मनास्लुमा आरोहीको चाप

गोरखा । शरद ऋतुमा विश्वभरका आरोहीको आकर्षणको केन्द्र बन्ने गोरखाको मनास्लु हिमालमा यस वर्षको आरोहण सुरु भएको छ ।

सन् २०२६ को शरद् ऋतुका लागि अनुमति लिएका विभिन्न देशका ४८० जना आरोहीले गत मंगलबारदेखि आधार शिविरबाट शिखरतर्फको यात्रा सुरु गरेका हुन्। पछिल्लो विवरणअनुसार यो संख्या मनास्लु आरोहणका लागि अनुमति लिने आरोहीमध्ये अहिलेसम्मकै ठूलो हो ।

मनास्लु आरोहणका लागि यस वर्ष ४० समूहले अनुमति लिएका छन् । ती समूहमा ३५४ जना पुरुष र १२६ जना महिला आरोही छन् । आधार शिविरमा धार्मिक विधिअनुसार पूजा तथा साइत गरेपछि आरोहण सुरु गरिएको आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार आधार शिविरबाट आरोहण सुरु गरेका आरोहीमध्ये अधिकांशले अबको दुईदेखि तीन साताभित्र मनास्लुको चुचुरोमा पुग्ने लक्ष्य राखेका छन् । मौसम, हिमपात, हावाको गति तथा बाटोको अवस्थाले आरोहणको समय भने प्रभावित हुन सक्नेछ । मनास्लुमा शरद् ऋतुको आरोहणका लागि हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट आरोही आउने गर्छन्। हिमालको उचाइ, प्राविधिक चुनौती र तुलनात्मक रूपमा अन्य केही आठ हजार मिटर अग्ला हिमालको भन्दा सहज पहुँचका कारण मनास्लु आरोहणमा आकर्षण बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

मनास्लु आरोहणले नेपालको पर्वतीय पर्यटनमा महत्वपूर्ण आर्थिक योगदानसमेत गर्दै आएको छ। पर्यटन विभागका अनुसार यस वर्ष मनास्लु आरोहणका लागि अनुमति लिएका आरोहीबाट सरकारले २१ करोड ८८ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आरोहीको संख्या र राजस्व दुवैका दृष्टिले यो वर्ष मनास्लुका लागि अहिलेसम्मकै ठूलो सिजन बनेको छ ।

मनास्लु आरोहणमा आरोहीसँगै ठूलो संख्यामा शेर्पा गाइड, उच्च हिमाली सहयोगी, भरिया, भान्से तथा अन्य जनशक्ति पनि सहभागी हुन्छन् । आरोहण अभियानका क्रममा सामागाउँ, साम्दो हुँदै मनास्लु क्षेत्रका स्थानीय बस्तीमा समेत आर्थिक गतिविधि बढ्ने गर्छ । होटल, लज, यातायात, खाद्यान्न तथा अन्य सेवामा यसको प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँ क्षेत्रमा रहेको मनास्लु समुद्री सतहबाट ८ हजार १६३ मिटर अग्लो छ । यो विश्वकै आठौँ अग्लो हिमाल हो। हिमालको नाम तिब्बती भाषाको ‘मनास्लु’ अर्थात् ‘आत्माको पर्वत’ भन्ने अर्थसँग जोडिएको पाइन्छ ।

मनास्लुमा पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा भएको थियो । जापानी आरोही टोलीका सदस्यहरूले पहिलोपटक यसको चुचुरोमा पाइला राखेका थिए । त्यसयता मनास्लु विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये महत्वपूर्ण आरोहण गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ ।

विशेषगरी सेप्टेम्बरदेखि अक्टोबरसम्मको शरद् ऋतु मनास्लु आरोहणका लागि प्रमुख मौसम मानिन्छ । यही अवधिमा हिमाल आरोहणका लागि विश्वका विभिन्न देशबाट ठूलो संख्यामा आरोही नेपाल आउने गरेका छन् । यस वर्ष पनि ठूलो संख्यामा आरोहीको आगमनसँगै मनास्लु क्षेत्र अहिले आरोही, गाइड तथा सहयोगीको चहलपहलले भरिएको छ । आरोहणका लागि आधार शिविरबाट अघि बढेका ४८० आरोहीले अब क्रमशः उच्च शिविरतर्फ यात्रा गर्नेछन् । मौसमले साथ दिएमा आगामी दुईदेखि तीन सातामा अधिकांश आरोहीले शिखर चुम्ने अपेक्षा गरिएको छ ।

त्यस्तै हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु बेस क्याम्पमा आमरण अनशन सुरु भएको छ । उत्तरी गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको १० जनाको टोली शुक्रबारबाट समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अनशन बसेका हुन् । जलवायु परिवर्तनका कारण हिमतालहरु फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरू सचेत गराएका छन्। वीरेन्द्रताल (सामागाउँ), कालताल (प्रोक), हरियो ताल (पुगेन) लगायतका जोखिमयुक्त हिमतालहरूको मापन गरी भविष्यमा हुनसक्ने विष्फोटको जोखिम अध्ययन गर्न उनीहरूले सरकारलाई आग्रह गरेका छन् ।

‘विश्वव्यापी तापक्रम वृद्धि भई हिमनदीहरूलाई तीव्र रुपले पगाल्ने र यसको असर ताल तथा नदीहरूमा अझै देखिन थाले,’ लामाले भने, ‘ विपदको पूर्व तयारी र न्यूनीकरणका उपायबारे जनतालाई जानकारी गराउन आवश्यक छ ।’ नेपालको मानव वस्तीनजिकै रहेको चीनतर्फको हिमतालहरूको दुवै देशका संयन्त्रले संयुक्त अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ ।

मनास्लु क्षेत्र र चुम उपत्यकामा रहेको हिमतालहरूको हवाई अनुगमन गर्न समेत उनीहरूले माग गरेका छन् । विश्वव्यापी वातावरणीय प्रभाव फैलाउने विकसित राष्ट्रहरूबाट नेपालले पाउनुपर्नै क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न सरकारलाई उनले आग्रह समेत गरेका छन् । प्रत्येक हिमाली क्षेत्रका सामुदायिक विद्यालयहरुको पाठ्यक्रममा जलवायु परिवर्तनको असरसम्बन्धी विषय समावेश गर्न समेत उनीहरूको माग राखेका छन् । माग पूरा नभएसम्म अनशन नतोड्ने उनीहरूको अडान छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।