आफूलाई हटाउन खोज्नेप्रति ओली : पार लाग्नेवाला छैन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ लाग्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीय कमिटीको बैठकबाट एमालेले के गर्छ भन्ने संकल्पसहित अघि बढ्ने बताए । सञ्चारमाध्यमहरूमा पार्टी फुटाउने, अध्यक्ष अमुक व्यक्ति बन्ने भन्दै प्रचार गरिएको भएपनि त्यो सफल नहुने बताए। उनले विरोधीले खुट्टा तानेर एमालेलाई केही फरक नपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘हामी ५ ६ ७ को केन्द्रीय कमिटीबाट बाहिर निस्किँदा भव्य वक्तव्यका साथ एकता र संकल्प, पार्टीको एकता र हाम्रा कामहरू यो गर्नेछौँ भन्ने संकल्पका साथ हामी निस्कन्छौँ । यतिबेरसम्मका लागि दुई दिनलाई नहुने यस्ता झुटो समाचार संप्रेषण किन गर्नु पर्‍यो ? अर्को छापिया देखियो फेरि । फलानो अध्यक्ष हुने अरे, फलानो महासचिव हुने अरे । भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ अरे। कति खेती गरे ? कुन्ती मोक्तानको एउटा गीत छ। म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर ।’

धेरै बाँणको वर्षा भएपछि भीष्म पितामह महाभारतको युद्धमा बाँण शय्यामा ढलेको भएपनि आफू अझै खडा रहेकाले दृढताका साथ अघि बढ्ने बताए। ७४ वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लडेको स्मरण गर्दै उनले आफू कलम लिएर युद्धमा रहेको जिकिर गरे । उनले भने, ‘चक्ली बाँण वर्षा भएपछि भीष्म पितामह म पनि सरसैया माथि ढलेका थिए । अर्जुन, शिखण्डी यिनीहरूले नै हानेका थिए भीष्म पितामहलाई बाँण । शिखण्डी अगाडि राखेर । अहिलेसम्म पनि शिखण्डीहरूलाई अगाडि राखेकै छन्। तर पनि भीष्म पितामह पनि सरसैया माथि ढल्या थिए, केपी ओली सरसैया माथि ढलेको छैन, खडै छ । फेरि पनि मैदानमा छ । अमर सिंह थापा मेरै उमेरमा तरबार लिएर युद्धका मैदानमा थिए । मैले तरबार होइन, कलम लिएर युद्धको मैदानमा छु। अमर सिंह थापा पनि ७४ वर्षको युद्धको मैदानमा थिए भने मैले पनि अहिले त मैले भारी लामो तरबार बोक्नुपरेको छैन, सानो सानो कलम बोक्ने सातो यहाँ छ। बोक्न सक्छु । बोक्या छु । कोशिस गरेका छन् । कोशिस गर्‍या छन्। मैले कोशिसहरू पनि बुझ्या छु । तर पार लाग्नेवाला छैन ।’

उनले थपे, ‘मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु । यहाँ आइपुगेको यत्तिकै होइन । म हाम्रा तमाम साथीहरूलाई तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु । जनताका बिचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढ्नुहोस् । नेपाली जनतालाई भन्न चाहन्छु, यो देश हाम्रो हो, बिग्रिन नदिउँ। सच्याऔँ । नेपाली जनताले सच्याउने हो । त्यसको अगुवाइ नेकपा एमालेले गर्छ। अराजकताबाट होइन। स्पष्ट बाटोबाट मात्रै गन्तव्यमा पुग्न सकिन्छ । हाम्रो गन्तव्य सही छ । आज संविधानको रक्षा र प्रणालीको रक्षा, लोकतन्त्रको रक्षा हाम्रा काँधको प्रमुख कार्यभार हो ।’

अध्यक्ष ओलीले नेपाली जनताले सच्याएर अघि बढ्नुपर्ने भन्दै अराजकतालाई जित्न दिन नहुने बताए । एमाले सही गन्तव्यका साथ अघि बढिरहेकाले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि एमालेको काँधमा रहेको बताए ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।