्नुपरेको अवस्था बन्यो । कसैले संस्थागत रूपमा राजनीतिक कोर्स नै परिवर्तन गर्न माग गरेका थिए वा थिएनन् भन्ने प्रश्न भने अझै बहसकै विषय छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई मात्रै आन्दोलनको कारण मान्ने कि त्यसपछाडिको लामो राजनीतिक असन्तुष्टिलाई पनि हेर्ने भन्ने प्रश्न पनि टुंगिएको छैन । आन्दोलनका केही तत्कालीन अगुवाहरूले समेत आफ्नो शान्तिपूर्ण प्रदर्शन पछि अन्य समूहबाट ‘हाइज्याक’ भएको बताउँदै आएका छन् । घटनाको वास्तविक प्रकृति र त्यसमा संलग्नताको विषय अनुसन्धान र बहसको विषय बनेको छ । जेन–जी विद्रोहले सबैभन्दा ठूलो परिवर्तन भने नेपालको सत्ता राजनीतिमा गर्‍यो । २०४८ सालदेखि २०८२ सालसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै मूलधारको सत्ता राजनीतिका प्रमुख खेलाडी थिए । बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सत्ताको निर्णायक समीकरणमा देखापर्दै आएको थियो । कांग्रेसले बहुमतको सरकार चलायो, एमालेले अल्पमतदेखि नेकपासम्मको यात्रामा झण्डै दुईतिहाइ शक्ति प्रयोग गर्‍यो र माओवादीले पनि पटकपटक सरकारको नेतृत्व गर्‍यो ।

ठूला दलबीचको प्रतिस्पर्धा र समीकरणकै बीच राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दजस्ता नेतासमेत प्रधानमन्त्री बने । अन्ततः सत्ता राजनीतिमा एकअर्कालाई सन्तुलनमा राख्नुपर्ने कांग्रेस र एमाले नै मिलेर सरकार बनाएका बेला जेन–जी विद्रोहले उनीहरूको राजनीतिक आधार हल्लाइदियो । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुराना दलहरूको राजनीतिक परिभाषाभित्र अटाइसकेको आरोप खेपिरहेका थिए । बालेन र रविबीच तत्काल सहकार्य थिएन । बालेन पक्षले रविलाई समेत कांग्रेस, एमाले र माओवादीकै निरन्तरताका रूपमा चित्रित गरिरहेको थियो । तर, परिस्थितिले उनीहरूलाई एउटै राजनीतिक मोर्चामा ल्याइदियो ।

बालेनको लोकप्रियता भने काठमाडौं महानगरको मेयर बन्नुअघिदेखि नै सामाजिक सञ्जालमा तीव्र रूपमा बढिरहेको थियो । जेन–जी विद्रोहपछि यही लोकप्रियता राजनीतिक शक्तिमा बदलियो । चुनाव नजिकिँदै जाँदा रवि र बालेनबीच सातबुँदे समझदारी भयो । त्यसमा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने सहमति भयो । रविले पार्टी सञ्चालन गर्ने र बालेनले सरकारको नेतृत्व गर्ने गरी उनीहरूबीच राजनीतिक मोर्चाबन्दी भयो । २१ फागुनमा भएको निर्वाचनले त्यसको प्रत्यक्ष परिणाम देखायो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका २७५ मध्ये १८२ सिट जित्यो । यो संख्या दुईतिहाइ नजिकको शक्तिशाली जनमत हो । २०७९ सालको निर्वाचनमा २१ सिटबाट संसदमा प्रवेश गरेको रास्वपा केही वर्षमै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्यो ।

त्यसको उल्टो कांग्रेस ३८, एमाले २५ र माओवादी केन्द्र १७ सिटमा सीमित भए । दशकौँदेखि सत्ताको केन्द्रमा रहेका दलहरू अचानक साना राजनीतिक शक्तिमा परिणत भए । नेपालको राजनीतिक इतिहासमा यो असाधारण शक्ति हस्तान्तरण थियो । यद्यपि बालेन औपचारिक रूपमा निर्वाचनपछि मात्रै प्रधानमन्त्री बने । तर, जेन–जी विद्रोहपछि निर्माण भएको राजनीतिक वातावरणको सबैभन्दा ठूलो लाभग्राही उनी बने । विद्रोहको प्रत्यक्ष नेतृत्व बालेन वा रास्वपाले गरेको दाबी नहुन सक्छ । तर, त्यसबाट निर्माण भएको राजनीतिक पुँजी अन्ततः बालेन र रास्वपातर्फ केन्द्रित भयो ।

सुधन गुरुङको ‘हामी नेपाल’ संस्था, त्यससँग जोडिएका गतिविधि र जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे पनि छानबिन भएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहितमाथि कारबाहीको सिफारिस गरेको थियो । केही व्यक्तिमाथि पूर्वयोजनाअनुसार विध्वंस मच्चाएको आशंका गर्दै अनुसन्धान गर्न भनिएको थियो । तर, आयोगको प्रतिवेदन कार्यान्वयन र दोषीमाथिको कारबाही अझै विवादमुक्त हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री पक्राउ परे पनि कानुनी प्रक्रिया र आधारबारे अदालतबाटै प्रश्न उठेको अवस्था देखियो ।

अब भने जेन–जी विद्रोहबाट प्राप्त जनमत आफैँमा नयाँ चुनौती बनेको छ । हिजो सत्तामा रहेका कांग्रेस, एमाले र माओवादीलाई प्रश्न गर्ने शक्ति आज सत्ताको नेतृत्वमा छ । ३५ वर्षसम्म केही भएन भन्ने भाष्य निर्माण गरेर उदाएको शक्तिले अब काम नगर्ने बहाना पाउने अवस्था छैन । रास्वपाले प्राप्त गरेको दुईतिहाइ नजिकको जनमत सर्तरहित जनादेश होइन । यही कारण सरकारमाथि प्रश्न गर्न विपक्षी दल मात्रै आवश्यक परेको छैन । रास्वपाकै नेतादेखि सांसदसम्मले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउन थालेका छन् । बालेनको नायकत्व विस्तारै खलनायकत्वतर्फ जाने खतरा रहेको टिप्पणीसमेत पार्टीभित्र र बाहिर सुनिन थालेको छ ।

संसदप्रति सरकारको दृष्टिकोण, गणतन्त्र र संघीयताजस्ता राजनीतिक उपलब्धिप्रतिको अस्पष्टता, सुकुम्बासी व्यवस्थापन, सीमासम्बन्धी अभिव्यक्ति र सुनसरीमा देखिएको घटनाजस्ता विषयले प्रधानमन्त्रीमाथि प्रश्न थपेका छन् । रास्वपा सभापति रवि लामिछानेले समेत अब पुरानो ‘३५ वर्षमा केही भएन’ भन्ने भाष्यमा मात्र अल्झिएर नहुने बताएका छन् । उनको भनाइमा अब बितेको ३५ वर्षको हिसाब खोज्नेभन्दा आगामी ३५ वर्षको योजना बनाउने समय हो । यही भनाइ नयाँ सत्ताका लागि सबैभन्दा ठूलो राजनीतिक सन्देश पनि हो ।

बालेन नेतृत्वको सरकार गठन भएको पाँच महिना मात्रै भएको छ । पाँच महिनामै पाँच वर्षे सरकारको मूल्यांकन गर्नु स्वाभाविक नहुन सक्छ । तर, नागरिकले सरकारको दिशा र प्राथमिकता बुझ्ने समय भने यही हो । जनताले अपेक्षा गरेको परिवर्तन व्यवहारमा देखिन थालेको छ कि छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अहिले बजारमा आत्मविश्वासको संकट देखिएको छ । व्यापारी र व्यवसायीमा अनिश्चितता बढेको छ । महँगी र मूल्यवृद्धिले सर्वसाधारणको जीवन कठिन बनाएको छ । ग्यासका लागि लामो लाइन बस्नुपर्ने अवस्था छ । त्यसमाथि रसुवाको विनाशकारी बाढीले सरकारमाथि अर्को ठूलो चुनौती थपिदिएको छ ।

जेन–जी विद्रोहको एक वर्ष पूरा हुँदा बालेनसँग अब प्रश्न गर्ने सुविधा छैन, जवाफ दिने जिम्मेवारी छ । हिजो सत्ता बाहिरबाट सामाजिक सञ्जालमार्फत भ्रष्टाचार, दलीय भागबन्डा, बेरोजगारी र कुशासनविरुद्ध आवाज उठाउने नेतृत्व अहिले सिंहदरबारमा छ । त्यसैले नागरिकले अब भाषण होइन, परिणाम खोज्नेछन् । भ्रष्टाचार नियन्त्रण, दलीय भागबन्डाको अन्त्य, रोजगारी सिर्जना, सार्वजनिक सेवा सुधार, बजारमा स्थिरता र नागरिकमा आशा जगाउने काम सरकारको प्राथमिकता बन्नुपर्नेछ । जेन–जी विद्रोहले पुरानो सत्ता ढाल्यो, निर्वाचनले नयाँ सत्ता स्थापित गर्‍यो । अब नयाँ सत्ताले आफू किन आएको हो भन्ने प्रमाणित गर्ने समय सुरु भएको छ ।

न हिजोको दुईतिहाइ सत्ता स्थायी थियो, न आजको दुईतिहाइ सत्ता स्थायी हुन्छ । नेपालको राजनीतिमा एकै झट्कामा सत्ता परिवर्तन हुन सक्ने परिस्थिति जेन–जी विद्रोहले प्रमाणित गरिसकेको छ । त्यसैले बालेन र रविका लागि सबैभन्दा ठूलो चुनौती सत्ता जोगाउनु होइन, सत्ता जनताको जीवनमा परिवर्तन ल्याउने साधन हो भन्ने प्रमाणित गर्नु हो । एक वर्षअघि प्रश्न गर्ने ठाउँमा रहेका बालेन र रवि अहिले जवाफ दिने ठाउँमा छन् । अब सिंहदरबार जलाउने भाषण होइन, सिंहदरबारबाट परिणाम निकाल्ने क्षमता खोजिनेछ । गाली र आरोपको राजनीति होइन, संयम, जवाफदेहिता र कामको राजनीति अपेक्षित हुनेछ । जेन–जी विद्रोहले तोडेको पुरानो राजनीतिक विरासतको ठाउँमा स्थापित नयाँ शक्ति अब आफैँ इतिहासको कठघरामा उभिएको छ ।

प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।