दसैँअघि नै खुल्लान् त नाकाहरू ?

काठमाडौं । दसैँ नजिकिँदै गर्दा नेपाल–चीनबीचका प्रमुख व्यापारिक नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक तथा प्रशासनिक पहल तीव्र बनाएको छ ।

रसुवागढी नाका तत्काल सञ्चालनमा आउने अवस्था नरहेको र कोरला नाका पुग्ने सडकसमेत वर्षाका कारण अवरुद्ध भएपछि सरकारले तत्काल सञ्चालन गर्न सकिने विकल्पका रूपमा तातोपानी नाकालाई प्राथमिकतामा राखेको हो । तातोपानी नाका सञ्चालनका विषयमा सोमबार परराष्ट्र मन्त्रालयमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयका अधिकारीले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीसँग छलफल गरेका थिए ।

छलफलका क्रममा चिनियाँ पक्षले नेपालतर्फको सडक तथा पूर्वाधारको अवस्था हेरेपछि मात्रै नाका सञ्चालनबारे निर्णय गर्न सकिने धारणा राखेको थियो । त्यसपछि मंगलबार सरकारी टोलीले चिनियाँ दूतावासका काउन्सिलरसहितको टोलीलाई तातोपानी नाकाको स्थलगत अनुगमन गराएको हो । अनुगमन टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले गरेका थिए। टोलीमा अर्थ मन्त्रालय, भन्सार विभाग, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेशनल हाइवे एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन लिमिटेडका प्रतिनिधि सहभागी थिए ।

भन्सार विभागका निर्देशक गोपाल भट्टराईका अनुसार टोली सहज रूपमा तातोपानी पुगेर स्थलगत निरीक्षण गरी फर्किएको छ । उनका अनुसार अनुगमनका क्रममा नेपाली पक्षले सडकको वर्तमान अवस्था र नाका सञ्चालन गर्न सकिने अवस्थाबारे चिनियाँ टोलीलाई जानकारी गराएको थियो । ‘सडकको अवस्था राम्रो छ। दूतावासको टोली पनि सकारात्मक पाएका छौँ। तर उहाँहरूले के निर्णय गर्नुहुन्छ, अहिले नै भन्न सकिने अवस्था छैन,’ भट्टराईले भने ।

सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले पनि तातोपानीसम्मको सडक यातायात सञ्चालनका लागि समस्या नरहेको जानकारी चिनियाँ पक्षलाई गराइएको बताए। उनका अनुसार अहिले पनि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन भइरहेका छन् । ‘सडक अवरुद्ध छैन । अहिले पनि गाडी चलिरहेका छन् । चिनियाँ पक्षले आज गाडी छोडे आजै पास हुन्छ। साना, ठूला, कार्गो, प्यासेन्जर कुनै पनि गाडी एक मिनेट पनि सडकका कारण रोकिँदैन,’ उनले भने ।

भण्डारीका अनुसार सम्भावित पहिरोका कारण सडक अवरुद्ध भए तत्काल हटाउन हेभी उपकरणसमेत तयारी अवस्थामा राखिएको छ। सडककै कारण तातोपानी नाका सञ्चालनमा समस्या नहोस् भनेर आवश्यक तयारी गरिएको उनको भनाइ छ । यसले दसैँअघि नै तातोपानी नाका पुनः सञ्चालनमा आउनेमा नेपाली पक्ष आशावादी बनेको छ । नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण मानिने रसुवागढी नाका भदौ १० गते आएको बाढीले भन्सार कार्यालयसहितका संरचना बगाएपछि तत्काल सञ्चालन हुने सम्भावना न्यून छ । त्यसपछि तातोपानी नाकाबाट व्यापारलाई निरन्तरता दिने अपेक्षा गरिएको थियो। तर चिनियाँ पक्षले भदौ १४ गतेदेखि तातोपानी नाका पनि एकतर्फी रूपमा बन्द गरेको थियो ।

त्यसयता मुस्ताङको कोरला नाका हुँदै नेपाल–चीन व्यापार सञ्चालन हुँदै आएको थियो। तर असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण कोरला पुग्ने कालीगण्डकी करिडोरका विभिन्न स्थानमा सडक बग्नुका साथै पहिरो खसेपछि उक्त नाका पनि प्रभावित भएको छ । सडक मर्मत तथा अवरोध हटाउन समय लाग्ने भएकाले तत्कालै कोरला नाका पूर्ण रूपमा सञ्चालन हुने सम्भावना न्यून देखिएको छ । दसैँ आउन अब करिब १८ दिन मात्र बाँकी रहेकाले सरकारले तातोपानी नाका छिटो सञ्चालन गर्न विशेष पहल थालेको हो। चाडपर्वको समयमा नेपालमा चीनबाट आयात हुने खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री तथा अन्य उपभोग्य वस्तुको आपूर्ति प्रभावित नहोस् भन्ने उद्देश्यले पनि नाका सञ्चालनलाई प्राथमिकता दिइएको सरकारी अधिकारीहरूको भनाइ छ ।

यसैबीच, गत शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए । भेटमा बाढीबाट क्षतिग्रस्त रसुवागढी–केरुङ नाकाको पूर्वाधार पुनर्निर्माण तथा विकासका साथै कोरला र तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। मन्त्री लम्सालले नाका सञ्चालनका लागि चीन सरकारबाट आवश्यक सहयोग गर्न आग्रह गरेका थिए। राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी गराएका थिए ।

चीनसँगका व्यापारिक नाका बन्द भएपछि त्यसको विषय संसद्मा समेत उठेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दल राजस्वपाका सिन्धुपाल्चोकका सांसद भरतप्रसाद पराजुलीले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका थिए । उनले बाढीपहिरोका कारण कोरला नाका समेत बन्द भएपछि चीनसँगको नेपालको स्थलमार्गबाट हुने कनेक्टिभिटी प्रभावित भएको भन्दै तत्काल सञ्चालन गर्न सकिने तातोपानी नाकालाई प्राथमिकता दिनुपर्ने बताएका थिए।

चाडपर्वको समयमा उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले कूटनीतिक पहलमार्फत नाका छिटो सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । अब तातोपानी नाका सञ्चालन गर्ने विषय चिनियाँ पक्षको निर्णयमा निर्भर देखिएको छ। नेपाली पक्षले सडक तथा अन्य आवश्यक पूर्वाधार सञ्चालनका लागि तयार रहेको जनाएको छ। चिनियाँ टोलीको स्थलगत अनुगमनपछि हुने निर्णयले दसैँअघि तातोपानी नाका खुल्ने वा नखुल्ने विषय स्पष्ट हुनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।