झापामा २५ विपद्का घटना, १९ लाख बढीको भौतिक क्षति

झापा । झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि १ जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त महिनामा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ । कूल २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका रहेका छन् । जनावरको आक्रमणबाट १ जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ । यसबाट ६ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्यांक रहेको छ ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा ७ वटा आगलागीका घटना हुँदा १२ लाख १० हजार बराबरको क्षति भएको छ । चट्याङबाट १ लाख बराबरको क्षति भएको छ । प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए ।