नेपाली राजनीतिमा नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति सधैँ चर्चा र चासोको विषय बन्ने गर्छ ।
संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले व्यक्त गरेको विचारले उनको राजनीतिक दृढता, आत्मविश्वास र विपक्षीहरूप्रतिको कडा कटाक्षलाई पुनः उजागर गरेको छ ।
पार्टीभित्र र बाहिर विभिन्न खाले चौतर्फी चुनौती, प्रचार र राजनीतिक घेराबन्दी भइरहेको वर्तमान अवस्थामा अध्यक्ष ओलीले प्रस्तुत गरेको चट्टानी अडानले राजनीतिक वृत्तमा स्पष्ट सन्देश दिएको छ ।
सञ्चारमाध्यम र राजनीतिक बजारमा एमालेभित्र विभाजन आउन लागेको, गुटबन्दी बढेको र नेतृत्व परिवर्तनको आन्तरिक कसरत भइरहेको भन्दै निरन्तर समाचारहरू सम्प्रेषण भइरहेका छन् । यस्ता प्रचारहरूलाई पूर्ण रूपमा खारेज गर्दै अध्यक्ष ओलीले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकबाट एमाले पूर्ण एकता र स्पष्ट संकल्पका साथ बाहिर निस्किने दाबी गरे ।
चर्चित गायिका कुन्ती मोक्तानको गीत ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’को उदाहरण दिँदै उनले विरोधीहरूको अवरोधले एमालेको यात्रा नरोकिने अडान दोहोर्याए । अध्यक्ष ओलीको सम्बोधनमा पौराणिक तथा ऐतिहासिक बिम्बहरूको प्रयोग विशेष रूपमा उल्लेखनीय देखिन्छ ।
महाभारतको युद्धमा शिखण्डीलाई अगाडि सारेर अर्जुनले हानेको बाणका कारण भीष्म पितामह बाणशैयामा ढलेको प्रसङ्ग जोड्दै उनले आफूलाई भीष्म पितामहसँग तुलना गरे । तर भीष्म पितामह बाणशैयामा ढले पनि आफू अझै ढलेको नभई मैदानमै खडा रहेको उनको भनाइ थियो । ७४ वर्षको उमेरमा राष्ट्रिय नायक अमरसिंह थापाले देशको रक्षाका लागि तरबार लिएर युद्ध लडेको स्मरण गर्दै उनले आफू पनि त्यहीँ उमेरमा कलम लिएर राजनीतिक युद्धको मैदानमा डटिरहेको जिकिर गरे ।
यी दृष्टान्तहरूले उनको उमेर र स्वास्थ्यका बाबजुद राजनीतिक नेतृत्व सम्हाल्ने र विरोधीहरूको सामना गर्ने इच्छाशक्ति र चट्टानी अडान स्पष्ट पारेका छन् । राजनीतिक जीवनमा एउटा मात्र नभई १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको दाबी गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर सम्झिनेहरूलाई चेतावनी दिए । उनले पार्टीका तमाम नेता–कार्यकर्ताहरूलाई जनताको बिचमा गएर सचेतना जगाउन र मुलुकलाई सही दिशामा अघि बढाउन निर्देशन दिए । आजको मुख्य आवश्यकता अराजकतालाई रोक्नु, संविधान र प्रणालीको रक्षा गर्नु तथा लोकतन्त्रलाई सुदृढ बनाउनु हो । देश बिग्रिन नदिने र सच्याउने दायित्व नेपाली जनताको भएको र त्यसको नेतृत्व एमालेले मात्र गर्न सक्ने उनको दाबीले एमालेलाई राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याउने प्रयास गरेको छ ।
अध्यक्ष ओलीको सम्बोधन एमाले कार्यकर्ताहरूका लागि स्पष्ट दिशानिर्देश हो । राजनीतिक प्रतिशोध, अनर्गल प्रचार र आन्तरिक चुनौतीहरूको प्रवाह नगरी एमाले गन्तव्यतर्फ अघि बढ्ने उनको दृढताले एमालेभित्र उनको पकड र स्वीकार्य नेतृत्व प्रस्ट भएको छ । देशमा विद्यमान राजनीतिक अस्थिरता र अराजकतालाई चिर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेले खेल्नुपर्ने नेतृत्वदायी भूमिकामा अध्यक्ष ओलीको चट्टानी अडानले स्पष्टता ल्याउनेछ ।
२०८३ असोज ५ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































