बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य महामारी रोक्ने सराहनीय प्रयास

प्राकृतिक विपद्ले जनधनको क्षति र भौतिक पूर्वाधारको विनाश गरिसकेको अवस्थामा अर्को ठूलो चुनौतीका रूपमा महामारी र संक्रामक रोग फैलिने खतरा हुन्छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित असहज अवस्थामा सम्भावित स्वास्थ्य संकटलाई ध्यानमा राख्दै सरकारले सुरु गरेको पूर्वतयारी र खोप अभियान सराहनीय छ ।

बाढीका कारण खानेपानीका मुहान दूषित हुनु, सरसफाइको अभाव हुनु, विस्थापन तथा अस्थायी शिविरमा मानिसहरूको बाक्लो उपस्थितिले हैजा, झाडापखाला, टाइफाइड र अन्य पानीजन्य तथा सरुवा रोगहरूको जोखिम हुन्छ । यस्तो संवेदनशील घडीमा सम्भावित महामारी फैलिएपछि उपचारतर्फ लाग्नुभन्दा रोग लाग्नै नदिने रोकथामको रणनीति अपनाउनु सरकारको परिपक्व कदम हो । सरकारले मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजा विरुद्धको खोप रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पठाउने कार्यलाई तीव्रता दिएको छ । भौगोलिक विकटता र यातायातका साधन सञ्चालन हुन नसकेको असहज अवस्थालाई मध्यनजर गर्दै रसुवामा २१ हजार ६०० डोज खोप हेलिकप्टरमार्फत पुर्‍याउनुले सरकारको तत्परता देखिएको छ ।

भदौ २५ गतेदेखि रसुवा र यसै हप्ताभित्र नुवाकोटमा वडा कार्यालय तथा स्वास्थ्य स्वयंसेविकामार्फत १ वर्षभन्दा माथिका सबै नागरिकलाई हैजा विरुद्धको खोप खुवाउने तयारीले जोखिमयुक्त समुदायलाई ठूलो राहत र सुरक्षा प्रदान गर्नेछ । हैजा विरुद्धको खोपका साथै टिटानस–डिफ्थेरिया (टीडी) र दादुरा–रुबेला खोप अभियानलाई समेत सँगै अगाडि बढाउनु सरकारको दूरदर्शी योजना हो । उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र घाइते नागरिकहरूलाई टिटानसको जोखिमबाट बचाउन टीडी खोप अनिवार्य छ भने अस्थायी शिविरहरूमा बालबालिकाबिच दादुरा जस्ता संक्रामक रोग छिटो फैलिन सक्ने भएकाले ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी दादुरा–रुबेला खोप दिन लागिएको छ ।

बाढीका कारण नियमित खोप सेवाबाट वञ्चित भएका बालबालिकाहरूलाई विशेष अभियानमार्फत समेट्नुले खोपको पहुँचबाट कोही पनि छुट्ने छैनन् । राष्ट्रिय खोप सल्लाहकार समितिको वैज्ञानिक सिफारिसका आधारमा सञ्चालन गरिएको खोप अभियानले प्राविधिक रूपमा पनि सही दिशा समातेको देखिन्छ । यद्यपि खोप अभियान आफैँमा महामारी रोकथामको पूर्ण समाधान होइन । स्वास्थ्य अधिकारीहरूले औँल्याएझैँ पानीजन्य रोगको नियन्त्रणका लागि खोपसँगै सफा खानेपानी, सुरक्षित शौचालय र व्यक्तिगत सरसफाइको उत्तिकै महत्व हुन्छ । सरकारले खोप आपूर्तिसँगै प्रभावित क्षेत्रमा उमालेको वा शुद्धीकरण गरिएको पानीको उपलब्धता र सरसफाइबारे सचेतना फैलाउन विशेष ध्यान दिनुपर्छ । स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या आएमा हेलो स्वास्थ्यको टोल फ्री नम्बर १११५ जस्ता सूचना संयन्त्रलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु स्वागतयोग्य छ ।

प्राकृतिक प्रकोपपछिको अवस्थामा विपद् व्यवस्थापन र स्वास्थ्य सुरक्षालाई एकीकृत रूपमा अगाडि बढाउनु राज्यको दायित्व हो । बाढी प्रभावित रसुवा र नुवाकोटमा सम्भावित महामारी रोक्न सरकारले देखाएको तदारुकता र पूर्वतयारी प्रशंसनीय छ । अब स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र नागरिकहरूबिच बलियो समन्वय कायम गरी लक्षित वर्गसम्म खोप पुर्‍याउनु र सुरक्षित वातावरण सिर्जना गर्नु नै आजको मुख्य आवश्यकता हो ।

२०८३ भदौ २५ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।