असोज ९ गतेदेखि अति भारी वर्षाको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनमार्फत विभागले मौसम प्रणालीमा आएको परिवर्तनका कारण देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्ने जनाएको हो । लगातारको भारी वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भू–भागमा पुगेको छ । उक्त प्रणाली थप शक्तिशाली हुँदै ‘डिप डिप्रेसन’ अर्थात् बलियो न्यूनचापीय क्षेत्रमा परिणत भएको महाशाखाले जनाएको छ । यो मौसमी प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव नेपालमा समेत पर्ने देखिएको हो । महाशाखाका अनुसार बुधबारदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्दै जानेछ । त्यसपछि असोज ९ देखि ११ गतेसम्म वर्षाको प्रभाव थप व्यापक हुने अनुमान गरिएको छ ।

उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने देखिएको छ । त्यसैगरी मधेस, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।

वर्षाको मात्रा र क्षेत्रअनुसार स्थानीयस्तरमा जोखिम फरक–फरक हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ । मौसम विभागको विशेष बुलेटिन जारी भएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सोमबार सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ ।

विशेषगरी असोज ९ देखि ११ गतेसम्मको अवधिमा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित विपद्का घटनाबाट जोगिन आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले आग्रह गरेको छ । अत्यन्त जरुरी कामबाहेक टाढाको यात्रा नगर्न र विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सम्बन्धित निकायलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेको छ । सम्भावित जोखिमबारे सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने, उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्ने तथा जोखिमयुक्त क्षेत्रको निगरानी बढाउन प्राधिकरणले भनेको छ । त्यस्तै, भारी वर्षाका कारण सडक तथा राजमार्गमा अवरोध हुन सक्ने भएकाले जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

पहिरो वा गेग्रान बहावका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन सक्ने गरी जनशक्ति र उपकरण परिचालनको व्यवस्था मिलाउन भनिएको छ । भारी वर्षाका बेला नदी तथा खोलानाला आसपासका बस्ती, पहिरोको जोखिम भएका पहाडी क्षेत्र तथा डुबानको सम्भावना रहेका तराई र सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ । मौसम प्रणालीको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले विभाग र प्राधिकरणबाट जारी हुने पछिल्ला सूचना तथा चेतावनीलाई आधार बनाएर यात्रा तथा अन्य गतिविधि तय गर्न आग्रह गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।