एनपीएलको तेस्रो संस्करणमा पनि विराटनगर किंग्सबाट खेल्दै शुभम रांजणे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी क्रिकेटर शुभम रांजणेलाई पुनः टोलीमा अनुबन्ध गरेको छ ।

रांजणेले एनपीएलको दोस्रो संस्करणमा विराटनगर किंग्सबाट ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका थिए। उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्वपूर्ण योगदान दिएका थिए। प्रतियोगितामा उनको ब्याटिङ औसत २९ र स्ट्राइक रेट १२९.८५ थियो । उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

बलिङतर्फ पनि उपयोगी भूमिका निर्वाह गरेका रांजणेले दोस्रो संस्करणमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए । ब्याटिङसँगै बलिङमा योगदान दिन सक्ने क्षमताका कारण उनलाई विराटनगरले तेस्रो संस्करणका लागि पनि टोलीमा निरन्तरता दिएको हो ।

विराटनगर किंग्स व्यवस्थापनले रांजणेले आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने तथा दबाबका अवस्थामा प्रदर्शन गर्न सक्ने भएकाले उनको पुनरागमनले टोलीलाई थप विकल्प उपलब्ध गराउने जनाएको छ ।

टोलीमा पुनः अनुबन्ध भएपछि रांजणेले विराटनगर किंग्ससँग जोडिन पाउँदा खुसी लागेको बताए। उनले गत सिजनको अनुभवलाई आगामी संस्करणमा अझ राम्रो प्रदर्शनका लागि उपयोग गर्ने बताएका छन् ।

“विराटनगर किंग्ससँग फेरि जोडिन पाउँदा म निकै उत्साहित छु । गत सिजनको अनुभव विशेष थियो र टोलीसँगको सम्बन्ध पनि निकै राम्रो रह्यो । अब सिजन–३ मा अझ राम्रो प्रदर्शन गर्दै टोलीको लक्ष्य पूरा गर्न योगदान दिने मेरो प्रयास हुनेछ,” उनले भने । एनपीएल नेपाली तथा विदेशी खेलाडीका लागि आफ्नो क्षमता देखाउने राम्रो मञ्च बनेको उल्लेख गर्दै रांजणेले विराटनगर किंग्सले आफूमाथि गरेको विश्वासप्रति आभार व्यक्त गरे। नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र समर्थकहरूको उत्साहबाट आफू प्रभावित भएको उनको भनाइ छ ।

रांजणेले घरेलु क्रिकेटसँगै विभिन्न अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्। उनले मुम्बई, महाराष्ट्र र गोवाका टोलीसँगै राजस्थान रोयल्स, सियाटल ओर्कास, टेक्सास सुपर किंग्स, जोबर्ग सुपर किंग्स, शारजाह वारियर्स तथा ढाका क्यापिटल्सबाट समेत प्रतिनिधित्व गरिसकेका छन्।

क्रिकेट पृष्ठभूमि भएको परिवारका रांजणे भारतका पूर्वक्रिकेटर वसन्त रांजणेका नाति तथा महाराष्ट्र र भारत यू–१९ बाट खेलिसकेका सुभाष रांजणेका छोरा हुन् ।

ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिन सक्ने क्षमता तथा विभिन्न फ्रेन्चाइज प्रतियोगिताको अनुभव भएका रांजणे एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सका महत्वपूर्ण खेलाडीमध्ये एक रहनेछन् ।