काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक फ्लाई दुबईले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट ११५ जना यात्रु बोकेर आएको फ्लाई दुबईको विमान बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । पोखरा अवतरण गरेको उक्त विमान बुधबार साँझ नै १५३ जना यात्रु लिएर दुबईका लागि फर्किएको छ । यससँगै लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानको नयाँ चरण सुरु भएको छ ।
दुबईबाट पोखरा आएको फ्लाई दुबईको विमानमा आएका यात्रुलाई पोखरा विमानस्थलमा स्वागत गरिएको थियो । त्यसैगरी पोखराबाट दुबई जान लागेका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहितको टोलीले विमानस्थलमा पुगेर बिदाइ गरेको थियो । पोखराबाट दुबई प्रस्थान गर्ने अधिकांश यात्रु रोजगारीका लागि खाडी मुलुकतर्फ जानेहरू रहेका थिए । देशका विभिन्न जिल्लाबाट पोखरा आएका उनीहरू राष्ट्रिय झन्डा बोकेर तथा घाँटीमा राष्ट्रिय झन्डा बेरेर दुबईतर्फ प्रस्थान गरेका थिए ।
लामो समयपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडानमार्फत रोजगारीका लागि विदेश जान पाउने अवसरले यात्रुहरूमा उत्साह देखिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारका लागि महत्वपूर्ण आधार तयार भएको बताएका छन् । उनका अनुसार फ्लाई दुबई र एमिरेट्सबीचको कोड–सेयरिङ सुविधामार्फत पोखराबाट दुबई हुँदै विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्न सकिने अवस्था बनेको छ ।
‘यो पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर हो,’ आचार्यले भने, ‘पहिलो नियमित अन्तर्राष्ट्रिय उडानका यात्रुलाई पोखरा महानगरपालिकाको तर्फबाट बिदाइ गर्न पाउँदा अत्यन्त खुशी लागेको छ ।’ फ्लाई दुबईको उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने सम्भावना थप बलियो बनाएको महानगरपालिकाको भनाइ छ । दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्कले पोखराबाट वैदेशिक रोजगारीमा जाने यात्रुलाई मात्र नभई विदेशबाट नेपाल आउने पर्यटक तथा अन्य यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।
दुबई अन्तर्राष्ट्रिय हवाई यातायातको महत्वपूर्ण ट्रान्जिट केन्द्र भएकाले पोखराबाट दुबई हुँदै विभिन्न मुलुकमा पुग्न सकिने सम्भावनाले पोखराको अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट पोखराको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा अत्यन्त उत्साहका साथ गरिएको थियो । विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक उडानहरू भने विस्तार हुँदै पूर्ण क्षमतातर्फ अघि बढिरहेका छन् । तर, अन्तर्राष्ट्रिय उडानको हकमा भने अपेक्षित रूपमा नियमित सेवा सञ्चालन हुन सकेको थिएन ।
विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानका रूपमा चार्टर उडानहरू मात्र सञ्चालन हुँदै आएका थिए । पोखरा–ल्हासा साप्ताहिक नियमित उडानले अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई निरन्तरता दिए पनि अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग नियमित व्यावसायिक उडान विस्तार हुन सकेको थिएन । यही अवस्थामा फ्लाई दुबईले पोखराबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा नयाँ अध्याय थपिएको हो । दुबईसँगको प्रत्यक्ष उडानले विमानस्थलको अन्तर्राष्ट्रिय उडान क्षमताको उपयोग बढाउनुका साथै थप विदेशी वायुसेवा कम्पनीलाई पोखरातर्फ आकर्षित गर्ने आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।
पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलाई पर्यटन व्यवसायीहरूले समेत महत्वपूर्ण रूपमा हेर्दै आएका छन् । पोखरा आउने विदेशी पर्यटकका लागि काठमाडौं हुँदै स्थलमार्गबाट यात्रा गर्नुपर्ने अवस्थाको विकल्पका रूपमा अन्तर्राष्ट्रिय उडान विस्तारलाई हेरिएको छ । त्यस्तै, पोखरा र आसपासका क्षेत्रमा पर्यटन, होटल, यातायात तथा अन्य व्यवसायमा अन्तर्राष्ट्रिय हवाई सम्पर्कले प्रभाव पार्ने अपेक्षा गरिएको छ । फ्लाई दुबईको उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थप अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानको संख्या र गन्तव्य बढाउन सके विमानस्थलको व्यावसायिक उपयोगसँगै पोखराको पर्यटन तथा आर्थिक गतिविधिलाई समेत थप गति दिन सकिने सरोकारवालाहरूको अपेक्षा छ । यसअघि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावमा यसको पूर्ण उपयोग हुन नसकेको विषय बारम्बार उठ्दै आएको थियो । फ्लाई दुबईको नियमित उडानले भने विमानस्थललाई अन्तर्राष्ट्रिय व्यावसायिक उडानको नियमित सञ्जालमा जोड्ने दिशामा महत्वपूर्ण सुरुवात गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































