काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरी सम्मान गरिएको छ ।
नेपाली महिला क्रिकेटमा पुर्याएको योगदान, निरन्तर मेहनत र मैदानमा गरेको प्रदर्शनको कदरस्वरूप मनीषालाई क्रिकेट किट प्रदान गरिएको आयोजकले जनाएको छ। खेलप्रतिको उनको समर्पणलाई सम्मान गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
प्रतियोगिता निर्देशक राज क्षेत्रीले मनीषालाई क्रिकेट सामग्री हस्तान्तरण गरेका थिए। क्षेत्रीले नेपाली क्रिकेटमा योगदान पुर्याउने खेलाडीलाई सम्मान र प्रोत्साहन गर्नु स्थानीयस्तरबाट खेलकुद विकासमा सहयोग गर्ने महत्वपूर्ण माध्यम भएको बताए।
उनका अनुसार स्थानीयस्तरमा प्रतिभा पहिचान गर्ने, खेलाडीलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा उनीहरूको योगदानको सम्मान गर्ने उद्देश्यले ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’सँगै विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्।
सम्मान कार्यक्रमलाई सफल बनाउन अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर तथा प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताको पनि विशेष पहल रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको अवधारणा, व्यवस्थापन तथा आयोजनाका विभिन्न पक्षमा गुप्ताले समन्वय गर्दै आएका छन्।
गुप्ताले खेलाडीलाई दिइने प्रोत्साहनले उनीहरूको आत्मविश्वास बढाउने मात्र नभई नयाँ पुस्तालाई पनि क्रिकेटतर्फ आकर्षित गर्न सहयोग पुग्ने बताए। स्थानीयस्तरमा हुने प्रतियोगिताले नयाँ प्रतिभालाई अवसर दिने उल्लेख गर्दै उनले खेलाडी, आयोजक, प्रशिक्षक, अम्पायर तथा क्रिकेटप्रेमीबीचको सहकार्य आवश्यक रहेको बताए।
सम्मानपछि मनीषा उपाध्यायले आयोजकप्रति आभार व्यक्त गरिन्। आफ्नो खेलयात्रामा गरिएको सम्मानले थप मेहनत गर्ने प्रेरणा मिलेको उनले बताइन्।
६० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्दा आफू निकै खुसी भएको उल्लेख गर्दै मनीषाले यो सम्मानलाई खेलजीवनको विशेष क्षणका रूपमा लिएको बताइन्। नेपाली महिला क्रिकेटका लागि आगामी दिनमा अझ मेहनत गर्ने प्रेरणा मिलेको उनको भनाइ छ।
‘स्व. रमा देवी स्मृति क्रिकेट कप’ आगामी अक्टोबर १३, २०२६ मा अर्घाखाँचीमा आयोजना हुँदैछ। प्रतियोगिताले स्थानीय क्रिकेटको प्रवर्द्धनसँगै प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।



































