गृहमन्त्रीको अभिव्यक्तिले रास्वपामा खटपट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको पछिल्लो सार्वजनिक अभिव्यक्ति र व्यवहारलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि बढेको छ ।

जेन–जी विद्रोहको पहिलो वार्षिकीका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले विपक्षी दल, पत्रकार तथा आलोचकप्रति आक्रामक शैली प्रस्तुत गरेपछि पार्टीका पदाधिकारीदेखि सांसदसम्मले उनको भूमिकामाथि प्रश्न उठाउन थालेका हुन् । भदौ २३ गते नयाँ बानेश्वरस्थित बीआईसीसी परिसरमा जेन–जी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उनले सरकारको कामको बचाउ गर्दै अन्य राजनीतिक दललाई राजनीति सिकाउने चुनौतीसमेत दिए । आफ्ना समर्थकहरूको तालीबीच उनले आफूहरू अरूबाट राजनीति सिक्न नभई राजनीति सिकाउन आएको दाबी गरे ।

गुरुङले भनेका थिए, ‘हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन । तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो, हामी सेवा गर्न सिकाउँछौँ ।’ गृहमन्त्रीको यस्तो अभिव्यक्ति र व्यवहारलाई रास्वपाका नेताहरूले पार्टीले विगतदेखि अघि सार्दै आएको राजनीतिक संस्कारसँग मेल नखाने बताएका छन् । विशेषगरी पार्टी सभापति रवि लामिछानेले पटक–पटक नेताहरूलाई अहंकार नदेखाउन, अनुभवी पुस्ताको सम्मान गर्न र विगतका कमजोरीमा मात्र अल्झिनुभन्दा भविष्यको योजना प्रस्तुत गर्न आग्रह गर्दै आएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा लामिछानेले युवा पुस्ताको नेतृत्वमा पार्टी र सरकार अघि बढिरहेको भए पनि पाका पुस्ताको अनुभवलाई अपहेलना गर्न नहुने बताएका थिए । उनले विगतमा नयाँ पुस्ताले अनुभवी पुस्ताप्रति पर्याप्त सम्मान दिन नसकेको हुनसक्ने भन्दै आत्मआलोचना गरेका थिए ।

‘पाका भएका मानिसहरूलाई सम्भवतः अपमानित पनि गर्‍यौं । सम्भवतः हामीले अपहेलित पनि गर्‍यौं । अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौं कि भनेर म आज महसुस गर्न सक्छु,’ लामिछानेले भनेका थिए, ‘तर अब हामीले कसलाई दोष लगाउने होला ? अपमान र अपहेलित त गर्न पाइँदैन । हामी गर्दैनौं पनि ।’ लामिछानेले पार्टीको नीति, संगठन र नेतृत्वसम्बन्धी प्रशिक्षणका क्रममा पनि विगतका दल र नेताहरूलाई दोष दिएर मात्र नयाँ राजनीति निर्माण नहुने बताएका थिए । उनका अनुसार पुराना पुस्ताले विगतमा जति गरे, त्यसको मूल्यांकन भए पनि अबको पुस्ताले आगामी दशकका लागि आफ्नो योजना प्रस्तुत गर्नुपर्ने हुन्छ ।

‘बितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि,’ उनले भनेका थिए, ‘हिजो हामीले दोष लगाउने कैयौं मानिसहरू थिए । कैयौं नेताहरू थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषै दोषको चाङमा आफूलाई अग्लो देखाउन सक्छौं । आज कसलाई दोष देखाउने ?’ तर गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्ति सभापतिको उक्त राजनीतिक सन्देशभन्दा फरक देखिएको रास्वपाका नेताहरूको बुझाइ छ । पार्टीले पुरानो राजनीतिक संस्कार र अहंकारको विरोध गर्दै नयाँ राजनीतिक संस्कृति स्थापित गर्ने दाबी गरिरहेका बेला सरकारमा पुगेपछि त्यही शैली दोहोरिन थालेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

रास्वपा महामन्त्री विपिन आचार्यले गृहमन्त्रीको नाम नलिई सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीलाई पनि यही घटनासँग जोडेर हेरिएको छ । उनले लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’ रास्वपा संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले पनि कार्यक्रमको वातावरणप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा ‘श्रव्य–कर्कस । दृश्य–बिझाउने । ‘बदल्छौं’ भन्नेहरू नै बदलिँदै त छैनौं ?’ भन्दै टिप्पणी गरेका छन् ।

कार्यक्रममा गृहमन्त्री गुरुङले पत्रकारहरूप्रति समेत चेतावनीपूर्ण भाषा प्रयोग गरेका थिए । केही पत्रकारलाई सुझाव दिन चाहेको भन्दै उनले सीमित पत्रकार र उनीहरूसँग सम्बन्धित राजनीतिक समूहलाई सुध्रिन आग्रह गरेका थिए । उनको अभिव्यक्तिलाई कार्यक्रममा उपस्थित समर्थकहरूले ताली र ‘हो–हो’ भन्दै समर्थन गरेका थिए । पत्रकार लक्षित गृहमन्त्रीको अभिव्यक्तिप्रति रास्वपा केन्द्रीय सदस्य तथा सचेतक क्रान्तिशिखा धितालले आपत्ति जनाएकी छन् । उनले जेन–जी आन्दोलनको मूल मर्म नै अभिव्यक्ति स्वतन्त्रता र सत्तालाई प्रश्न गर्ने अधिकार भएको स्मरण गराउँदै अहिले सरकारमा पुगेपछि आलोचकप्रति धम्कीपूर्ण भाषा प्रयोग गर्न नहुने बताएकी छन् ।

‘पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ । सत्तालाई विनम्र हुन भनेका थियौँ,’ धितालले भनेकी छन्, ‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ?’ उनले विगतको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको आरोप लगाउँदै सडकमा उत्रिएको जेन–जी पुस्ताको सरकार बनेपछि त्यही अधिकारको सम्मान गर्नुपर्ने बताएकी छन् । कार्यक्रममा विवादित धर्मगुरुहरू विजय भण्डारी र श्रीनिवास आचार्यलाई मञ्चमा अगाडि राखिएको विषयले पनि रास्वपाभित्र प्रश्न उठाएको छ । विगतमा विभिन्न विवादमा परेका व्यक्तिहरूलाई जेन–जी सहिदको स्मृति कार्यक्रमको मञ्चमा सम्मानजनक स्थान दिइएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् ।

गृहमन्त्री गुरुङको पछाडि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई राखिएको र विवादित पृष्ठभूमि भएका व्यक्तिहरूलाई अगाडि राखिएको दृश्यले समेत पार्टीभित्र प्रश्न जन्माएको नेताहरूको भनाइ छ । रास्वपा सांसद अमरेशकुमार सिंहले यस विषयमा आक्रोश व्यक्त गर्दै जेन–जी सहिदको मञ्चमा विवादित धर्मगुरुहरूलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि पारिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘विवादित धर्मगुरुहरूलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ? संविधान, समावेशीको धज्जी उडाउने र देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाउने यो सरकारले के सन्देश दिन खोजेको छ ?’ कार्यक्रममा जेन–जी आन्दोलनका सहिद परिवार, घाइते, जेलमा रहेका आन्दोलनकारीका परिवार तथा अन्य सहभागीसमेत सरकारप्रति असन्तुष्ट देखिएका थिए । गृहमन्त्रीले सरकारको कामको बचाउ गरिरहँदा पीडित पक्षले भने आफ्ना माग अझै सम्बोधन नभएको भन्दै विरोध गरेका थिए ।

आन्दोलनका क्रममा घाइते भएका पवन खड्कालाई कार्यक्रमस्थलबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि वातावरण थप तनावपूर्ण बनेको थियो । गृहमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आएका खड्कामाथि गृहमन्त्रीका समर्थकबाट दुर्व्यवहारको प्रयास भएको दाबीसमेत गरिएको छ । जेन–जी आन्दोलनमा पक्राउ परी जेलमा रहेका आफ्ना परिवारका सदस्य रिहा हुनुपर्ने माग गर्दै अभिभावकहरू कार्यक्रममा पुगेका थिए । एक अभिभावकले आक्रोश पोख्दै भने, ‘हाम्रा बच्चाहरू किन रिहा भएनन् ? उनीहरू आतंककारी होइनन् । जनआन्दोलनका सहभागी थिए ।’

गृहमन्त्री गुरुङको शैलीप्रति रास्वपाभित्र यसअघि पनि प्रश्न उठिसकेको छ । तीन वर्षीय गरिमाको हत्या प्रकरणमा पीडित परिवारसँग गृह मन्त्रालयमा भएको सहमतिपछि उनीहरूको भिडियो खिचिएको विषयमा पनि महामन्त्री आचार्यले संसद्मै असन्तुष्टि जनाएका थिए । भदौ ७ गते गृहमन्त्रीको उपस्थितिमा गरिमाका आमाबुबासँग सहमति भएको थियो । त्यसपछि पीडित अभिभावकको जबरजस्ती भिडियो खिचिएको भन्दै आलोचना भएको थियो । त्यसको भोलिपल्ट संसद्मा बोल्दै आचार्यले मृतकका आमाबुबाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिच्ने प्रवृत्तिमाथि प्रश्न उठाएका थिए ।

पछिल्लो घटनाक्रमले भने गृहमन्त्री र पार्टी पङ्क्तिबीचको दूरी थप देखिन थालेको रास्वपाका केही नेताहरूको बुझाइ छ । स्रोतका अनुसार गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा धितालको टिप्पणीप्रति समेत असन्तुष्टि जनाउँदै व्यक्तिगत सन्देशमार्फत प्रतिप्रश्न गरेका थिए । उनले धिताललाई जेन–जी आन्दोलनको ‘फल खान आएको’ आरोप लगाउँदै आफूलाई ‘तमिज सिकाउन नपर्ने’ आशयको जवाफ दिएको स्रोतको दाबी छ । रास्वपाभित्र अहिले उठेको मुख्य प्रश्न गृहमन्त्रीको एउटा अभिव्यक्तिभन्दा पनि पार्टीले आन्दोलनका क्रममा उठाएका राजनीतिक मूल्य र सरकारमा पुगेपछि देखिन थालेको व्यवहारबीचको अन्तरबारे हो । जेन–जी आन्दोलनको आधार नै सत्ता र राजनीतिक नेतृत्वलाई प्रश्न गर्ने, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने तथा अहंकारविहीन शासनको माग थियो ।

त्यही आन्दोलनको राजनीतिक शक्तिमा उभिएको सरकारका गृहमन्त्रीबाट आलोचकप्रति आक्रामक अभिव्यक्ति आउन थालेपछि पार्टीभित्रै ‘हामी पनि पुरानै शैलीतर्फ त गइरहेका छैनौं ?’ भन्ने चिन्ता बढेको देखिन्छ । गृहमन्त्री गुरुङको पछिल्लो व्यवहारलाई लिएर सांसद तथा पदाधिकारीहरूले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको समेत ध्यानाकर्षण गराएको स्रोतको दाबी छ । सरकार सञ्चालनमा व्यक्तिगत शैली हावी हुन थालेको र पार्टीको सामूहिक राजनीतिक लाइनसँग असंगत अभिव्यक्ति आउन थालेको भन्दै नेतृत्व तहमा चिन्ता व्यक्त गरिएको बताइएको छ ।

प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।