काठमाडौं । भदौ १० गतेको भोटेकोसी–त्रिशूली बाढी र त्यसपछि आएको अविरल वर्षासँगैको बाढीपहिरोले जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुर्याएपछि आगामी सुख्खायाममा नेपालको आन्तरिक विद्युत् उत्पादन क्षमतामा उल्लेख्य कमी आउने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आगामी सुख्खायाममा कुल जडित क्षमताको करिब ३० प्रतिशत अर्थात् एक हजार २१८ मेगावाट मात्रै विद्युत् आन्तरिक उत्पादनबाट उपलब्ध हुने प्रक्षेपण गरेको छ ।
बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा रहेका करिब ४३० मेगावाट क्षमताका आयोजना प्रणालीबाट बाहिर छन् । भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ ‘बी’को २२० केभी हब, प्रसारण संरचना तथा विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि ठूलो परिमाणमा उत्पादन रोकिएको हो । प्राधिकरणका अनुसार प्रभावित आयोजनामध्ये केही तत्काल सञ्चालनमा आउने अवस्थामा छैनन् ।
त्यसैगरी असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, नदी कटान र प्रसारण लाइनमा भएको क्षतिले कुश्मा–दाना, पोखरा, मर्स्याङ्दी, कालीगण्डकीलगायतका करिडोरमा रहेका आयोजनासमेत प्रभावित भएका छन् । केही आयोजना सञ्चालनमा आइसके पनि प्रसारण संरचनामा क्षति पुगेका कारण कतिपय केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सकिएको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ । माग धान्न थप एक हजार १५४.८० मेगावाट विद्युत् भारतबाट आयात गर्ने योजना प्राधिकरणले बनाएको छ ।
आयाततर्फ ढल्केबर–मुजफ्फरपुरबाट ६००.८० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहार तथा उत्तर प्रदेशका विभिन्न बिन्दुबाट ३५० मेगावाट र द्विपक्षीय सम्झौताअन्तर्गत आरटीसीमार्फत १५० मेगावाट आयात गर्ने योजना छ । यसरी आन्तरिक उत्पादन र आयात जोड्दा सुख्खायाममा कुल विद्युत् उपलब्धता दुई हजार ३७२.७७ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय विद्युत् मागको उच्चतम बिन्दु दुई हजार २९२ मेगावाट पुगेको थियो । आगामी सुख्खायाममा माग बढ्न सक्ने भए पनि आयात व्यवस्थापनमार्फत आपूर्ति सन्तुलनमा राख्ने प्राधिकरणको योजना छ । अप्रिल र मे २०२७ मा कति विद्युत् आयात गर्ने भन्ने विषय भने त्यसबेलाको माग र आपूर्तिको अवस्थाका आधारमा तय गरिने श्रेष्ठले बताएका छन् ।
हाल सञ्चालनमा रहेको नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता तीन हजार ७३९.४० मेगावाट छ । मंसिरसम्म थप ३२०.६० मेगावाट क्षमताका आयोजना सञ्चालनमा आउने अनुमानसहित कुल जडित क्षमता चार हजार ६० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । तर सुख्खायाममा नदीको बहाव घट्ने भएकाले त्यसको करिब ३० प्रतिशत अर्थात् एक हजार २१८ मेगावाट मात्रै उत्पादनयोग्य हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट पिक समयमा अस्थायी विद्युत् आयात गर्न सकिने सम्भावनासमेत राखेको छ । सम्पतिया नाकाबाट ७०.८ मेगावाट, रामनगरबाट ३६.४ मेगावाट, रक्सौलबाट ८९.२ मेगावाट र टनकपुरबाट ५५ मेगावाट गरी थप २५१.४ मेगावाट आयात क्षमता रहेको प्राधिकरणले जनाएको छ ।
भदौ १० गतेको बाढीबाट प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा मात्रै प्रारम्भिक रूपमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । बाढीका कारण जलविद्युत् केन्द्रसँगै प्रसारण लाइन, सबस्टेसन र अन्य विद्युतीय संरचनामा क्षति पुगेको हो ।
कुश्मा–दाना क्षेत्रमा निलगिरी–१ को ३८, निलगिरी–२ को ७१, मिस्त्रीको ४२, घारखोलाको १४.८, थापाखोलाको १३.६, रेलेखोलाको ६ र घलेम्दीको ५ मेगावाटका आयोजना प्रभावित छन् । यस क्षेत्रको प्रभावित क्षमता ३५८.२ मेगावाट छ । घारखोलाको १४.८ मेगावाट तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छ भने अन्य आयोजनामा कुश्मा–दाना २२० केभी टावरमा भएको क्षतिले समस्या पारेको छ ।
राहुघाट क्षेत्रमा अपर राहुघाट ४८.५, राहुघाट मंगले ३५.५, ठुलोखोला २१.३, माथिल्लो ठुलोखोला २२.५ र राहुघाट ४० मेगावाटका आयोजना प्रसारण लाइनको समस्याबाट प्रभावित छन् । पोखरा क्षेत्रमा सुपर मादी ४४, अपर मादी २५, मादमे खोला २९, सिक्लेस १२ र नामार्जुन ११ मेगावाटका आयोजना प्रभावित छन् । यीमध्ये सुपर मादी, अपर मादी, सिक्लेस र नामार्जुन बाढीका कारण सञ्चालनमा आउन सकेका छैनन् । यस क्षेत्रको प्रभावित क्षमता १२१ मेगावाट छ ।
मर्स्याङ्दी करिडोरमा ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ६९ मेगावाटको मर्स्याङ्दी आयोजना प्रभावित छन् । तीनवटै आयोजनामा बाढीका कारण उत्पादन रोकिएको प्राधिकरणले जनाएको छ । यस करिडोरको प्रभावित क्षमता १८९ मेगावाट छ । कालीगण्डकी करिडोरमा १४४ मेगावाटको कालीगण्डकी ‘ए’ आयोजना प्रभावित भएको थियो । प्राधिकरणका अनुसार उक्त आयोजना सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
त्रिशूली करिडोरमा रसुवागढी १११, सान्जेन ७८, माथिल्लो त्रिशूली–३ ‘ए’ ६०, लोअर सान्जेन ४२.५, त्रिशूली २४, प्राधिकरणको सोलार २५, चिलिमे २२.१, लाङटाङ २०, अपर सान्जेन १४.८, माथिल्लो मैलुङ १४.३, देवीघाट १४.१ र मैलुङ खोला ५ मेगावाटका आयोजना तथा उत्पादन केन्द्र प्रभावित छन् । यस करिडोरको प्रभावित क्षमता ४३०.८ मेगावाट छ । त्यस्तै, समुद्रटार क्षेत्रमा तादी थाप्रेक ५, अपर तादी ११ र तादी खोला ५ मेगावाट गरी २१ मेगावाटका आयोजना प्रभावित छन् । मोदी क्षेत्रमा मध्य मोदी १८ र तल्लो मोदी–१ को १० मेगावाट गरी २८ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् ।
यसरी कुश्मा–दाना क्षेत्रको ३५८.२, पोखरा क्षेत्रको १२१, मर्स्याङ्दी करिडोरको १८९, कालीगण्डकी करिडोरको १४४, त्रिशूली करिडोरको ४३०.८, समुद्रटारको २१ र मोदी क्षेत्रको २८ मेगावाट जोड्दा प्रभावित आयोजनाको कुल क्षमता एक हजार २९२ मेगावाट पुग्छ । बाढी र पहिरोपछि केही आयोजना आकस्मिक रूपमा बन्द भए पनि पछिल्लो समय अधिकांश उत्पादन केन्द्र पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध २६२ मेगावाटका आयोजना सञ्चालनमा आइसकेका छन् । मर्स्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाटका आयोजना पनि सञ्चालनमा ल्याइएको छ ।
राहुघाट आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा पानी पसेका कारण सफाइ र मर्मत गरेर आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ । कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण सातवटा जलविद्युत् केन्द्रबाट उत्पादित करिब १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । राहुघाट सबस्टेसनमा जोडिएका आयोजनामध्ये ४० मेगावाटको राहुघाट केन्द्रबाहेक १२७ मेगावाट उत्पादन सञ्चालन गर्न सकिने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । प्रणालीबाट बाहिर रहेका आठवटा आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ ।
प्रसारणतर्फ कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । क्षतिग्रस्त स्थानसम्म पुग्ने बाटोसमेत विभिन्न ठाउँमा अवरुद्ध भएकाले विस्तृत निरीक्षण हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । वितरणतर्फ म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो । म्याग्दी, बागलुङ, झापुटार र रुकुम पूर्वमा सेवा पुनः सञ्चालन भइसकेको छ । मुस्ताङ, प्युठान र रोल्पामा सेवा सञ्चालन गर्ने तथा मनाङमा पनि क्रमशः विद्युत् आपूर्ति सुचारु गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
बाढीपहिरोबाट उत्पादन र प्रसारण संरचनामा परेको क्षतिले आगामी सुख्खायाममा विद्युत् व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने देखिएको छ । त्यसैले प्राधिकरणले आन्तरिक उत्पादन, भारतबाट हुने नियमित तथा अस्थायी आयात र क्षतिग्रस्त प्रसारण संरचनाको मर्मतलाई समानान्तर रूपमा अघि बढाएर मागअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गर्ने योजना बनाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































