बाढीपहिरो पीडितका लागि एनआरएनए टर्कीको ७ लाख ५० हजार सहयोग

काठमाडौं । नेपालमा हालै आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) टर्कीले रु. ७ लाख ५० हजार ३३७आर्थिक सहयोग नेपाल पठाएको जनाएको छ ।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम टर्कीमा रहेका नेपाली समुदाय तथा सहयोगी टर्किस नागरिकहरूको सहयोगबाट संकलन गरिएको हो ।

एनआरएनए टर्कीका अनुसार टर्कीमा रहेका नेपाली समुदाय तथा सहयोगी टर्किस नागरिकबाट संकलन गरिएको उक्त रकम विपद्बाट प्रभावित परिवारको राहतका लागि पठाइएको हो ।

विपद्को कठिन अवस्थामा पीडित परिवारको दुःखमा साथ दिन सहयोग गर्ने नेपाली तथा टर्किस नागरिकप्रति सङ्घले आभार व्यक्त गरेको छ। सङ्घले संकलित रकमले बाढीपहिरो प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सङ्घका अनुसार सहयोग अभियानअन्तर्गत संकलित रकम र बैंक कारोबारसम्बन्धी विवरण पारदर्शिताका लागि एनआरएनए टर्कीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ । सहयोगदातालाई उक्त विवरण अवलोकन गर्नसमेत आग्रह गरिएको छ ।

मानवीय सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण नेपाली तथा टर्किस नागरिकलाई धन्यवाद दिँदै एनआरएनए टर्कीले विपद्बाट प्रभावित परिवारको पीडामा यो सहयोग केही राहतको माध्यम बन्ने विश्वास व्यक्त गरेको छ ।