काठमाडौं । २०८३ भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबारे अध्ययन गरिरहेका वैज्ञानिकहरूले यसको तीव्रता र प्रकृतिबारे नयाँ तथ्य सार्वजनिक गरेका छन् ।
अन्तर्राष्ट्रिय संस्था वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए) ले गरेको अध्ययनअनुसार भोटेकोसीमा आएको बाढीको औसत गति प्रतिघण्टा १८८ किलोमिटरसम्मको थियो । यो निष्कर्ष यसअघि नेपाली बाढीविज्ञहरूले गरेको प्रारम्भिक अनुमानभन्दा दोब्बरभन्दा बढी हो ।
बाढी आएको भोलिपल्ट भदौ ११ गते बाढीविज्ञ दिनकर कायस्थले भोटेकोसी बाढीको गति प्रतिघण्टा ५५ किलोमिटरसम्म हुन सक्ने बताएका थिए। उनले उक्त गति सम्भवतः नेपालमा अहिलेसम्म देखिएको उच्च बाढीको वेग हुन सक्ने बताएका थिए । तर अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको अध्ययनले बाढीको गति त्यस अनुमानभन्दा निकै बढी रहेको देखाएको हो ।
डब्ल्यूडब्ल्यूएको अध्ययनअनुसार भदौ १० गते लाङटाङ लिरुङ हिमालको ५ हजार १५० मिटरभन्दा माथिको क्षेत्रमा रहेको ठूलो चट्टानी भित्तो भत्किएको थियो । चट्टानसँगै त्यहाँ रहेको हिमनदीको केही भागसमेत खसेपछि ठूलो परिमाणमा चट्टान र बरफ एकैपटक तलतर्फ बगेका थिए । यस क्रममा पानी, माटो, ढुंगा र बरफ मिसिँदा अत्यन्त शक्तिशाली आकस्मिक बाढीको रूप लिएको वैज्ञानिकहरूको निष्कर्ष छ । वैज्ञानिकहरूले उक्त बहावलाई सामान्य नदीको बाढीभन्दा फरक र बहुप्रकोपयुक्त भूजोखिमका रूपमा व्याख्या गरेका छन् । पहाडबाट खसेको चट्टान र बरफले तलतर्फ पानी, माटो र अन्य पदार्थलाई समेत आफूसँगै बगाउँदै लगेपछि ल्हेन्दे खोलामा पुग्दा यो शक्तिशाली बाढीमा परिणत भएको अध्ययनले देखाएको छ ।
डब्ल्यूडब्ल्यूएको प्रतिवेदनमा ल्हेन्दे खोलामा पुगेपछि बाढीको औसत गति प्रतिघण्टा १८८ किलोमिटर पुगेको उल्लेख छ । यही तीव्र गतिका कारण लाङटाङ क्षेत्रदेखि रसुवागढी सीमा क्षेत्रसम्मको करिब २२ किलोमिटर दूरी बाढीले सात मिनेटमै पार गरेको वैज्ञानिकहरूको आकलन छ । २२ किलोमिटर दूरी सात मिनेटमा पार गर्नु भनेको प्रतिघण्टा करिब १८८ किलोमिटरको गति हो। यस्तो गति सामान्य नदीमा देखिने बाढीको बहावभन्दा असाधारण रूपमा तीव्र मानिन्छ । वैज्ञानिकहरूको अध्ययनले भोटेकोसी बाढीको विनाशकारी प्रभाव बुझ्न यसको तीव्र वेग महत्वपूर्ण कारण रहेको देखाएको छ ।
डब्ल्यूडब्ल्यूएको अध्ययनमा विभिन्न देशका २० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी छन् । बेन क्लार्क, मरियम जकारिया, बेथान डेभिस, रेजिन हक र वाल्टर इम्मरजिललगायत वैज्ञानिक तथा विज्ञको सहकार्यमा प्रतिवेदन तयार गरिएको हो । तीव्र गतिमा पहाडबाट तल झरेको चट्टान, बरफ, माटो र पानीको मिश्रण भोटेकोसी हुँदै त्रिशूली नदीमा मिसिएको थियो। त्यसपछि बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । बाढीको प्रभाव पाँच जिल्लाका १५ स्थानीय तहसम्म पुगेको अध्ययनमा उल्लेख गरिएको छ । बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती, सोले, तुप्चे, भैँसे, त्रिशूली ढुंगे र देवीघाटलगायत क्षेत्रका सडक, पुल, जलविद्युत् आयोजना, बस्ती तथा अन्य संरचनामा व्यापक क्षति पुर्याएको थियो । तीव्र बहावका कारण नदी आसपासका क्षेत्रमा ठूलो मात्रामा जमिन कटान भएको थियो भने कतिपय स्थानमा नदीको धारसमेत परिवर्तन भएको थियो ।
डब्ल्यूडब्ल्यूएको प्रतिवेदनले बाढीको प्रभाव उच्च हिमाली क्षेत्रमै सीमित नभई सयौँ किलोमिटर तलसम्म पुगेको देखाएको छ । अध्ययनअनुसार रसुवाको उच्च क्षेत्रमा उत्पत्ति भएको तीव्र बहाव २०० किलोमिटरभन्दा बढी तल रहेको चितवनको देवघाटसम्म सात घण्टाभन्दा कम समयमा पुगेको थियो । देवघाटमा पुग्दा पनि बाढीको प्रभाव असाधारण देखिएको वैज्ञानिकहरूको निष्कर्ष छ। अध्ययनअनुसार त्यहाँ नदीको बहाव प्रतिसेकेन्ड झन्डै ५ हजार ८५० घनमिटर पुगेको थियो । चार घण्टाभन्दा कम अवधिमा करिब दुई करोड घनमिटर अतिरिक्त पानी नदी प्रणालीबाट बगेको अनुमान गरिएको छ ।
पानीसँगै ठूलो परिमाणमा माटो, ढुंगा, चट्टान र अन्य पदार्थसमेत बगेका थिए । वैज्ञानिकहरूले करिब तीन करोड पाँच लाख घनमिटर यस्ता पदार्थ बाढीले बगाएर विभिन्न क्षेत्रमा थुपारेको अनुमान गरेका छन् । यसले बाढी केवल पानीको बहाव नभई पहाडबाट ठूलो परिमाणमा ठोस पदार्थसमेत बोकेर आएको शक्तिशाली भू–प्रकोप भएको देखाउँछ । यस बाढीबाट अहिलेसम्म १४ सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने करिब ६ हजार मानिस बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ। बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना, घर तथा अन्य भौतिक पूर्वाधारमा खर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
वैज्ञानिकहरूको अध्ययनले यस्तो विपद्को जोखिमसँग जलवायु परिवर्तनको सम्बन्धसमेत औँल्याएको छ । उच्च हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदीमा भइरहेको परिवर्तन तथा जमिनभित्र लामो समयदेखि जमेको बरफ अर्थात् पर्माफ्रस्ट पग्लिँदै जानुले चट्टान र हिमाली भूभाग अस्थिर बन्न सक्ने अध्ययनको निष्कर्ष छ । हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा जमेको बरफ पग्लिने र चट्टान जोडेर राख्ने प्राकृतिक संरचना कमजोर हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ। त्यसले ठूलो चट्टानी भाग अचानक भत्किने, हिमनदीको भाग खस्ने र त्यससँगै पानी, बरफ, माटो तथा ढुंगा तलतर्फ तीव्र गतिमा बग्ने अवस्था सिर्जना गर्न सक्छ ।
त्यसैले डब्ल्यूडब्ल्यूएले भदौ १० गतेको भोटेकोसी बाढीलाई सामान्य प्राकृतिक बाढीका रूपमा मात्र हेर्न नहुने निष्कर्ष निकालेको छ । चट्टान, बरफ, माटो र पानी एकैपटक तीव्र गतिमा बगेको यो घटना बहुप्रकोपयुक्त भूजोखिमको उदाहरण भएको वैज्ञानिकहरूले बताएका छन् । भोटेकोसीमा देखिएको १८८ किलोमिटर प्रतिघण्टाको बहाव र केही मिनेटमै दर्जनौँ किलोमिटर दूरी पार गरेको तथ्यले हिमाली क्षेत्रमा विपद् पूर्वसूचना, जोखिम पहिचान र नदी प्रणालीको निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि देखाएको छ । वैज्ञानिकहरूका अनुसार हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण यस्ता घटनाको सम्भावित जोखिम बुझ्न दीर्घकालीन अध्ययन र उच्च हिमाली भूभागको निरन्तर निगरानी आवश्यक छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































